कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुगलका विज्ञापन अपारदर्शी 

५ करोड युरो जरिवाना 
एजेन्सी

पेरिस — सूचना प्रविधिको अग्रणी कम्पनी गुगलले पारदर्शिता नअपनाएको भन्दै फ्रान्सेली डाटा नियामक निकाय सीएनआईएलले मंगलबार ५ करोड युरो जरिवाना गरेको छ । 

गुगलका विज्ञापन अपारदर्शी 

सीएनआईएलले ‘गुगलले विज्ञापनको प्रयोगका क्रममा पारदर्शिता नअपनाएको, पर्याप्त सूचना नदिएको तथा वैध सहमति नलिएको लगायतमा दोषी ठहर गर्दै ५० मिलियन (करिब ६ करोड डलर) जरिवाना गरेको जनाएको हो ।


सीएनआईएलका अनुसार विभिन्न विज्ञापन व्यक्तिको पहुँचमा पुर्‍याउनुअघि संकलन गर्ने तथ्यांकबारे गुगलले ‘अपर्याप्त सूचना दिएको’ हो । सीएनआईएलले भनेको छ, ‘गुगलमार्फत हुने विज्ञापनबारे प्रयोगकर्ताहरू पूर्ण रूपमा जानकार छैनन् ।’


गुगलले एक विज्ञप्ति जारी गर्दै आरोपबारे कुनै कदम चाल्ने निर्णयका लागि अध्ययन गरिरहेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘आम मानिसहरूले हामीबाट उच्चस्तरको पारदर्शिता र नियन्त्रण चाहन्छन् । हामी त्यसका लागि पूर्ण प्रतिबद्ध छौं ।’


सन् २०१८ को मेमा अधिकार समूह नोएब र ला क्वाड्राचर डु नेट (एलक्यूडीएन) ले गुगलविरुद्ध मुद्दा दायर गरेका थिए । ती समूहका अनुसार ‘विज्ञापन व्यक्तिको पहुँसम्म पुर्‍याउन गुगलसँग वैधता नरहेको’ दाबी गरेका थिए ।


गुगलको युरोपेली मुख्यालय आयरल्यान्डमा भए पनि यसले फ्रान्सस्थित अधिकारीले उक्त मुद्दाबारे निर्णय लिने जनाएका छन् । आयरल्यान्डस्थित अधिकारीसँग एन्ड्रोइड सिस्टम र यसको सेवाबारे निर्णय लिने अधिकार नरहेको जनाइएको छ ।


‘गुगलमाथि फ्रान्सेली नियामक निकायले गरेको जरिवानालाई सूचना प्रविधिका क्षेत्रमा गरिएको सचेतनाका रुपमा लिनुपर्ने’ अन्तर्राष्ट्रिय कानुनका ज्ञाता रन मोस्कोनाको भनाइ छ । उनले भने, ‘नियमनकारी निकायले चाहेमा अझ धेरै जरिवाना गर्न सक्थ्यो । तर यसको अर्थ आगामी दिनमा सूचना प्रविधिसम्बन्धी कम्पनी जिम्मेवार बनुन् भन्ने नै हो ।’


गुगल पारदर्शितासम्बन्धी मुद्दामा कारबाहीमा परेको पहिलो अमेरिकी प्रविधिसम्बन्धी अमेरिकी कम्पनी हो ।

प्रकाशित : माघ ९, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?