कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अक्सफाम रिपोर्ट : धनी र गरिबबीचको खाडल झन् बढ्यो 

विश्व २६ सर्वाधिक धनीसँग विश्वका गरिब आधा जनसंख्या बराबरको सम्पत्ति

नयाँदिल्ली — विश्वभरमा धनी र गरिबबीच आर्थिक असमानताको खाडल चिन्ताजनक ढंगले बढिरहेको देखिएको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफामले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा सन् २०१८ मा अर्बपतिहरूको सम्पत्ति हरेक दिन १२ प्रतिशत अर्थात् २.५ अर्ब डलरले वृद्धि भएको उल्लेख छ ।

अक्सफाम रिपोर्ट : धनी र गरिबबीचको खाडल झन् बढ्यो 

तर विश्वको आधा जनसंख्याको प्रतिनिधित्व गर्ने सबभन्दा गरिब जनसंख्याको सम्पत्तिमा भने ११ प्रतिशत ह्रास आएको छ ।

विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन संसारभरबाट अर्थविद् र राजनेताहरू स्विट्जरल्यान्डको डाभोस पुगेका बेला अक्सफामले प्रतिवेदन सार्वजनिक गरेको छ । मञ्चमा विश्वको आर्थिक अवस्था, समाजमा व्याप्त गरिबी तथा आर्थिक असमानता लगायत समस्यामाथि छलफल हुने जनाइएको छ ।

प्रतिवेदनअनुसार भारतमा धनी र गरिबबीचको अवस्था झन् भयावह देखिएको छ । सन् २०१८ मा भारतीय अर्बपतिहरूको सम्पत्ति हरेक दिन २.२ अर्ब भारुले वृद्धि भएको थियो । त्यसैगरी सबैभन्दा धनी १ प्रतिशतको सम्पत्ति ३९ प्रतिशतलले बढिरहेको छ । आधा जनसंख्याको सम्पत्ति भने ३ प्रतिशतले वृद्धि भएको अक्सफामको निष्कर्ष छ । तर भारतको जनसंख्याको १० प्रतिशत रहेका सबैभन्दा गरिब १३.६ करोड नागरिक २००४ देखि नै ऋणमा रहेको अक्सफाम प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार भारतको जनसंख्याको माथिल्लो तप्का अर्थात् १० प्रतिशत नागरिकसँग पूरै मुलुकको कुल राष्ट्रिय सम्पत्तिको ७७.४ प्रतिशत हिस्सा छ । अझ त्यसमा पनि जनसंख्याको सबैभन्दा धनी एक प्रतिशतसँग मात्रै कुल राष्ट्रिय सम्पत्तिको ५१.५३ प्रतिशत छ । जब कि जनसंख्याको सबैभन्दा ठूलो हिस्सा अर्थात् ६० प्रतिशतसँग त्यस्तो सम्पत्ति मात्र ४.८ प्रतिशत रहेको अक्सफामले जनाएको छ । अझ उदेक लाग्दो कुरा के छ भने, शीर्ष ९ धनाढयसँग कुल जनसंख्याको सबैभन्दा गरिब तप्का अर्थात् ५० प्रतिशत बराबरको सम्पत्ति छ ।

त्यसैगरी, भारतीय अर्थतन्त्रले २०१८ देखि सन् २०२२ बीचमा प्रत्येक दिन ७० जना करोडपति जन्माउने पनि अक्सफामको दाबी छ । भारतमा गतवर्ष १८ जना अर्बपतिहरूको सूचीमा थपिएका थिए । हाल भारतमा रहेका ११९ अर्बपतिहरूको कुल सम्पत्ति ४०० अर्ब डलर नाघेको छ ।

सोमबार सार्वजनिक प्रतिवेदनले केही रोचक तथ्यहरू पनि बाहिर ल्याएको छ । जस्तै, भारतका सबैभन्दा धनाढय मुकेश अम्बानीको कुल सम्पत्ति यहाँको केन्द्र र प्रदेश सरकारले स्वास्थ्य, सरसफाई र खानेपानीका लागि वर्षभरि गर्ने खर्चभन्दा बढी रहेको छ ।

अक्सफामका अनुसार २०१७ मा ४४ धनाढयको कुल सम्पत्ति विश्वका गरिब ३.८ अर्ब अर्थात् आधा जनसंख्याको सम्पत्ति बराबर रहेकोमा हाल २६ जनासँगै त्यति सम्पत्ति छ । गत वर्षमै विश्वका सबैभन्दा धनाढय अमेजनका संस्थापक जेफ बेजोसको सम्पत्ति ११२ अर्ब डलर छ । जुन सम्पत्तिको १ प्रतिशत ११ करोड ५ लाख जनसंख्या रहेको इथोपियाको सम्पूर्ण स्वास्थ्य बजेट बराबर रहेको अक्सफामले उल्लेख गरेको छ ।

प्रतिवेदनले बढदो आर्थिक विभेदको सबैभन्दा बढी असर महिला र बालिकामाथि परिरहेको औंल्याएको छ । प्रतिवदेनले धनी र गरिबबीचको बढदो खाडलको भयावह तस्बिर सार्वजनिक गरेसँगै अक्सफामले डाभोसमा भेलामा हुने राजनीतिज्ञ तथा व्यवसायीलाई धनी र गरिबबीचको बढदो आर्थिक असमानता कम गर्न तत्काल ठोस पहल गर्न पनि आग्रह गरेको छ । ‘बढदो असमानताले गरिबीविरुद्धको लडाइँलाई कमजोर पार्नुका साथै अर्थतन्त्रलाई तहसनहस र विश्वभर मानिसलाई आक्रोशित बनाइरहेको’ अक्सफामकी कार्यकारी निर्देशक बिन्नी ब्यानिमाले टवीटरमा उल्लेख गरेकी छन् ।

भारतको विभेदलाई लिएर ब्यानिमाले थप चिन्ता जाहेर गरेकी छन् । ‘भारतको धनाढय १ प्रतिशत र बाँकी नागरिकबीचको आर्थिक विभेद यही गतिले बढदै जाने हो यसले मुलुकको अन्तत: समाजक र लोकतान्त्रिक संरचनालाई ध्वस्त बनाउनेछ,’ ब्यानिमले बताएकी छन् ।

प्रकाशित : माघ ८, २०७५ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?