कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कश्मीर आक्रमणका योजनाकार मारिए

भिडन्तमा ४ सैनिकसहित २ विद्रोहीको मृत्यु
एजेन्सी

नयाँदिल्ली — भारत प्रशासित कश्मीरको पुलवामामा गत साता भएको आक्रमणका योजनाकारको मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।

कश्मीर आक्रमणका योजनाकार मारिए

सोमबार पुलवामामा भएको भिडन्तका क्रममा प्रमुख गत साता भएको आक्रमणका योजनाकार अब्दुल रासिद गाजीसहित अर्का एक सन्दिग्धको मृत्यु भएको सैनिक स्रोतले जनाएको हो । घटनामा ४ सैनिक र एक सर्वसाधारणको ज्यान गएको छ । मारिनेमा सेनाका मेजर र ३ सिपाही छन् ।


भारतीय सेना र अर्धसैन्य बलका सुरक्षाफौजले पुलवामा क्षेत्रमा संयुक्त सुरक्षा कारबाही गरेको हो । लडाकुहरू लुकेर बसेको सूचना पाएपछि गरिएको कारबाहीका क्रममा उनीहरूको मृत्यु भएको सेनाले जनाएको हो ।


स्थानीयका अनुसार सोमबार बिहान पुलवामामा क्षेत्रमा गोली हानाहानको आवाज सुनिएको थियो । त्यसलगत्तै सुरक्षाकर्मीले गाउँलेलाई घरभित्रै बस्न आग्रह गरेका थिए । घटनालगत्तै पाकिस्तानले भारतस्थित राजदूतलाई बोलाएको जनाइएको छ । भारतले बिहीबारको आक्रमणपछि नै राजदूतलाई बोलाएको थियो । भारतले उक्त आक्रमणमा पाकिस्तानको हात रहेको आरोप लगाएको थियो । तर पाकिस्तानले भने आरोपको खण्डन गरेको छ ।


कश्मीरको पुलवामामा गत बिहीबार भारतीय अर्धसैनिक बल सीआरपीएफको गाडीलाई लक्षित गरी भएको कार विस्फोटनमा ४६ को मृत्यु भएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार उक्त घटनामा संलग्न लडाकु खोज्न सुरक्षा फौजले अभियान सुरु गरेको हो ।


आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थ भरिएको एउटा गाडी सीपीआरएफका सुरक्षाकर्मी बोकेका गाडीका लस्करमा लगेर ठोक्काएका थिए । आक्रमणकारी १९ देखि २१ वर्ष उमेर भएका स्थानीय कश्मिरी युवा भएको भारतीय सुरक्षाकर्मीले दाबी गरेका थिए ।


पाकिस्तानमा सञ्चालित लडाकु समूह जैस–ए–मोहम्मदले आक्रमण आफूले गराएको जनाएको छ । सन् १९४७ मा स्वतन्त्रतासँगै भारत र पाकिस्तान विभाजन भएका थिए । तर दुई देशबीच हालसम्म पनि सीमा विवाद जारी छ । दुवै देशले कश्मीरमाथि दाबी गर्दै आएका छन् ।


गत बिहीबारको आक्रमण सन् १९८९ यताको घातक हो । उक्त घटनापछि भारतका मुख्य सहरमा पाकिस्तानी प्रधानमन्त्री इमरान खान र जैस–ए–मोहम्मद प्रमुख मैसुद अजहरविरुद्ध प्रदर्शन गरिँदै आएको छ ।


आक्रोषित भीडले खासगरी कश्मीरका विद्यार्थी तथा व्यवसायीलाई लक्षित गरी आक्रमण गर्ने गरेका छन् । बिहीबारको घटनापछि भारत प्रशासित कश्मीरमा टेलिफोन सेवा काटिएको छ भने भारतले पृथकतावादी ५ नेतालाई दिँदै आएको सुरक्षा सेवा हटाइसकेको छ ।


भारत प्रशासित कश्मीरमा भारतीय सेनाले सन् २०१६ मा लोकप्रिय विद्रोही नेता मारिदिएपछि हिंसात्मक घटनामा वृद्धि भएको हो । हालैका दिनमा उल्लेख्य युवाहरू विद्रोही समूहमा आवद्ध हुन थालेका छन् ।


यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीर घटनामा पाकिस्तान मुख्य जिम्मेवार रहेको आरोप लगाउँदै कडा जवाफ दिने बताएका थिए । उनले भारतलाई अस्थिर बनाउने छिमेकीलाई छुट नदिने चेतावनी दिएका थिए । मोदीले पाकिस्तान आतंकवादका कारण संसारभरि एक्लिएको दाबी गर्दै आतंकवादविरुद्ध सबै मानवतावादी शक्ति एक हुनुपर्ने बताएका थिए ।

प्रकाशित : फाल्गुन ७, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?