कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक दशकभित्र अर्थतन्त्रमा चीन र भारत विश्वकै शक्तिशाली हुने

नवीन पोखरेल

लन्डन — आगामी दश वर्षमा चीन र भारत क्रमशःविश्वको पहिलो र दोस्रो शक्तिशाली अर्थतन्त्र भएका मुलुकका रूपमा उदय हुने प्रक्षेपण गरिएको छ ।

एक दशकभित्र अर्थतन्त्रमा चीन र भारत विश्वकै शक्तिशाली हुने

हालको शक्तिशाली अर्थतन्त्र अमेरिका तेस्रो स्थानमा पुग्ने बेलायती बैङ्क स्टान्डर्ड चार्टर्डले २०३० पछि विश्व अर्थतन्त्रमा पुग्ने ठुला दश देशको अन्वेषणपछि उक्त प्रक्षेपण गरेको हो । यस समयमा चीनको अर्थतन्त्रको कुल ग्राहस्थ उत्पादन (जिडिपी) ६४ दशमलव २ ट्रिलियन डलर तथा भारतको ४६ दशमलव ३ ट्रिलियन डलर पुग्ने अनुमान छ ।


इन्डोनेसिया र टर्की चौथो तथा पाँचौँ स्थानमा रहने छन् । अर्थतन्त्रको हिसाबले एसिया महादेश शक्तिशाली रहने दाबी गरिएको छ । लामो अवधिको अर्थतन्त्रको वृद्धिदर मध्यनजर राखी विश्वको कुल ग्राहस्थ उत्पादनले विश्व जनसङ्ख्याको हिसाबमा प्रतिव्यक्ति आय हिसाब गरिएको हो । यसमा विकसित र विकासोन्मुख देशको अर्थतन्त्रको अनुपातमा यस्तो निष्कर्षमा निकालिएको स्टान्डर्ड चार्टर्डले बताएको छ । देशको अर्थतन्त्रको आकार जिडिपी अनुसार बजार मूल्य अनुरूप कति सेवा र सामान उत्पादन गरिन्छ, त्यही अनुरूप घटबढ हुन्छ ।


यस वर्ष भारतको आर्थिक वृद्धिदर ७ प्रतिशतभन्दा बढी हुने आकलन गरिएको छ । यसअघिको त्रैमासिकमा ८ दशमलव २ प्रतिशत थियो । औद्योगिक उत्पादन गतवर्षको ५ दशमलव ७ प्रतिशतबाट बढेर ८ दशमलव ३ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।


दक्षिण अमेरिकी महादेशबाट ब्राजिलको कुल जिडिपी ८ दशमलव ६ ट्रिलियन डलर भई सन् २०३० मा संसारको छैटौँ अर्थतन्त्र बन्ने अध्ययनमा उल्लेख गरिएको छ । बेलायत, इटाली, फ्रान्स र क्यानडा संसारको शक्तिशाली दश अर्थतन्त्रबाट बाहिरिने छन् । मध्यपूर्वको देशबाट इजिप्ट सातौँ तथा रसिया आठौँ रहने छन् । हाल तेस्रो र चौथौँ शक्तिशाली अर्थतन्त्र जापान र जर्मनी नवौँ र दसौँ स्थानमा झर्ने अनुमान छ ।


उदयीमान देशहरूले उत्पादकत्व वृद्धि गर्न विकसित देशका आधुनिक प्रविधिको प्रयोग गर्दा उत्पादन वृद्धिदर बढी हुन्छ । जसले गर्दा युरोप अमेरिकाको गत २० वर्षको औसत जिडिपी वृद्धिदर ३ प्रतिशत भन्दा कम तर चीन तथा भारतको जीडीपी यसको दोब्बर रहेको अर्थ व्यवस्थापन जानकार विकलचन्द्र आचार्यले बताए । विकासशील देशको अर्थतन्त्र भने भविष्यवाणी गरिएजस्तो हुने निश्चित नहुने जनाउँदै आचार्यले ब्राजिलको अर्थतन्त्रबारे केही वर्ष अघि गरिएको भविष्यवाणी नमिलेको उदाहरण दिए । चीन र भारतमा पनि यस्तो हुन सक्छ ।


ठुलो अर्थतन्त्रले मात्र जीवनस्तर र समृद्धिको मापन हुँदैन । जिडिपीको अनुपातमा प्रतिव्यक्ति आम्दानी चीनको वार्षिक १८ हजार डलर छ भने अमेरिकाको ६३ हजार डलर छ । त्यस्तै बेलायतको प्रतिव्यक्ति आय ४६ हजार डलर छ भने भारतको ७ हजार ८ सय डलर । चीन र अमेरिकाबिच जारी व्यापारिक तनावले विश्व अर्थतन्त्र आगामी दिनमा कुन रूपमा अगाडि बढ्ने हो भन्ने यकिन नभएको विज्ञहरूको भनाई छ ।

प्रकाशित : पुस २९, २०७५ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?