कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्रम्पले संकटकाल घोषणा गर्ने

एजेन्सी

वासिङटन — मेक्सिको सीमाक्षेत्रमा पर्खाल निर्माणका लागि देशमा राष्ट्रिय संकटको घोषणाको तयारी गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आफ्नो दल र विपक्षी राजनीतिज्ञले कडा आलोचना गरेका छन् । 

ट्रम्पले संकटकाल घोषणा गर्ने

यसअघि राष्ट्रपति कार्यालय हाइटहाउसले संघीय खर्चबन्दीको अवस्था दोहोरिन नदिने तर मेक्सिकोसँग जोडिएको सीमामा पर्खाल बनाउन राष्ट्रिय संकटकाल घोषणा गर्न लागेको जनाएको थियो ।


विपक्षी दल डेमोक्रयाटका वरिष्ठ नेताले ‘राष्ट्रपतिले शक्तिको चरम दुरुपयोग गरेको’ आरोप लगाएका छन् । सिनेटका डेमोक्रयाट नेता चक सुमरले ट्रम्पले ‘कानुनहीनता’ को स्थिति निम्त्याउन खोजेको आरोप लगाए । सत्तारूढ दलका केही नेतासमेत राष्ट्रपतिको उक्त कदमको विपक्षमा उभिएका छन् ।


मेक्सिकोको सीमाक्षेत्रमा पर्खाल बनाउने ट्रम्पको योजना उनको राष्ट्रपतीय निर्वाचन अभियानको प्रमुखमध्येको एक प्रतिबद्धता हो । त्यसका लागि आवश्यक अर्बौं डलर रकम संसदबाट खर्च जुटाउन असफल भएपछि राष्ट्रपतिले संकटकाल घोषणा गर्न लागेका हुन् ।


अमेरिकी सञ्चार माध्यमहरूका अनुसार ट्रम्पले नयाँ खर्च विधेयकमा हस्ताक्षर गर्ने तर संसद्लाई छलेर सैनिक बजेटको केही अंश पर्खाल निर्माणमा लगाउने योजना बनाएका हुन् । हाइटहाउस प्रवक्ता सराह हकाबी स्यान्डर्सले विज्ञप्तिमार्फत ‘राष्ट्रपतिले चुनावीे वाचा पूरा गर्दै पर्खाल निर्माण गरी सीमा सुरक्षित राख्ने र देशको सुरक्षा गर्नेतर्फ लाग्नुभएको’ बताइन् ।


अमेरिकी सिनेटले एक अर्ब ३ करोड डलर बराबरको खर्च विधेयक पारित गरिसकेको छ । विधेयक लागू हुनुअघि तल्लो सदनले पारित गर्नुपर्छ । हाउस अफ रेप्रिजेन्टेटिभ्समा डेमोक्रयाटहरूको बहुमत छ । संसद्बाट पारित भए पनि विधेयकमा राष्ट्रपतिले हस्ताक्षर गर्नेछन् ।


विपक्षी दल डेमोक्रयाटहरूले राष्ट्रपति ट्रम्पको मागअनुसार मेक्सीको सीमाक्षेत्रमा पर्खाल बनाउन ५ अर्ब ७ करोड डलर बजेट छुटयाउन अस्वीकार गर्दै आएका छन् । संकटकालको घोषणा गरेपछि आफ्ना योजनामा खर्च व्यवस्था गर्न राष्ट्रपतिले अमेरिकी संसदलाई छल्न सक्नेछन् ।


संकटकाल घोषणा भएपछि राष्ट्रपति ट्रम्पले हाल सेना वा विपद् व्यवस्थापनका लागि छुटयाइएको बजेट पर्खाल निर्माणमा खर्च गर्न पाउँछन् तर विपक्षी दल तथा केही सत्तापक्षका नेताले राजनीतिक प्रक्रियालाई बलमिच्याइँ गर्ने र संकटकाल घोषणा गर्ने ट्रम्पको योजनाप्रति आपत्ति जनाइरहेका छन् । त्यसकारण ट्रम्पले संकटकाल घोषणा गरे पनि त्यसलाई अदालतमा चुनौती दिइने र त्यो प्रभावकारी नहुने संकेत देखिएका छन् ।

प्रकाशित : फाल्गुन ४, २०७५ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?