‘मोदीले आश्वासन मात्र बाँडे’

सुरेशराज न्यौपाने

नयाँदिल्ली — विपक्षी भारतीय राष्ट्रिय कंग्रेसकी नवनियुक्त महासचिव प्रियंका गान्धी बाड्राले पहिलो राजनीतिक सम्बोधन गर्दैै मोदी सरकारले ५ वर्षमा ‘खोक्रा आश्वासन मात्र बाँडेको’ आरोप लगाएकी छन्  । भारतको गुजरातमा मंगलबार आयोजित चुनावी सभामा बोल्दै प्रियंकाको ‘किसानका समस्या, बेरोजगारी र महिला सुरक्षालगायतका जनताका मुद्दामा मोदी सरकार मूकदर्शक भएको दाबी गर्दै आगामी चुनावमा त्यसको हिसाब खोज्न मतदातालाई आग्रह गरिन्  ।

‘सबै नागरिकको खातामा पन्ध्र लाख जम्मा गर्ने वाचा गरिएको थियो, सन् २०१४ मा त्यस्तो वाचा गर्नेलाई सोध्नुहोला’ भन्दै गान्धीले मोदी सरकारप्रति व्यग्यंसमेत प्रहार गरिन् । २०१४ को लोकसभा चुनाव प्रचारका क्रममा भारतीय जनता पार्टी (भाजपा) ले सरकारको नेतृत्व सम्हालेपछि विदेशमा रहेको कालोधन फिर्ता ल्याई नागरिकको खातामा १५ लाख भारुका दरले जम्मा गर्ने आश्वासन दिएको थियो ।

महासचिव प्रियंकाले भाजपाको त्यही आश्वासनप्रति व्यंग्य गरेकी हुन् । उनले गुजरातबाटै अंग्रेजविरुद्धको स्वतन्त्रको लडाइँ सुरु भएकोे, प्रेम र सद्भावना, अहिंसाको सन्देश प्रवाह विश्वव्यापी भएको हुँदा अहिले देशभर बगेको घृणाको हावालाई प्रेम र करुणामा बदल्न आवश्यक रहेको समेत बताइन् । कंग्रेसले २३ जनवरीमा गान्धी परिवारकै सदस्य प्रियंकालाई पार्टीको महासचिव नियुक्त गरेको थियो । उनलाई उत्तर प्रदेशको पूर्व क्षेत्र हेर्ने जिम्मेवारी दिइएको छ ।

प्रियंकामा उनकी हजुरआमा तथा भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको झल्को पाइन्छ । त्यही कारण पनि आजको उनको भाषणप्रति विशेष चासो राखिएको थियो । कंग्रेसले मंगलबारको आमसभामा प्रियंकाले भाषण गर्ने विषयलाई गोप्य नै राखेको थियो । त्यसैले पनि प्रियंकाको भाषण गर्ने भएपछि सबैले राजनीतिक वृत्तमा त्यसलाई विशेष चासोका साथ हेरिएको थियो । किनकि एक महिनाअघि नै महासचिव नियुक्त भए पनि उनले चुनावी आमसभालाई भने सम्बोधन गरेकी थिइन् । आफ्नो पहिलो सार्वजनिक भाषणका लागि प्रधानमन्त्री मोदीको गृह राज्यनै छनोट गर्नुलाई पनि गान्धीको राजनीतिक सुझबुझका रूपमा अथ्र्याइएको छ ।

पार्टीकी पूर्वअध्यक्ष सोनिया गान्धी, पूर्वप्रधानमन्त्री मनमोहन सिंहलगायत नेताहरू उपस्थित सभालाई अध्यक्ष राहुल गान्धीलगायतका अन्य वरिष्ठ नेताले समेत सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै अध्यक्ष गान्धीले पनि मोदी सरकारले नोटबन्दी लागू गरेर साना तथा मझौला उद्योगलाई धराशायी बनाएको, रफाल लडाकु विमान प्रकरणमा भ्रष्टाचार गरेको र बेरोजगारी घटनाउन नसकेको आरोप लगाएका छन् । आमसभामा २६ वर्षाीय सामाजिक अभियन्ता तथा गुजरातको पटिदार अनामत आन्दोलन समिति (पास) का संयोजक हार्दिक पटेल औपचारिक रूपमा कांग्रेस प्रवेश गरेका छन् ।

अध्यक्ष गान्धीले पटेललाई पार्टीमा स्वागत गर्दै आगामी चुनावमा जामनगर निर्वाचन क्षेत्रबाट चुनाव लड्नेसमेत घोषणा गरेका छन् । गुजरातमा चार वर्षअघि सुरु भएको पटिदार (पटेल) समुदायले आरक्षणको माग राख्दै आन्दोलबाट हार्दिक राष्ट्रिय चर्चामा आएका थिए । भाषण कलामा निपुण पटेललेको कंग्रेस प्रवेशलाई भाजपाले गुजरातमा कडा टक्करको सामना गर्नुपर्ने देखिन्छ । गुजरातको जनसंख्यामा पटिदार समुदायको हिस्सा १२.३ प्रतिशतभन्दा बढी छ । किनकि सन् २०१७ मा भएको विधानसभामा चुनावमा कंग्रेसले सत्तारूढ भाजपालाई कडा टक्कर दिएको थियो । उक्त चुनावमा भाजपाले ९९ सिट र कंग्रेसले ८१ सिट जितेको थियो ।

निर्वाचन आयोगले सोमबार चुनावको औपचारिक घोषणा गरेसँगै कंग्रेसले प्रचारप्रसारलाई तीव्रता दिएको छ । त्यसैको तयारीका लागि मंगलबार बिहान अहमदाबादमै कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बसेको थियो ।

प्रकाशित : फाल्गुन २९, २०७५ ०९:०८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

९ देशद्वारा उडान स्थगित

बोइङ ७३७ म्याक्स–८ सुरक्षा चासो
चीन, सिंगापुर, बेलायत, अस्टे«लिया, दक्षिण कोरिया, इन्डोनेसिया, मेक्सिको, ब्राजिल र इथियोपियाले बोइङ उडाउन रोके
रोयटर्स

बेइजिङ/लन्डन — बोइङ ७३७ म्याक्स ८ मोडेलको विमान इथियोपियामा दुर्घटनामा परेसँगै विभिन्न देश तथा एयरलाइन्सले यसको उडान रोकेका छन्  । सिंगापुर, अस्टे«लिया, बेलायत र दक्षिण कोरियाले मंगलबार बोइङ ७३७ म्याक्स विमानमार्फत हुने सम्पूर्ण उडान स्थगन गरेका छन्  ।

सिंगापुर, अस्ट्रेलिया, बेलायत र दक्षिण कोरियाले मंगलबार बोइङ ७३७ म्याक्स विमानमार्फत हुने सम्पूर्ण उडान स्थगन गरेका छन् । सिंगापुरको उडड्यन प्राधिकरणका अनुसार पछिल्लो निर्णयसँगै सिल्क एयर, चाइना साउदर्न एयरलाइन्स, गरुडा इन्डोनेसिया, सानडोङ र थाई लायन एयरका उडान प्रभावित भएका छन् । एसियाली देशका उडानलाई युरोप र अमेरिका जोड्ने सिंगापुरको चांगी विश्वकै छैटौं व्यस्त विमानस्थल हो । सिंगापुरको निर्णयलगत्तै अस्ट्रेलिया र दक्षिण कोरियाले बोइङ म्याक्स विमानलाई आफ्नो भूमिमा अवतरणका लागि रोक लगाएका छन् ।


अस्ट्रेलियाको नागरिक उड्डयन सुरक्षा प्राधिकरणले आफ्नो देशमा अवतरण हुने बोइङ म्याक्सको तालिका स्थगित गरेको छ । त्यसैगरी भारतको जेट एयरवेज, मेक्सिको तथा ब्राजिलले पनि विमानको सुरक्षाको प्रत्याभूति नभएसम्म उडान रोक्ने जनँएका छन् ।
यसअघि चीन तथा इन्डोनेसियाले सोमबार नै तत्कालका लागि उक्त विमान सञ्चालनमा रोक लगाइएको जनाएका थिए । इन्डोनेसियाले बोइङ ७३७ म्याक्सका सबै मोडलका जहाज थन्काएको छ भने भियतनामले आइतबारको दुर्घटनाको कारण पत्ता नलागेसम्म जेट विमान उडाउन अनुमति नदिने जनाएको छ । इथियोपियन एयर विमान दुर्घटनासँगै बोइङको सेयरमा मंगलबार १३.५ प्रतिशतले गिरावट आएको छ । समाचार संस्था रोयटर्सका अनुसार बिक्री भएका बोइङ ७३७ म्याक्समध्ये करिब ४० प्रतिशतले उडान स्थगन गरेका छन् ।


चीनको हवाई नियमन निकायले आन्तरिक एयरलाइन्स कम्पनीहरूलाई बोइङ ७३७ म्याक्स ८ मोडेलका विमानको व्यापारिक तथा व्यावसायिक उडान रोक्न सोमबार नै निर्देशन दिएको छ । त्यसलगत्तै ९७ बोइङ चीनका विभिन्न विमानस्थलका ह्यांगरमा छन् ।
चीनको नागरिक उड्डयन प्रशासनले अर्को आदेश नहुँदासम्म सबै ७३७ म्याक्स ८ मोडेलका विमान नउडाउन निर्देशन दिएको हो । प्रशासनद्वारा जारी विज्ञप्तिमा ‘उडान सुरक्षामा भरपर्दो सुनिश्चितता भएपछि मात्र उडान पुनः शुभारम्भ हुने’ उल्लेख छ ।
विज्ञप्तिमा यसबारे अमेरिकी संघीय नागरिक उड्डयन प्रशासन र बोइङसँग परामर्श गरिने जनाइएको छ । अमेरिकी अधिकारीले भने पछिल्लो घटनाबारे अनुसन्धान जारी रहेको भन्दै चीनले कुन सूचनाका आधारमा त्यस्तो निर्णय लिएको हो भन्ने प्रश्न गरेका छन् ।
बोइङ र कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना (कोमाक) ले चीनको झाउसानमा स्थापना गरेको प्लान्टमा ७३७ म्याक्स विमानको भित्री साजसज्जा गर्ने गरिएको छ । कारखानाबाट गत डिसेम्बरमा एयर चाइनाका लागि ७३७ म्याक्स जहाज बिक्री गरिएको थियो । विमान अमेरिकाको वासिङ्टनको रेन्टोनमा एसेम्बल गरिन्छ र भित्री साजसज्जाका लागि झाउसान ल्याउने गरिन्छ ।


विमानको सुरक्षामाथि प्रश्न
वासिङ्टन (एएफपी)– पाँच महिनाभित्र दोस्रो पटक बोइङ ७३७ म्याक्स विमान उडान भरेको छोटो समयभित्रै दुर्घटनामा परेपछि यसको सुरक्षामाथि प्रश्नचिह्न उठेको छ । बोइङ अमेरिकी विमान उत्पादक कम्पनी हो । पछिल्ला दुवै घटनामा विमानका सबै यात्रुको मृत्यु भएको थियो । आइतबार इथियोपियन एयरलाइन्सको बोइङ ७३७ म्याक्स विमान उडेको ६ मिनेटमै खस्दा सबै १५७ यात्रु र चालक दलका सदस्यको मृत्यु भएको थियो । गत अक्टोबरमा लायन एयरले सञ्चालन गरेको विमान दुर्घटनामा १८९ को मृत्यु भएको थियो ।


बोइङको नयाँ मोडेलको विमानको प्राविधिक सुरक्षाबारे सर्वत्र प्रश्न उठेसँगै चीनले ७३७ म्याक्स ८ मोडेलका विमानहरू उडान रोकिसकेको छ । चीन बोइङको महŒवपूर्ण बजार हो । पछिल्लो दुर्घटनाबारे महŒवपूर्ण सूचना दिने भनेकै फ्लाइट डाटा र ककपिटमा भएका कुराकानीको संग्रह गर्ने दुइटा ब्ल्याक बक्स हुन् । यी उपकरणमा भएका सूचनाको विश्लेषण र अध्ययनबाट विमानको प्राविधिक समस्या, पाइलटको गल्ती वा दुर्घटनाका अन्य कारण पत्ता लाग्न सक्छ । ‘पाइलटले उडानमा कठिनाइ भएको र फर्कन चाहेको बताएका थिए । उनलाई फर्कने आदेशसमेत दिइएको थियो,’ इथियोपियन एयरलाइन्सका प्रमुख कार्यकारी टिवोल्डो गेब्रेमारियमले आइतबारको दुर्घटनाबारे अदिस अबाबामा पत्रकारलाई भनेका छन् ।


यद्यपि, टिल ग्रुपका हवाई विज्ञ रिचार्ड आबोउलाफियाले विमानको मोडेलमा समस्या रहेको बताउनु छिटो हुने प्रतिक्रिया दिए ।
‘दुर्घटनाग्रस्त दुवै जहाज एकै मोडेलका हुन् । लायन एयरझैं इथियोपियन एयरलाइन्सको विमान पनि उड्नासाथ दुर्घटना भएको हो । पाइलटले प्राविधिक समस्या आएको खबर गर्नासाथ दुवै विमान दुर्घटना भएका छन् । दुवैमा समान समस्या रहेको प्रस्ट भयो,’ अर्का एक विज्ञले भने । चिनियाँ नागरिक उड्यन अधिकारीहले पनि दुवै ‘भयानाक’ दुर्घटनाबीच समानता देखिएको बताउँदै ‘सुरक्षा सुनिश्चित नभएसम्म यी मोडेलका विमानको उडान रोक्ने’ निर्णय भएको जनाए ।


कम्पनीको वेभसाइटमा उल्लेख भएअनुसार बोइङले ७३७ म्याक्स मोडेलका ७६ जहाज चाइनिज एयरलाइन्सलाई बिक्री गरिसकेको छ भने अन्य १०४ विमान बनाउन आदेश दिइसकेको छ ।

प्रकाशित : फाल्गुन २९, २०७५ ०९:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT