कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्खाल निर्माण विवाद : ट्रम्पको प्रस्ताव अस्वीकार

पर्खाल बनाउन बजेट छुट्याए अमेरिकास्थित आप्रवासीलाई तत्काल स्वदेश नफर्काउने प्रस्ताव विपक्षीले अस्वीकार गरेपछि ट्रम्प आक्रोशित
एएफपी

वासिङ्टन — मेक्सिको सीमा क्षेत्रमा पर्खाल निर्माणका लागि बजेट छुट्याउनुपर्ने अडान गर्दै आएका अमेरिकी राष्ट्रपति ट्रम्पले करिब एक महिना लामो संघीय सरकार बन्द हटाउन नयाँ प्रस्ताव राखेका छन् । 

पर्खाल निर्माण विवाद : ट्रम्पको प्रस्ताव अस्वीकार

राष्ट्रपति ट्रम्पले सीमा पर्खाल निर्माणका लागि कंग्रेसले बजेट छुट्याए अमेरिकामा रहेका लाखौं आप्रवासीलाई स्वदेश फर्काउने कार्य तत्कालका लागि स्थगन गर्ने प्रस्ताव राखेका हुन् ।


तर राष्ट्रपतिको नयाँ प्रस्ताव विपक्षी डेमोक्रयाट पार्टीले अस्वीकार गरेको छ । त्यसलगत्तै ट्रम्प आक्रोशित भएको बीबीसीले जनाएको छ । उनले ट्वीटरमार्फत विपक्षीले ‘लागूऔषध र अपराध नदेखेको’ आरोप लगाए ।


ट्रम्पले पर्खाल बनाउन ५ अर्ब ७ करोड बजेट माग गर्दै आएका छन् । तर विपक्षी दल डेमोक्रयाटिकले ट्रम्पको पर्खाल निर्माण योजना अस्वीकार गर्दै बजेट पारित नगर्ने बताउँदै आएको छ । ट्रम्प र विपक्षी डेमोक्रयाट पार्टीबीच बजेटबारेको असहमतिका कारण अमेरिकी संघीय कार्यालयहरू आंशिक बन्द छन् ।


पर्खाल निर्माण बाहेकको बजेट पारित गर्न विपक्षी डेमोक्रयाटिक पार्टी तयार रहे पनि राष्ट्रपति ट्रम्पले पर्खालका लागि बजेट पारित गर्नुपर्ने अडान गर्दै आएका छन् । उनले पर्खाल निर्माण अमेरिकी जनताको सुरक्षासँग प्रत्यक्ष सरोकारको विषय भएको बताउँदै आएका छन् ।


विपक्षी दलले पर्खाल निर्माणले आप्रवासन समस्या सुल्झाउन नसकिने बताउँदै आप्रवासीका कारण अमेरिकी सुरक्षामा खतरा नरहेको दाबी गर्दै आएको छ । आप्रवासीप्रति कडा नीति अख्तियार गर्दै आएका राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा सीमाक्षेत्रमा पर्खाल बनाउने प्रतिबद्धता जनाएका थिए ।


विवाद तत्कालै सुल्झिने कुनै संकेत नदेखिएका कारण २९ दिनदेखि बन्द संघीय कार्यालयहरू तत्काल खुल्ने कुनै सम्भावना देखिँदैन । यसअघि बजेट विवादकै कारण ट्रम्पले हाउस अफ रेप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीको अफगानिस्तान भ्रमण रद्द गरिदिएका थिए ।


बजेट स्वीकृत नहुँदा संघीय जाँच ब्युरो, एयर ट्राफिक कन्ट्रोलर, होमल्यान्ड सेक्युरिटी, यातायात, कृषि, गृह, न्याय, संग्रहालय, वन तथा राष्ट्रिय निकुञ्ज लगायतका निकायमा कार्यरत कर्मचारी प्रभावित छन् । ८ लाख संघीय कर्मचारी तलबविहीन छन् भने कतिपयलाई बेतलबी घर बिदामा पठाइएको छ । अत्यावश्यक बजेटमा राजनीति गरिएको भन्दै संघीय कार्यालयका कपितय कर्मचारीले विरोध सुरु गरेका जनाइएको छ ।


राष्ट्रपति कार्यालय ह्वाइटहाउसबाट आइतबार गरेको टेलिभिजन सम्बोधनमा ट्रम्पले खासगरी दुई किसिमका आप्रवासीलाई तत्काल स्वदेश नफर्काइने प्रस्ताव राखेका थिए । अमेरिकामा गैरकानुनी रूपमा बसोबास गरिरहेका शरणार्थीका करिब ७ लाख बालबालिका रहेका छन् ।


ती बालबालिकाप्रति डेमोक्रयाट पार्टीले आवाज उठाउँदै आएको छ । त्यसैगरी संरक्षित व्यक्तिको सूचीमा परेका तर म्याद गुज्रेका करिब ३ लाख आप्रवासी छन् । ट्रम्पले नयाँ प्रस्तावमा यी १० लाख आप्रवासीलाई तत्काल स्वदेश नफर्काउने बताएका हुन् । तर त्यसका लागि कंग्रेसले पर्खाल निर्माण गर्न बजेट पारित गर्नुपर्ने ट्रम्पको अडान छ ।


ट्रम्पले आपतकालीन मानवीय सहायताका लागि ८० करोड र सीमा सुरक्षा कार्यालयमा लागूऔषध पत्ता लगाउने अत्याधुनिक उपकरण जडान गर्न ८० करोड ५० लाख डलर समेत माग गरेका छन् । ‘उहाँको प्रस्ताव पहिल्यै अस्वीकृत कार्यक्रमहरूको सँगालो मात्र हो, र यी प्रत्येक प्रस्ताव अस्वीकार्य छन्,’ डेमोक्रयाट पार्टीकी नेत्री एवं सभामुख न्यान्सी पेलोसीले भनिन्, ‘यी प्रस्तावको केही अर्थ छैन ।’


अमेरिकी सिनेटमा डेमोक्रयाटिक नेता चक सुमरले ‘आप्रवासीका नीतिबारे राष्ट्रपतिले पहिल्यै भूल गरिसकेकाले नयाँ प्रस्ताव देखावटी भएको’ दाबी गरे । सिनेटमा रिपब्लिकन पार्टीका नेता मिच म्याककोनेलले ट्रम्पको प्रस्ताव स्वागतयोग्य भएको बताए । उनले भने, ‘यो प्रस्ताव सरकारी कार्यालय खोल्न, सीमाको सुरक्षा गर्न र आप्रवासी मुद्दा सम्बोधन गर्नका लागि राजनीतिक सहमति जुटाउन महत्त्वपूर्ण छन् ।’

प्रकाशित : माघ ७, २०७५ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?