कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

भेनेजुएला संकट–'शान्तिका लागि सीमा बन्द’

एजेन्सी

काराकस — सीमाक्षेत्रमा जम्मा पारिएको राहत सामग्री रोक्न भेनेजुएलाले कोलम्बियासँगको नाका बन्द गरेको छ । यसअघि भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले ब्राजिलसँगको सीमा बन्द गरेको बताएका थिए । 

भेनेजुएला संकट–'शान्तिका लागि सीमा बन्द’

भेनेजुएलाको राष्ट्रिय निर्वाचक सभाका अध्यक्ष डिओस्डाडो काबेल्लोले देशमा शान्ति स्थापना गर्न छिमेकी मुलुक कोलम्बियासँगको सीमा बन्द गर्नुपरेको प्रतिक्रिया दिएका छन् ।


ताचिरा राज्यमा पर्ने सीमा बन्द गरिएको उनले शनिबार बताएका हुन् । ‘भेनेजुएलामा पूर्ण शान्ति स्थापनाका लागि यस्तो गरिएको हो,’ काबेल्लोले सीमा क्षेत्रको भ्रमणका क्रममा भने ।


‘विभिन्न स्थान शान्त छन्,’ सरकारी उच्च अधिकारीसँग आफूले देशका धेरै ठाउँको भ्रमण गरेको बताउँदै उनले भने, ‘हाम्रो चासो शान्ति, अहस्तक्षेप र स्वतन्त्र राज्यको सम्मान हो ।’ उपराष्ट्रपति डेल्सी रोड्रिगेजले कोलम्बियाली सीमा छोटो समयका लागि बन्द गरिएको बताएका छन् । अमेरिका लगायतका देशले कोलम्बियाको कुकुटा सहरमा जम्मा पारेको सहायता सामग्री रोक्न सरकारले उक्त रणनीति अख्तियार गरेको जनाइएको छ ।


सीमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मीको गोली लागी दुई विपक्षी समर्थकको मृत्यु भएको छ । अमेरिकाले एक विज्ञप्तिमार्फत घटनाको विरोध गरेका छ । ‘भेनेजुएलाको सेनाले राहत सामग्री देशमा लैजान दिनैपर्छ । विश्वले हेरिरहेको छ,’ विज्ञप्तिमा उल्लेख छ । राष्ट्रियसभाका अध्यक्ष तथा विपक्षी नेता खुवान गुआइडोले गत जनवरी २३ मा आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि भेनेजुएलामा राजनीतिक संघर्ष चर्किएको हो ।


भेनेजुएलाको आन्तरिक विवादका कारण विश्व समुदाय विभाजित छ । यद्यपि, अमेरिका लगायतका ५० भन्दा बढी देश गुआइडोको पक्षमा उभिएका छन् । रुस र चीन लगायतले भने मडुरोलाई समर्थन गर्दै आएका छन् ।


भेनेजुएलाका नागरिकलाई खाद्यान्न र औषधिको अभाव भएपछि विभिन्न देशले सहायता सामग्री पठाउने प्रयास गरेका हुन् । संयुक्त राष्ट्रसंघका अनुसार भेनेजुएलामा संकट चुलिएसगै ३२ लाखभन्दा बढी मानिसले खाद्यान्न र औषधिको खोजीमा देश छाडिसकेका छन् । राष्ट्रपति मडुरोले देशमा संकट नभएको दाबी गर्दै आएका छन् । उनले मानवीय सहायता सामग्रीका नाममा अमेरिकाले आफ्नो देशमाथि सैनिक हस्तक्षेपको षड्यन्त्र गरिरहेको बताउने गरेका छन् ।


एक विवादास्पद निर्वाचनपछि राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु गरेका मडुरोविरुद्ध देशव्यापी रूपमा विरोध प्रदर्शन जारी छ । सन् २०१३ देखि सत्तामा रहेका मडुरोले जनतालाई आवश्यक राहत वितरण गर्न आफू तयार रहेको बताउने गरेका छन् ।

प्रकाशित : फाल्गुन १२, २०७५ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?