अमेरिकाले सिरियाबाट सैन्य उपकरणहरु फिर्ता गर्ने

अहिलेका लागि अमेरिकाले आफ्ना सैनिक फिर्ता नगर्ने
एएफपी

वासिङ्टन — अमेरिकाले सिरियाबाट सैनिक नभएर अन्य उपकरणहरु फिर्ता गर्न लागेको जनाएको छ । यसअघि अमेरिकाले सिरियाबाट आफ्नो सैन्य सदस्यहरु नै फिर्ता गर्न लागेको बताइएको थियो । 

सिरियाको उत्तरी सहर मनबिजमा गत डिसेम्बर ३० मा देखिएका अमेरिकी सेनाका गाडीहरु । तस्बिरः एएफपी ।

अहिलेका लागि अमेरिकाले आफ्ना सैनिक फिर्ता नगर्ने निर्णय गरेको हो । अमेरिकाको प्रतिरक्षा मन्त्रालयका एकजना अधिकारीले भनेका छन्, अहिलेका लागि हामी सैनिक फिर्ता गर्दैनौँ तर पनि केही औजार, उपकरण या सामग्रीहरु भने फिर्ता गर्ने तयारी थालेका हौँ ।

सैनिक कहिलेदेखि फिर्ता गर्ने भन्ने विषयमा केही खुलाइएको छैन । ती अधिकारीले त्यहाँबाट सैनिकसँग सम्बन्धित नभई अन्य उपकरण र औजारहरु फिर्ता गर्ने प्रक्रिया भने सुरु भइसकेको जनाएका छन् ।

गत आइतबार मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारले अमेरिकाले सिरियाबाट सेना फिर्ता गर्ने बारेमा केही सर्तहरु राखेका थिए । उनले ती सर्त पूरा भएपछि मात्र सिरियाबाट सेना फिर्ता गर्ने बरेमा सोचिने जवाफ दिएका थिए ।

तर सैन्य नभए पनि अमेरिकाले त्यहाँ राखेका अरु उपकरणहरु भने यसैहप्ताबाट सुरु गरिने जानकारी उनले दिए । उनले त्यसो भनिरहँदा उता सैनिक प्रवक्ताले भने अमेरिकाले सिरियाबाट आफ्ना सैनिक फिर्ता गर्ने तयारी छिट्टै थाल्ने बताएका थिए ।

शुक्रबार राति पेन्टागनका प्रवक्ता कमाण्डर सिन रोबर्टसनले अमेरिकाले सिरियाबाट सेना फिर्ता गर्ने बारेमा सहमित गरिसकेको तर कहिले भन्ने बारेमा कुनै निर्णय भइ नसकेकाले सरकारको निर्णय अनुसार व्यवस्थित रुपमा सेना फर्काइने बताए ।

उनले भनेका छन्, यो हामीले मात्र गरेर हुँदैन र सिरियामा हामीलाई साथ दिइरहेका देशहरुसँग पनि आवश्यक परामर्श र सल्लाह गरेर फिर्ता गर्ने निर्णय हुनेछ ।

उनले अबका केही दिनमा सिरियाको वास्तविकता हेरेर, शान्ति सुरक्षा या अन्य कारणले के कति सेनाको आवश्यकता पर्छ भन्ने बारेमा विश्लेषण गरेर मात्र सेना फिर्ता गर्ने बारेमा निर्णय गरिने बताएका छन् । यसरी फिर्ता गरिने सामग्रीमा अमेरिकाले त्यहाँ लगेका गैरसैनिक सहयोगका उपकरण तथा सामग्रीहरु, गैर सैनिक र आवश्यक नरहेका कर्मचारीहरु पनि त्यहाँबाट फिर्ता गरिने छ ।

अमेरिकाले विशेषगरी सिरियाको उत्तरपश्चिमी क्षेत्रका रेमिलान, हासाकेह प्रान्तमा बढी मात्रामा सैनिक राखेको छ । ती क्षेत्रमा सिरियाली सरकारी समर्थक समूह, सिरियाली सैनिक र आइएस समर्थनको मुस्लिम जिहादी समूहको बढी प्रभाव रहेको छ ।

सोही कारणले त्यहाँका सरकार विरोधी समुदाय र नागरिकको सुरक्षा र संरक्षणका लागि अमेरिकी नेतृत्वमा केही देशले त्यहाँ सेना पठाएका छन् । अमेरिको नेतृत्वमा स्थापना भएको सिरिया सहयोग समूहका तर्फबाट त्यहाँ सेना पठाइएको छ ।

ती सैनिकले ती क्षेत्रमा विशेषगरी सिरियामा त्यहाँका राष्ट्रपतिको बहिर्गमनको माग राखेर आन्दोलन गरिरहेको विपक्षी समूहहरुको संरक्षण तथा इस्लामिक जिहादीहरुका विरुद्धमा कारबाही गर्ने गर्दछ ।

प्रकाशित : पुस २८, २०७५ १४:२९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

तरुल व्यापारको चटारो, किलोकै ३ सय रुपैयाँ !

शब्द/तस्बिर :सुरविन्द्रकुमार पुन

काठमाडौँ — माघी पर्व नजिकिएसँगै राजधानीको कालीमाटीस्थित तरकारी तथा फलफूल बजारमा तरुल व्यापारको चटारो लागेको छ । विभिन्न थरीका तरुल अहिले कालीमाटी बजारमा बिक्रीवितरण भइरहेको छ ।

राजधानीमा मुख्य गरी सर्लाहीमा उत्पादन भएको तरुल भित्रिने गरेको छ । पाल्पा, अर्घाखाँची, चितवन, नवलपरासी, मकवानपुर, धादिङ, सिन्धुली, गोरखा, झापा, नुवाकोट लगायतबाट पनि काठमाडौं उपत्यकामा तरुल भित्रिने गरेको छ ।

ढकको हिसाबमा तरुलको कारोबार भइरहेको छ । एक ढक बराबर ५ किलो मानिन्छ । होलसेल भाउमा कम्तिमा पनि एक ढक खरिद नभई तरुल बेचिँदैन । सस्तोमा प्रतिढक बराबर १ सय ८० देखि सबैभन्दा महँगो १५ सय रुपैयाँसम्मका तरुल कालीमाटी बजारमा किन्न सकिन्छ । तरुलसँगै बजारमा सखरखण्ड, स्कुसको जरा, पिँडालु पनि पाइने गरेको छ । बिक्रेताका अनुसार घर तरुल सस्तो र सुलभ भएकाले पनि यसप्रति उपभोक्ताको आकर्षण बढेको छ । निम्न आयस्तर तथा मध्यमवर्गका उपभोक्ताले घर तरुल बढी किन्ने गरेका छन् । सिमल तरुलले शरीरको सर्दीको मात्रालाई थप बढाउने हुँदा यसप्रति उपभोक्ताको रुचि कम देखिएको मानिन्छ ।

मुख्यत: पहाडी जिल्लाका वनमा पाइने वन तरुल नितान्त अर्गानिक मात्र नभई सुलभ रुपमा बजारमा नपाइने हुँदा यसको बजार भाउ अकासिएको छ । वन तरुल खोज्ने, खन्ने, संकलन गर्ने कार्य निकै कठिन हुन्छ । संकलक, विविध थरिका बिचौलिया हुँदै बजारमा बिक्रेताकहाँ आइपुग्दा होलसेल भाउमा पनि वन तरुलको भाउ यसरी बढेको हो । सहरमा हुनेखाने वर्गले मूल्य प्रवाह नगरी स्वास्थ्यकै लागि पनि वन तरुल किन्ने गरेको पाइन्छ ।

वन तरुल । एक ढक वन तरुलको होलसेल १५ सय रुपैयाँमा किनबेच भइरहेको छ।

तरुललाई खासगरी उसिनेर खाने गरिन्छ । झन्झन् विकसित हुँदै गइरहेको आधुनिक चिकित्सा विज्ञानको जमानामा पनि चिकित्सकहरुले उसिनिएर खाने बानी बसाल्न आफ्ना बिरामीहरुलाई सुझ्याउने गरेको सन्दर्भमा तरुलप्रति पनि आमउपभोक्ताको चाख बढेको हो ।

तरुलमा पर्याप्त मात्रामा कार्बोहाइड्रेट र खनिजको मात्रा पाइने गरेको यससँग सम्बद्ध विज्ञहरुको राय छ । यसमा भोजनलाई सन्तुलनमा राख्न सक्ने फाइबरको मात्रा पनि हुने भएकाले तरुल एक स्वास्थ्यवर्द्धक र बहुपयोगी कन्दमूल हो ।


प्रकाशित : पुस २८, २०७५ १४:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT