कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भाजपा अध्यक्ष विपक्षीविरुद्ध आक्रामक

भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष अमित शाहले ममता बनर्जी लोकतन्त्रविरोधी भएको दाबी गर्दै विपक्षी गठबन्धन शक्ति र स्वार्थप्रेरित रहेको आरोप लगाए
एजेन्सी

कोलकाता — भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष अमित शाहले नरेन्द्र मोदीलाई आगामी चुनावमा कसैले पनि पराजित गर्न नसक्ने दाबी गरेका छन् । 

भाजपा अध्यक्ष विपक्षीविरुद्ध आक्रामक

पश्चिम बंगाल राज्यमा मंगलबार आयोजित लोकसभा निर्वाचनको अभियानका क्रममा शाहले उक्त दाबी गरेका हुन् । तृणमूल कंग्रेस नेतृ ममता बनर्जीले विपक्षीहरूसँग चुनावी गठबन्धन निर्माण गरेपछि रुष्ट शाह उनीविरुद्ध आक्रमक देखिएका थिए ।

‘सेभ बंगाल, सेभ डेमोक्रेसी’ र्‍यालीलाई सम्बोधन गर्दै शाहले भने, ‘२०/२५ जना नेताले गठबन्धनले एक अर्ब जनताको समर्थन रहेका मोदीलाई कुनै पनि हालतमा हराउन सक्दैनन् ।’ उनले विपक्षी गठबन्धनमा ९ जना प्रधानमन्त्रीका आकांक्षी रहेको बताउँदै उनले ‘विपक्षीहरू शक्ति र स्वार्थ’ का लागि जुटेको आरोप लगाए । उनले भने, ‘यस्तो गठबन्धनले कुनै पनि हालतमा भारत माताको भलो हुँदैन ।’

शाहले गैरकानुनी आप्रवासीको पक्षधरलाई मतदान गर्न जनतालाई आग्रह गरे । उनले पश्चिम बंगालका मुख्यमन्त्री बनर्जीलाई नागरिकता विधेयकमा आफ्नो अडान प्रष्ट पार्न आग्रह गरे । उनले भने, ‘ममता बेनर्जीले विधेयकको विरोधमा छिन्, किनकि उनले भोटको राजनीति गरिरहेकी छन् ।’

शाहले बनर्जी नेतृत्वको राज्य सरकारले बंगालको संस्कृति तथा लोकतन्त्र ध्वस्त पारिरहेको समेत आरोप लगाए । ‘तृणमूल कंग्रेसले पश्चिम बंगालमा लोकतन्त्रलाई मारिरहेको छ,’ उनले भने ।

कुनै बेला भारतको उत्कृष्ट पश्चिम बंगाल हाल कमजोर राज्यमा परिणत भएको दाबी गर्दै शाहले आगामी निर्वाचनपछि तृणमूल कंग्रेस इतिहास बन्ने दाबी गरेका थिए । गत शनिबार पश्चिम बंगालका प्रमुख विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध कोलकातामा विशाल र्‍यालीको आयोजना गरेका थिए ।

विपक्षीहरूले ‘मोदीलाई आगामी निर्वाचनमा पराजित गर्ने उद्देश्यले एकजुट भएको सन्देश दिन र्‍याली आयोजना गरेको’ बताएका थिए । लोकसभा निर्वाचनको केही महिनाअघि आयोजना गरिएको ‘युनाइटेड इन्डिया’ नामक र्‍यालीमा दसौं हजार मानिस उपस्थित थिए । कोलकाताका २३ क्षेत्रीय समूहले भाजपालाई पराजित गर्न ऐक्यबद्धता जनाएको बताएका हुन् । पश्चिम बंगालमा बनर्जी नेतृत्वको तृणमूल कंग्रेस शक्तिशाली मानिन्छ ।

र्‍यालीका क्रममा विपक्षीहरूले कृषि तथा रोजगारीका क्षेत्रमा मोदी पूर्णरूपमा असफल भएको दाबी गरेका थिए । भारतका कपितय राज्यमा हालै सम्पन्न चुनावमा नराम्रो हार बेहोरेका कारण पनि भाजपा सरकारप्रति जनसमर्थन कमजोर हुँदै गएको देखिएको छ ।

यसअघि पश्चिम बंगालकी मुख्यमन्त्री बनर्जीले ‘मोदी सरकार जनविरोधी’ भएको दाबी गर्दै आगामी चुनावमा पराजित हुने बताएकी थिइन् ।

भारतको प्रभावशाली सञ्चारमाध्यम एबीपी न्युजले हालै गरेका मत सर्वेक्षणमा भाजपा आगामी निर्वाचनमा पराजित हुने देखिएको थियो । क्षेत्रीय दलको प्रभाव रहेका भारत पश्चिम बंगाल, उडिसा, आन्द्र प्रदेश, तमिल नाडु र केरालबाट १६१ लोकसभा सदस्य चुनिन्छन् । भारतको लोकसभामा ५४३ सदस्य चुनिन्छन् ।

लोकसभामा सबैभन्दा बढी सदस्य चुनिने उत्तर प्रदेशमा यसअघि नै समाजवादी र बहुजन समाज पार्टीले चुनावी गठबन्धन गरिसकेका छन् । उक्त गठबन्धनपछि भाजपा निकै आत्तिएको आंकलन गरिएको छ । ८० सांसद चुनिने उत्तर प्रदेशमा सन् २०१४ को लोकसभामा भाजपाका ७१ सांसद विजयी भएका थिए ।

चुनावी प्रतिबद्धताअनुसार भारतीय प्रधानमन्त्री मोदीले रोजगारीलगायत विकास निर्माणका कार्य गर्न नसकेको आलोचना खेप्दै आएका छन् । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले ‘निर्वाचित भएको वर्ष दिनभित्र वार्षिक २ करोड रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाए पनि पूरा गर्न नसकेको’ बताउँदै आएका छन् । भारतमा गत डिसेम्बरको तथ्यांकअनुसार बेरोजगारीको दर ७.४ प्रतिशतले घटेको छ । जुन १५ महिना यताको सबैभन्दा बढी हो ।

प्रकाशित : माघ ९, २०७५ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?