कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्खालमा अल्झेको अमेरिकी राजनीति 

आप्रवासीप्रति कडा नीति अख्तियार गर्दै आएका ट्रम्पको अडानका कारण डिसेम्बर अन्तिम सातादेखि अमेरिकी संघीय निकाय आंशिक बन्द छन्
एजेन्सी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी प्रतिबद्धताअनुसार मेक्सिको सीमामा पर्खाल लगाउन कुनै कसर बाँकी नराख्ने दोहोर्‍याएका छन् । उनले त्यसका लागि आफू राष्ट्रिय संकटको घोषणा गर्न पनि पछि नपर्ने चेतावनीसमेत दिएका छन् । 

पर्खालमा अल्झेको अमेरिकी राजनीति 

राष्ट्रपतिमा निर्वाचित भएदेखि नै आप्रवासीप्रति कडा नीति अख्तियार गर्दै आएका ट्रम्पको अडानका कारण डिसेम्बर अन्तिम सातादेखि अमेरिकी संघीय निकाय आंशिक बन्द छन् ।


बन्दका कारण डिसेम्बर २३ देखि ८ लाख संघीय कर्मचारीले तलब पाएका छैनन् । ट्रम्पको अडानले लाखौं कर्मचारीलाई अनिश्चयमा पारिरहेको भन्दै उनको आलोचना बढदै गएको छ । संघीय खर्च अभावका कारण विभिन्न सरकारी निकायजस्तै होमल्यान्ड सेक्युरिटी, यातायात, कृषि, गृह तथा न्याय आंशिक बन्द छन् । त्यसैगरी राष्ट्रिय निकुञ्ज तथा जंगलसमेत प्रभावित भएका छन् ।


स्टिल पर्खाल निर्माणका लागि ट्रम्पले मागको ५ अर्ब ७ करोड डलर डेमोक्रयाटले ठाडै अस्वीकार गरिदिएका छन् । सन् २०१८ मा भएको मध्यावधि निर्वाचनपछि अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा डेमोक्रयाटको बहुमत छ ।


उनीहरूसँगको सहमति नगरीकन ट्रम्पले पर्खाल बनाउन आवश्यक पर्ने बजेट पारित गराउन सक्दैनन् । त्यसका ट्रम्पले आवश्यक बजेटको जोहो गर्न आफू राष्ट्रिय संकटको घोषणा गर्न पनि पछि नपर्ने जनाएका छन् ।


एक साताअघि पनि ट्रम्पले त्यस्तै चेतावनी दिएका थिए । विश्लेषकहरूले ट्रम्पको अभिव्यक्ति डेमोक्रयाटहरूलाई गलाउने रणनीतिका रूपमा समेत व्याख्या गरेका छन् । डेमोक्रयाटिक पार्टीलाई आप्रवासी मुद्दामा नरम नीति अख्तियार गर्ने दलका रूपमा लिने गरिन्छ ।

संघीय सरकारको खर्चबन्दी खुलाउने प्रयासका लागि ट्रम्प र डेमोक्रयाटिक पार्टीका नेताहरूबीच बिहीबार भएको बैठक असफल भएको थियो । बैठकमा डेमोक्रयाट नेता चक सुमर र हाउस अफ रेप्रिजेन्टेटिभ्सकी सभामुख नान्सी पेलोसीले पर्खाल बनाउन बजेट दिन नसकिने बताएपछि ट्रम्प अचानक वार्ताबाट बाहिरिएका थिए ।


ट्रम्पको रबैयाका कारण पनि तत्काल सरकार बन्द खुला हुने सम्भावना देखिँदैन् । ट्रम्पले डेमोक्रयाट नेताहरूसँगको वार्ताबाट बाईबाई भन्दै बाहिरिएका थिए । उनले ट्वीटरमार्फत ‘चक सुमर र नान्सी पेलोसीसँगको बैठकमा समय खेर मात्र गएको’ बताएका थिए । यद्यपि, डेमोक्रयाटहरूले राष्ट्रपति आवेगमा आएर रिस र घुर्की देखाएको आरोप लगाएका थिए । दुवै पक्षका नेताहरूले राजनीतिक गतिरोध बढ्नुमा एकअर्कालाई दोष लगाउँदै आएका छन् ।


गतसाता हाउस अफ रेप्रिजेन्टेटिभ्सले फेब्रुअरी ८ सम्मका लागि आवश्यक १ अर्ब ३ करोड डलर पारित गरेको थियो । तर पर्खाल निर्माणको बजेट नसमेटिएकाले सिनेटबाट बजेट पारित नगर्ने रिपब्लिकन दलले जनाइसकेको छ । उक्त बजेटले कानुनी हैसियत प्राप्त गर्न सिनेटबाट पारित भई राष्ट्रपतिले हस्ताक्षर गर्नुपर्ने प्रावधान छ । तर सिनेटमा राष्ट्रपतिको दल रिपब्लिकनको बहुमत छ ।


राष्ट्रपति ट्रम्पले शुक्रबार सीमाक्षेत्रको भ्रमणसमेत गरेका छन् । टेक्सासको म्याकअलेनमा पुगेका ट्रम्पले पर्खालका लागि खर्च जुटाउन कंग्रेसलाई बाइपास गर्ने बताए । उनले भने, ‘मसँग राष्ट्रिय संकट घोषणा गर्ने पूर्ण अधिकार छ ।’ अमेरिकी कानुनअनुसार राष्ट्रपतिलाई युद्ध वा राष्ट्रिय संकटका बेला सैन्य निर्माण आयोजनालाई निर्देशन गर्ने अधिकार हुन्छ । तर त्यसका लागि पैसा भने रक्षा मन्त्रालयलाई संसद्ले अरू विषयकै लागि छुट्टयाइदिएको बजेटबाट मिलान गर्नुपर्ने व्यवस्था छ ।


त्यसकारण पनि ट्रम्पले बारम्बार पर्खाल बनाउन राष्ट्रिय संकटको घोषणा गर्ने चेतावनी दिँदै आएका छन् । यदि आफूले त्यस्तो कदम चाले रिपब्लिकन दलका केही सदस्यसहित कंग्रेसले विरोध गर्न सक्ने सम्भावना देखिएकाले पनि ट्रम्प केही हच्केका छन् । त्यसमाथि त्यस्तो कदमविरुद्ध विपक्षीले कानुनी चुनौती पनि दिन सक्ने जनाइएको छ ।


अमेरिकी अखबार न्युयोर्क टाइम्सको अनलाइन संस्करणले ह्वाइटहाउसका कर्मचारीलाई उद्धृत गर्दै राष्ट्रपतिको योजनाअनुसार पर्खाल निर्माणका लागि आपत्कालीन कोष परिचालनको तयारी भइरहेको जनाएको छ । अधिकारीहरूले त्यसका लागि देशमा आपत्कालको घोषणा गर्ने र प्युर्टो रिको, फ्लोरिडा, टेक्सास र क्यालिफोनिर्यामा आँधीपछिको पुनर्निर्माण कोष प्रयोग गरिने जनाएका छन् ।


साउथ क्यारोलिनाका रिपब्लिक सिनेटर लिन्डसे ग्राहमले राष्ट्रपतिले ट्रम्पले पर्खाल निर्माणका लागि आफ्नो शक्ति प्रयोग गर्नुपर्ने समय आएको बताए । ‘यो पर्खाल निर्माणका लागि राष्ट्रपतिले आफ्नो आपत्कालीन शक्ति प्रयोग गर्ने समय हो,’ उनले विज्ञप्तिमार्फत भने, ‘मलाई लाग्छ, यो प्रभावकारी हुन्छ ।’


वाल स्ट्रिट जर्नल, एनबीसी तथा वासिङटन पोस्टले गोप्य स्रोतलाई उद्धृत गर्दै हाइटहाउसले सैनिक इन्जिनियरिङ विभागलाई आफ्नो कोषको रकम पर्खाल निर्माणका लागि प्रयोग गर्न आग्रह गरेको जनाएका छन् । साथै, राष्ट्रपति कार्यालयले पर्खाल निर्माणको अवधिबारे समेत अध्ययन गर्न निर्देशन दिएको जनाइएको छ ।

प्रकाशित : पुस २८, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?