कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साउदी युवराज भारतमा–'आतंकवादविरुद्ध एकसाथ’ 

एजेन्सी

नयाँदिल्ली — साउदी अरबले आतंकवादविरुद्धको लडाइँमा भारतलाई साथ दिने प्रतिबद्धता जनाएको छ । भारतको दुईदिने भ्रमणमा रहेका साउदी युवराज मोहम्मद बिन सलमानले हैदराबाद हाउसमा बुधबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा आतंकवादविरुद्धको मुद्दामा भारतलाई हरतरहले सहयोग गर्न तयार रहेको बताएका हुन् । 

साउदी युवराज भारतमा–'आतंकवादविरुद्ध एकसाथ’ 

‘आतंकवादको मुद्दा भारत र साउदी अरबको साझा समस्या हो, यसलाई समाधान गर्न हामी भारतलाई सहयोग गर्न तयार छौं,’ उनले भने । उनले भारतमात्र नभई आसपासका देशलाई पनि आतंकवादविरुद्ध लड्न सहयोग गर्ने बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरको पुलवामा आक्रमणको विषय उल्लेख गर्दै यो विश्वभर छाएको आतंकवादीको बर्बर निसानी रहेको बताएका थिए । तर वक्तव्यमा साउदी युवराजले पाकिस्तान या पुलवामा दुवै विषय उल्लेख गरेनन् ।

मोदीले आतंकवादलाई समर्थन गर्दै आएका देशविरुद्ध दबाब दिन जरुरी रहेको बताए । ‘अतिवादविरुद्ध मजबुत कार्ययोजना बनाउनु जरुरी हुन्छ, ताकि आतंकवादी शक्तिहरूले युवालाई भ्रममा पार्न नसकून्,’ मोदीले भने, ‘मलाई खुसी लागेको छ, साउदी अरब र हामी यो विषयमा साझा धारणा राख्छौं ।’ भारत र साउदी अरब आतंकवादविरुद्ध, समुद्री तथा साइबर सुरक्षाको क्षेत्रमा अझ बलियो सम्बन्ध बनाउन सहमत भएका छन् ।

साउदी युवराज सलमानले दुई देशबीच हजारौं वर्षको रगतको सम्बन्ध रहेको उल्लेख गर्दै विगत ५० वर्षमा यो सम्बन्ध अझ मजबुत भएको बताए । मोदीले सन् २०१६ मा साउदी अरब भ्रमण गरेको स्मरण गर्दै उनले त्यसयता आफ्नो मुलुकले धेरै सफलता हासिल गरेको बताए ।

साउदी युवराजले भारतलाई ४४ अर्ब डलर सहयोग दिने विषयमा पनि सहमति जनाएका छन् । उनले विभिन्न क्षेत्रमा भारतसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गरे ।

मोदीले साउदी अरबका नागरिकका लागि इ–भिसा जारी गर्ने निर्णय भएको जानकारी दिए । उनले २७ लाख भारतीयहरूलाई हजमा सहभागिताका लागि साउदी अरबलाई धन्यवाद पनि दिए । दुई देशबीचको वार्ताका क्रममा ऊर्जासम्बन्धी सम्झौता भएको छ भने द्विपक्षीय कारोबार वृद्धि गर्न सहमति भएको छ । यस्तै, इन्टरनेसनल सोलार अलायन्सको क्षेत्रमा पनि सम्झौता भएको छ ।

साउदी अरब भारतको चौथो ठूलो साझेदार हो । २०१७/०१८ मा दुई देशबीच १.९५ लाख करोडको वार्षिक कारोबार भएको थियो । साउदी अरबले भारतको कुल मागको १७ प्रतिशत कच्चा तेल र ३२ प्रतिशत एलजीपी ग्यास उपलब्ध गराउँछ ।

यसअघि पाकिस्तान भ्रमणका क्रममा साउदी युवराजले पाकिस्तानलाई २० अर्ब डलर दिने प्रतिबद्धता जनाएका थिए । उनले पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँगको वार्ताफछि जारी संयुक्त वत्तव्यमा भारत तथा पाकिस्तानलाई संवेदनशील मुद्दामा वार्ता गर्न सझुाव दिएका थिए । सलमानले पाकिस्तानको प्रशंसा गर्दै साउदी अरबमा आफू पाकिस्तानको ब्रान्ड एम्बेस्डर रहेको बताएका थिए ।

मोदीले तोडे प्रोटोकल

प्रधानमन्त्री मोदीले मंगलबार राति नयाँदिल्ली ओर्लिएका युवराजलाई स्वागत गर्न प्रोटोकल तोडेर आफैं विमानस्थल पुगे । मोदीले आफ्नो साढे ४ वर्षको कार्यकालमा १२ औं पटक प्रोटोकल तोडेर विदेशी पाहुनाको स्वागत गरेका हुन् ।

मोदीले पालम एयरपोर्टमा युवराजलाई अंकमाल गरेका थिए । त्यतिबेला युवराजले मोदी ‘आफ्नो दाइजस्तै भएको र आफू उनको भाइजस्तै’ भएको बताए ।

प्रधानमन्त्री मोदी प्रोटोकल तोड्दै साउदी युवराजको स्वागतमा सहभागी भएकोमा विपक्षी दल र सामाजिक सञ्जालमा आलोचना भएको छ ।

प्रकाशित : फाल्गुन ९, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?