कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भियतनाममा वार्ता गर्न ट्रम्पको प्रस्ताव

एजेन्सी

टोकियो — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनसँग आगामी फेब्रुअरीको मध्यतिर दोस्रो शिखर वार्ता गर्न प्रस्ताव गरेका छन् । उनले उक्त शिखर बैठक भियतनाममा हुनसक्ने बताएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । 

भियतनाममा वार्ता गर्न ट्रम्पको प्रस्ताव

उत्तर कोरियाको परमाणु नि:शस्त्रीकरण कार्यक्रमबारे दुई देशबीच विवाद उत्पन्न भइरहेका बेला दुई नेताबीच दोस्रो शिखर बैठक हुन लागेको हो । दुई नेताबीच गत वर्षको जुनमा सिंगापुरमा पहिलो शिखर बैठक भएको थियो । उत्तर कोरियाले अमेरिकी प्रस्तावमाथि अध्ययन गरिरहेको र त्यसबारे चाँडै नै औपचारिक प्रतिक्रिया दिने बताएको जापानी समाचारपत्र योमुरी सिम्बुनले उल्लेख गरेको छ ।

प्योङयाङ र वासिङ्टनबीच पहिलो शिखर बैठकमा भएका सहमतिको कार्यान्वयनलाई लिएर दुवै मुलुकबीच छलफल जारी रहेको पनि जनाइएको छ । सहमतिमा किमले उत्तर कोरियाको सुरक्षा प्रत्याभूति भए पूर्णरूपमा परमाणु नि:शस्त्रीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर पछिल्ला दिनमा आफ्नो देशविरुद्धका प्रतिबन्ध नहटाइएको भन्दै उत्तर कोरियाली नेता किम रुष्ट छन् ।


गतसाता उनले चीन भ्रमणका क्रममा राष्ट्रमाथि सी चिनफिङसँग प्रतिबन्ध फुकुवाका लागि पहल गरिदिन आग्रह गरेका थिए । तर अमेरिकाले परमाणु नि:शस्त्रीकरण नभएसम्म प्रतिबन्ध फुकुवा नहुने अडान राख्दै आएको छ । ट्रम्प र किमबीच हुने दोस्रो शिखर बैठकले यी असमझदारी हटाउने र उत्तर कोरियामाथिका प्रतिबन्ध फुकुवा हुने अपेक्षा गरिएको छ ।

प्रकाशित : पुस ३०, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?