कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

कश्मिरी बचाउन सरकारलाई आदेश 

रोयटर्स

नयाँदिल्ली — भारतीय सर्वोच्च अदालतले कश्मीरमा हालै भएको आतंककारी आक्रमणपछि भएका प्रतिकारबाट कश्मिरी जनतालाई सुरक्षित राख्न सरकारलाई आदेश दिएको छ । भारत प्रशासित कश्मीरमा गतसाता भएको बम हमलामा करिब ४ दर्जन सशस्त्र फौजको ज्यान गएको थियो ।

कश्मिरी बचाउन सरकारलाई आदेश 

आक्रमणपछि विरोध प्रदर्शनमा उत्रेका भारतीयले कश्मिरी विद्यार्थी तथा व्यवसायीमाथि आक्रमण तथा दुव्यर्वहार गर्ने गरेका छन् ।


बम आक्रमणको पाकिस्तानी आतंकवादी समूह जैस-ए-मोहम्मदले जिम्मेवारी लिएको थियो । त्यसलगत्तै भारतभर सुरु भएका पाकिस्तानविरोधी प्रदर्शन हालसम्म पनि जारी छन् ।

भारतका विभिन्न स्थानमा भएका प्रदर्शन कश्मिरीमाथि लक्षित भएपछि सर्वोच्चले उनीहरुको सुरक्षा गर्न आदेश दिएको हो । अदालतले विभिन्न कश्मिरीहरुको उल्लेख्य उपस्थिति रहेका विभिन्न १० राज्यका सरकारका नाममा उक्त आदेश जारी गरेको हो ।


अदालतले अप्ठेरोमा परेका कश्मिरीले सम्पर्क गर्न सक्ने संयन्त्रबारे व्यापक प्रचारप्रसार गर्नसमेत ती राज्यलाई भनेको छ । भारतका विभिन्न स्थानमा बस्दै आएका कश्मिरीले दायर गरेको मुद्दाको सुनुवाइ गर्दै अदालतले अदालतले उक्त आदेश दिएको हो ।


मुद्दा दायर गर्नेमध्येका एक तेहसिन पुनावालाले भने, 'यो कश्मिरीको मात्र नभई समग्र मानवको चिन्ताको विषय हो । हामी भीडले जवाफ दिने राष्ट्रका नागरिकका रूपमा रहन चाहँदैनौं ।'

अध्ययन, व्यापार तथा अन्य कार्यका लागि भारतका विभिन्न सहरमा रहेका कश्मिरीहरु हालैका दिनमा आफ्नो घर र्फकन थालेका छन् । देहरादूनस्थित एक कलेजका २० छात्रालाई निष्काशनको माग गर्दै विरोध प्रदर्शन गरिएपछि उनीहरु छात्रावासमा ढोका थुनेर बसेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


अन्य दुई कलेजले आगामी शैक्षिक सत्रमा कश्मिरी विद्यार्थी भर्ना नलिने सार्वजनिक सूचना जारी गरेका छन् । 'हामीले कलेजका कश्मिरी विद्यार्थीलाई बचाउन त्यसो गर्न बाध्य भयौं,' कलेजका प्राचार्यले भने ।

देहरादून प्रहरीले भने कश्मिरी विद्यार्थीलाई कलेजबाट निकाल्नुपर्ने मागसहित प्रदर्शनमा उत्रेका २२ जनालाई पक्राउ गरेको जनाएको छ ।


कश्मीर घटनापछि भारत र पाकिस्तानबीच जारी तनाव उत्कर्षमा पुगेका छ । भारतले आक्रमणमा पाकिस्तान जिम्मेवार रहेको आरोप लगाउँदै आएको छ । त्यसको जवाफमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कश्मीर आक्रमणमा आफ्नो देशको संलग्नता पुष्टि गर्न चुनौती दिएका थिए । उनले 'भारतले पाकिस्तानमाथि आक्रमण गरे कडा प्रतिकरा गर्ने' चेतावनी दिइसकेका छन् ।


सन् १९४७ मा स्वतन्त्रतासँगै विभाजन भएदेखि नै दुवै देशले कश्मीर आफ्नो भएको बताउने गरेका छन् । कश्मीर विवादकै कारण उनीहरूबीच विगतमा २ युद्ध भइसकेका छन् । कश्मीर उपत्यका स्वतन्त्रतासँगै पाकिस्तान र भारतमा विभाजित भएको हो । भारत प्रशासित कश्मीरमा भारतीय सेनाले सन् २०१६ मा लोकपि्रय पृथकतावादी नेता मारिदिएपछि हिंसात्मक घटनामा वृद्धि भएको हो ।


प्रकाशित : फाल्गुन १०, २०७५ २१:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?