कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साउदीले पाकिस्तानमा २० अर्ब लगानी गर्ने

एएफपी

इस्लामाबाद — देशको वित्तयी भविष्य सुरक्षित गर्न संघर्ष गरिरहेको पाकिस्तानमा साउदी अरबले २० अर्ब डलर लगानी गर्ने भएको छ । 

साउदीले पाकिस्तानमा २० अर्ब लगानी गर्ने

पाकिस्तानको भ्रमणमा रहेका साउदी युवराज मोहम्मद बिन सलमानले पाकिस्तान भ्रमणका क्रममा लगानी सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार ८ अर्ब डलर पाकिस्तानी सहर ग्वाडरमा तेल प्रशोधनका लागि खर्च गरिनेछ । पाकिस्तानी केन्द्रीय बैंकसँग हाल ८ अर्ब डलर मात्रै विदेशी मुद्रा सञ्चित रहेका कारण भुक्तानी सन्तुलनमा संकटको सामना गरिरहेको छ ।


वैदेशिक मुद्राको सञ्चय गुमाउँदै गएको, आर्थिक घाटा बेहोरिरहेका बेला पाकिस्तानले साउदीबाट उक्त रकम बराबरको लगानी भित्र्याउन सफल भएको हो । पछिल्लो समय भुक्तानी सन्तुलनको गम्भीर संकट व्यहोर्दै आएको देशको खस्कँदो अर्थतन्त्रलाई टेवा दिन उक्त रकम महत्त्वपूर्ण हुने पाकिस्तानले जनाएको छ ।


पाकिस्तानी प्रधानमन्त्री इमरान खानले साउदी अरबले लामो समयदेखि प्रदान गरिरहेको सहयोगका लागि सलमान र साउदी सरकारप्रति आभार प्रकट गरे । उनले भने, ‘पाकिस्तान र साउदी अरबबीचको सम्बन्ध अझ नयाँ उचाइमा पुगेको छ ।’ खान प्रधानमन्त्री भएयता दुई पटक साउदीको भ्रमण गरिसकेका छन् ।


यसअघि इस्लामाबाद उत्रेका सलमानको स्वागतमा २१ तोपको सलामी प्रदान गरिएको थियो । उनलाई प्रधानमन्त्री खान र प्रधानसेनापति जनरल कमार जाभेद बज्वाले स्वागत गरेका थिए ।


सलमान पाकिस्तानको दुईदिने भ्रमण सकेर भारत र चीन पुग्नेछन् । सलमानले एसियाका पाँच देशको भ्रमण गर्ने बताएपछि मलेसिया र इन्डोनेसियाको भ्रमण पछि सारेका छन् । गत अगस्टमा शपथ लिएयता खानले मित्र राष्ट्रहरूबाट सहयोग तथा लगानी भित्र्याउने प्रयास गरिरहेका छन् ।

प्रकाशित : फाल्गुन ७, २०७५ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?