दक्षिण एसियाली विश्वविद्यालय : विद्यार्थी आन्दोलनले पढाइ ठप्प

तेह्रौं सार्क सम्मेलनको निर्णय अनुसार स्थापना भएको विश्वविद्यालयको कुल खर्चमध्ये नेपालले ४.९२ प्रतिशत व्यहोर्छ । 
सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतको राजधानी नयाँदिल्लीस्थित दक्षिण एसियाली विश्वविद्यालय (साउ) को पठनपाठन विद्यार्थी आन्दोलनका कारण ठप्प भएको छ । 

भारतको राजधानी नयाँदिल्लीस्थित दक्षिण एसियाली विश्वविद्यालय । तस्बिर : कान्तिपुर

विद्यार्थीहरूले आफ्ना मागप्रति प्रशासन गम्भीर नबनेको भन्दै आन्दोलनलाई थप चर्काउने बताएका छन् । तीन सातादेखिको सामान्य धर्ना र पोस्टरबाजीमात्र गरिरहेका विद्यार्थीले गत बुधबारदेखि भोकहड्ताल सुरु गरेका हुन् ।

छात्रवृत्तिमा हुने विभेद अन्त्य, मेस सञ्चालन, अनुदान र आर्थिक स्रोतमा भएको दुरुपयोगको छानबिन लगायतका माग राखेर विद्यार्थीहरू विरोधमा उत्रेका हुन् । पीएचडी र एमफिलका विद्यार्थीलाई भारत सरकारले जुनियर रिचर्स फेलो (जेआरएफ) लाई दिने सरह नै छात्रवृत्ति दिनुपर्ने विद्यार्थीहरूको माग छ ।

हाल साउले पीएचडी र एमफिलका विद्यार्थीलाई मासिक २५ हजार भारु छात्रवृत्ति दिनेको गरेको छ भने जेआरफ अन्तर्गत अध्ययनरत विद्यार्थीले मासिक ३१ हजार पाउँछन् । स्नातकोत्तर तहमा दिइँदै आएको अहिलेको ३ देखि ७ हजार भारुको छात्रवृत्तिलाई पनि बढाउनुपर्ने माग समेत उनीहरूले राखेका छन् ।

त्यसका साथै विद्यार्थीहरू आफैंले मेस सञ्चालन गर्न पाउनुपर्ने र विश्वविद्यालयले अनुदान दिनुपर्ने माग राखेका छन् । त्यसैगरी विश्वविद्यालयमा आर्थिक स्रोतको दुरुपयोग बढेको भन्दै विद्यार्थीहरूले छानबिनको समेत माग गरेका हुन् । खरिद प्रक्रिया पारदर्शी नभएको भन्दै केन्द्रीय लेखा नियन्त्रक तथा परीक्षकको कार्यालय (सीएजी) ले समेत साउमाथि प्रश्न उठाएको भन्दै उनीहरूले निष्पक्ष छानबिन गर्नुपर्ने बताउँदै आएका हुन् ।

सीएजीले व्यवस्थापनलाई एकीकृत र स्वचालित ढंगले सञ्चालन गर्न खरिद गरिएको इन्टरप्राइजेज रिसोर्स प्लानिङ (ईआरपी) सफ्टवेयर ४ वर्ष बितिसक्दा समेत पूर्ण रूपमा सञ्चालनमा नल्याइएको भन्दै साउको प्रशासनिक नेतृत्वमाथि प्रश्न उठाएको थियो ।

विश्वविद्यालयले सन् २०१४ मा सुरु गरेको ईआरपी लागू गर्ने प्रक्रियाका लागि अहिलेसम्म ५ करोड ९ लाख रुपैयाँ भारुभन्दा बढी खर्च भइसके पनि पूर्णरूपमा कार्यान्वयनमा आएको छैन । आन्दोलनरत विद्यार्थीले माग पूरा नभएसम्म पछि नहट्ने बताएका छन् ।

‘साउको पठनपाठनको गुणस्तरमा प्रश्न उठाउने ठाउँ छैन, हाम्रो माग भनेको प्रशासन सुधार हो, त्यसैले माग पूरा नभएसम्म आन्दोलन जारी नै रहनेछ,’ आन्दोलनरत एक विद्यार्थीले नाम नबताउने सर्तमा कान्तिपुरसँग भने, ‘सार्कले राखेको लक्ष्यअनुरूप विश्वविद्यालयको गरिमा बचाइराख्न पनि प्रशासनमा आमूल परिवर्तनको खाँचो छ ।’

विश्वविद्यालय प्रशासनले विद्यार्थीको मागसम्बन्धमा हालसम्म औपचारिक धारणा सार्वजनिक गरेको छैन । साउले यसअघि नै आन्दोलनरत विद्यार्थीसँग वार्ता गरी उनीहरूको मागबारे सुझाव दिन सबै संकायका डिन र अध्यक्षसहितको समिति गठन गरेको थियो । यद्यपि, उक्त समितिले सुझाव भने दिन सकेको छैन ।

विश्वविद्यालयकी अध्यक्ष कविता शर्मा निजी भ्रमणको सिलसिलामा हाल अमेरिकामा रहेका कारण समितिले ठोस निर्णयमा पुग्न नसकेको बताइएको छ । विश्वविद्यालयका जनसम्पर्क अधिकृत प्रह्लाद अहिवमले समिति र आन्दोनरत विद्यार्थीबीच चाँडै नै सहमति हुने विश्वास व्यक्त गरे । ‘नियमित छलफल भइरहेको छ, एक/दुई दिनमा सहमति हुन्छ,’ उनले भने ।

यसअघि जनवरी दोस्रो साता सहप्राध्यापक अमित बनर्जीलाई अवकाश दिने निर्णयपछि साउमा प्राध्यापक र विद्यार्थी दुवै आन्दोलनमा उत्रिएका थिए । आन्दोलन चर्किँदै गएपछि प्रशासनले उनको अवकाश फिर्ता लिँदै अन्तिम निर्णयका लागि कार्यकारी परिषद्मा पठाउने सहमति गरेको थियो । उक्त घटनापछि विद्यार्थी र प्रशासनबीचको सम्बन्ध तिक्ततापूर्ण बन्दै गएको छ । गत वर्ष भारतको माथिल्लो सदन राज्यसभामा सांसदहरूले साउको स्रोत परिचालन र पारदर्शिताबारे प्रश्न उठाएका थिए ।

नोभेम्बर २००५ मा बंगलादेशको ढाकामा सम्पन्न तेह्रौं सार्क शिखर सम्मेलनमा विश्वस्तरीय शैक्षिक जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित दक्षिण एसियाली विश्वविद्यालय (साउ) स्थापना गर्ने निर्णय भएको थियो । औपचारिक पठनपाठन भने अगस्ट २०१० देखि दिल्लीकै जवाहरलाल नेहरू विश्वविद्यालय परिसरबाट सुरु भएको हो । तर स्थान अभावका कारण विश्वविद्यालयलाई २०११ जुलाईमा चाणक्यपुरीस्थित अकबर भवनमा सारिएको हो ।

विश्वविद्यालय सञ्चालनका लागि भारतले ५७.३८ प्रतिशत, पाकिस्तानले १३.०९ प्रतिशत, बंगलादेशले ८.२० प्रतिशत, नेपाल र श्रीलंका दुवैले ४.९२ प्रतिशत र भुटान, अफगानिस्तान र माल्दिभ्स प्रत्येकले ३.८३ प्रतिशत खर्च व्यहोर्दै आएका छन् । साउको पुँजीगत खर्च भने पूर्णरूपमा भारतले नै व्यहोर्ने व्यवस्था छ ।

विश्वविद्यालयको प्रशासनसम्बन्धी अन्तिम निर्णय लिने अधिकार अध्यक्षलाई छ । तर, विश्वविद्यालयको निर्धारित बजेट सीमा नाघ्ने अवस्थामा भने गभर्निङ बोर्डबाट निर्णय गराउनुपर्ने हुन्छ । बोर्डमा प्रत्येक सार्क सदस्य राष्ट्रबाट दुई/दुई जना सदस्य रहने व्यवस्था छ ।

प्रकाशित : माघ २८, २०७५ ०८:२५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

पैसाको पछिपछि

सुनीता साखकर्मी

काठमाडौँ — ‘यो कति रुपैयाँ होला ?’ फ्रेमभित्र राखिएको दुबईको कागजी नोटलाई संकेत गर्दै एक विद्यार्थीले आफ्ना साथीलाई सोधे । त्यता एक छिन नियालेपछि साथी चाहिँ जवाफिए, ‘हेर्दा गोलोगोलो छ, जिरो रुपैयाँ होला नि !’

मुद्रा संकलक सरोज श्रेष्ठ काठमाडौंको हात्तीगौंडामा आइतबार आयोजित प्रदर्शनीमा आगन्तुकलाई तत्सम्बन्धी जानकारी दिँदै । तस्बिर : कान्तिपुर

नजिकै बसेका सरोज श्रेष्ठले दुवैलाई सुनिरहेका थिए । विद्यार्थीहरूले नोटको दर नचिनेपछि सरोजले उक्त नोट दुबईको पाँच रुपैयाँ भएको जनाए । अघिसम्म गोलोगोलो देखेको अक्षर पाँच हो भन्ने सुनेपछि विद्यार्थीहरू छक्क परे ।

राजधानीको हात्तीगौंडास्थित ठुङरम इन्टरनेसनल एकेडेमी (टीआईए) मा सरोज श्रेष्ठले आइतबार आयोजना गरेको एकदिने मुद्रा प्रदर्शनीमा अनेक मुलुकका कागजी नोटहरू हेरेर जोकोही अचम्म मान्दै थिए । बुढानीलकण्ठको चुनिखेलका २१ वर्षीय सरोजले नेपाललगायत विभिन्न ८० देशका नयाँ तथा पुराना कागजी मुद्राको संकलन त्यहाँ राखेका थिए् ।

यसरी पूरा भयो सपना
सरोज सानैदेखि पुराना वस्तु जतनसाथ राख्थे । उनका मामा ईश्वर नगरकोटी पुराना पैसालाई एल्बममा सजाउने गर्थे । मामाले बंगलादेश पढ्न गएका बेला विभिन्न साथीबाट पाएका विभिन्न पैसालाई सजाएर राखेको देखेपछि सरोजमा पनि पाँचछ वर्षअघिदेखि मुद्रा संकलनको सोख पलाउन थाल्यो ।

‘मामाले कलेक्सन गर्नुभएको पैसा मेरा लागि नयाँ थियो,’ उनले भने, ‘त्यसपछि म पनि पुरानाभन्दा पुराना नोट संकलन गर्छु भन्ने सोच आयो ।’ मुद्रा संकलनमा उनलाई मामा, साथीभाइ र केही वृद्धवृद्धाले सहयोग गरे । कतिपय देशका नोटहरू उनले अनलाइन अर्डर गरेर झिकाए ।

मुद्रा संकलनकै क्रममा उनले विसं २००२ मा राजा त्रिभुवनको पालादेखि कागजी मुद्रा प्रचलनमा आएको थाहा पाए । २००२ मा पहिलोपटक त्रिभुवनको फोटोसहित छापिएको एक रुपैयाँ, पाँच रुपैयाँ, दस रुपैयाँ र सय रुपैयाँका नोट भेट्टाए । उनले यी नोटका अगाडि र पछाडि दुवैको हिस्सा देखिने गरी फ्रेममा राखेका छन् ।

त्यसपछि महेन्द्र, वीरेन्द्र हुँदै ज्ञानेन्द्रका पालासम्मका नोट देख्न सकिन्छ । नोटहरू हेर्दा नेपालमा राजा फेरिएपिच्छे नोटमा पनि राजाको टाउको बदलिएर नयाँ नोट छापिएको देखिन्छ । एकै राजाको समयमा पनि फरकफरक फोटाका साथ मुद्रा छापिएको देखिन्छ, जबकि अन्य देशमा लामो समयदेखि एउटै नोट प्रचलनमा आइरहेका छन् ।

सरोज पेसाले टेक्निसियन हुन् । तर पुराना नोट संकलन गर्नु उनको रुचि हो । ‘सुरुसुरुमा मसित एउटा/दुइटा पैसा हुन्थ्यो,’ उनले भने, ‘टोलटोलमा बूढापाकासँग नोट माग्दा वास्तै गर्नुहुन्नथ्यो । किन, केका लागि भनेर सोध्नुहुन्थ्यो । सबैलाई कन्भिन्स गर्दै नोट संकलन गर्दै गएँ ।’

मुद्रा : एक कला
प्रदर्शनीमा राखिएका नोटमध्ये राजा त्रिभुवनको पालामा छापिएको सय रुपैयाँको नोट कलात्मकताको हिसाबले उत्कृष्ट लाग्छ । उक्त मुद्रामा नेपालका आँखीझ्यालहरूमा भएको जस्तै कलात्मक बुट्टाहरू छन्, जुन अन्य मुद्रामा देखिँदैन । ‘यो नोट खोज्न धेरै मानिस भेटेँ,थुपै्र ठाउँ चहारेँ,’ सरोजले सुनाए, ‘दुई वर्ष खोजेपछि मामाको माध्यमबाट मैले उक्त नोट भेट्टाएको थिएँ । नोट भेट्टाएपछिको खुसी मबयानै गर्न सक्दिनँ ।’

श्रीलंकाको नोटमा सांस्कृतिक पहिरनमा सजिएका मानिसहरू परम्परागत बाजा बजाएर नाच्दै गरेको देखिन्छ । हाइटीको बीस रुपैयाँको नोटमा किताबको फोटो देखिन्छ भने माल्दिभ्सका पाँच र दसका नोटमा फुटबल खेलिरहेको र रूख चढिरहेको आकृति छन् ।

प्राय: सबै देशका नोटहरू तेर्सो छापिएका छन्, तर श्रीलंका र भेनेजुएलाका नोटहरू ठाडो पनि छापिएका छन् । प्राय: नोटमा वन्यजन्तु, चराचुरुंगी, प्राकृतिक स्रोतसाधन छापिएको देखिन्छ ।

प्रदर्शनीमा भारत, चीन, कतार, इन्डोनेसिया, म्यान्मार, युक्रेन, ओमन, लेबनान, जाम्बिया, दक्षिण अफ्रिका, मदागास्कर, अस्ट्रेलिया, सिंगापुर, युगोस्लाभिया, भियतनाम, कजाकस्तान, लाओस, बोस्निया र हजेगोभिना, जोर्डन, होन्डुरस, अंगोला, सर्बिया, कंगो, लाइबेरिया, बहराइन, पेरु, इरिट्रिया, स्वीडेन, इरान, नाइजेरिया लगायतका नोट राखिएका थिए ।

‘यी नोटलाई कलात्मक रूपमा प्रस्तुत गर्न केही साथीहरूसित मिलेर रातिराति पनि काम गरेँ मैले,’ ुरोजले भने, ‘फ्रेमिङका लागि रकम अभाव भएपछि बुढानीलकण्ठ नगरपालिकाले केही आर्थिक सहयोग गर्‍यो । टुपेक नवपुर क्लब र बुढानीलकण्ठ युथ क्लबले पनि साथ दिए ।’

विद्यालयहरूमा यी नोटहरूको नि:शुल्क प्रदर्शनी गर्दै आएका सरोज अब भने केही निश्चित रकम लिएर प्रदर्शनी गर्ने सोचमा छन् । ‘मुद्राले सम्बन्धित देशको तत्कालीन परिस्थितिबारे पनि जानकारी दिन्छ,’ उनले भने, ‘मैले पुराना सिक्काहरू पनि संकलन गरिरहेको छु । संकलन एउटा चरणमा पुगेपछि ती पनि प्रदर्शनीमा ल्याउनेछु ।’

प्रकाशित : माघ २८, २०७५ ०८:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT