कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिनियाँ सामानमाथि करबृद्धि स्थगन गर्ने ट्रम्पको घोषणा

रासस/एएफपी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र अमेरिकाबीचको व्यापार वार्तामा 'सन्तोषजनक प्रगति' भएको भन्दै चिनियाँ सामानको आयातमा यसअघि घोषणा गरिएको करबृद्धिको प्रस्ताव स्थगन गर्न लागेको बताएका छन् । 

चिनियाँ सामानमाथि करबृद्धि स्थगन गर्ने ट्रम्पको घोषणा

दुई मुलुकबीचको व्यापार सम्झौताका लागि चिनीया राष्ट्रपति सी चिनफिङसँग शिखर वार्ता हुने अपेक्षा गरिएको पनि राष्ट्रपति ट्रम्पले जानकारी दिए । अर्को दुई साताभित्रै 'निकै ठूलो समाचार' आउने राष्ट्रपति ट्रम्पले बताए ।


वार्तामा थप प्रगति भएमा अमेरिकाको फ्लोरिडास्थित राष्ट्रपति ट्रम्पको मार-ए-लेगो रिसोर्टमा चिनियाँ राष्ट्रपति सीलाई भेट्ने योजना रहेको पनि उनले बताएका छन् ।


आइतबार सम्पन्न भएको चार दिनदेखि वासिङ्टनमा जारी वार्तामा दुई मुलुकका वरिष्ट अधिकारीहरुले भाग लिएका थिए ।


वार्तामा सहमति नभए आगामी मार्च १ तारिखदेखि नै लागू हुनेगरी करीब २०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने राष्ट्रपति ट्रम्पले घोषणा गरिसकेका थिए । तर राष्ट्रपति ट्रम्पले वार्ता निकै सन्तोषजनक रुपमा अघि बढेकाले मार्च १ तारिखको सीमालाई बढाउन आफू तयार रहेको जानकारी दिए ।


'चीनसँग जारी व्यापार वार्ता सकारात्मक रुपमा अघि बढेकामा मलाई खुशी लागेको छ । खासगरी, चीनले बौद्धिक सम्पत्तिको संरक्षण, प्रविधि हस्तान्तरण, कृषि, सेवा, मुद्रा तथा अरु विविध विषय समेतका महत्वपूर्ण संरचनागत मुद्दामा सकारात्मक जवाफ दिएको छ,' ट्रम्पले ट्वीट गर्दै भनेका छन् ।


चीनको सरकारी समाचार संस्था सिन्ह्वाले पनि वार्तामा निकै सकारात्मक प्रगति भएको जनाएको छ । चिनियाँ व्यापार वार्ता प्रतिनिधिमण्डलको नेतृत्व उपप्रधानमन्त्री लिउ हेले गरेका छन् ।


'वार्ता निकै सकारात्मक रुपमा अघि बढेकाले सम्झौतालाई अन्तिम रुप दिन फ्लोरिडामा शिखर बैठकको तयारीमा लागेका छौं,' ट्रम्पले भनेका छन्, 'अमेरिका र चीनका लागि निकै सन्तोषजनक सप्ताहान्त ।'

प्रकाशित : फाल्गुन १३, २०७५ १४:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?