कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिका चीन विवाद : व्यापार वार्ता अप्रिलमा

एपी

फ्लोरिडा — अमेरिका र चीनबीच जारी व्यापार विवाद अन्त्य गर्न आगामी अप्रिलमा वार्ता हुने भएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अनुसार अप्रिल ३ मा अमेरिकामा दुई देशका अधिकारीबीच वार्ता हुनेछ ।

व्यापार सम्बन्ध सुधार प्रयासका लागि अमेरिकी अधिकारीको बेइजिङ भ्रमणपश्चात् दुई देशबीच जारी विवाद टुंग्याउने सहमति भएको थियो ।


वार्तामा चिनियाँ टोलीको नेतृत्व उप–प्रधानमन्त्री लिउ हेले गर्नेछन् । चिनियाँ अधिकारीका अनुसार लिउ नेतृत्वको टोली आगामी साता वासिङ्टन पुग्ने ह्वाइटहाउस स्रोतले जनाएको छ । ह्वाइटहाउस प्रवक्ता सराह हकाबी स्यान्डर्सका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाजर, अर्थमन्त्री स्टेभेन मुनचिन तथा अमेरिकी व्यापार प्रतिनिधि जेफ्रे गेरिसलगायतका उच्च अधिकारीलाई छलफलका लागि यसै साता बेइजिङ पठाउन लागेका छन् । ‘उप–प्रधानमन्त्री लिउ र चिनियाँ अधिकारी अप्रिल ३ गते वासिङटनमा वार्ताका लागि भेट्नेछन्,’ स्यान्डर्सले भनिन् ।


गत वर्ष अमेरिकाले चीनमाथि केही आरोप लगाएपछि दुई शक्तिशाली अर्थतन्त्रबीच विवाद सुरु भएको हो । चीनले आफ्नो देशको प्रविधि लगायत व्यापारसम्बन्धी गोपनीयतालाई चोरी गरेको आरोप अमेरिकाको छ । अमेरिकाले प्रविधिको क्षेत्रमा काम गर्ने अमेरिकी कम्पनी तथा फर्मलाई अनावश्यक दबाबमा राख्ने गरेको दाबी गर्दै अमेरिका आयात हुने चिनियाँ सामानमाथि दुई खर्ब ५० अर्ब डलर बराबरको चिनियाँ सामानमा करवृद्धि गरेको थियो । त्यसको प्रतिक्रियामा चीनले आफ्नो देशमा निर्यात हुने अमेरिकी सामानमा एक खर्ब १० अर्ब मूल्य बराबरको सामानमा करवृद्धि गरेको थियो ।


चीनको वाणिज्य मन्त्रालयले पनि अमेरिकी अधिकारी आगामी बिहीबार र शुक्रबार छलफल गर्ने गरी बेइजिङ आइपुग्ने जानकारी दिएको छ । दुई देशबीचका यसअघिका वार्तामा व्यापार विवाद टुंग्याउने विषयमा उल्लेखनीय प्रगति भएको दुवै पक्षका उच्च अधिकारीले जनाउँदै आएका छन् । यद्यपि, दुई देशबीच हालसम्म कुनै सहमति भने भइसकेको छैन ।

प्रकाशित : चैत्र ११, २०७५ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?