भारतीय लोकसभा चुनाव : खस्कँदै वामशक्ति

सुरेशराज न्यौपाने

नयाँदिल्ली — नेपालमा वामपन्थी शक्तिको बोलबाला रहेका बेला भारतमा वामविचारधारा बोक्ने राजनीतिक दल कमजोर बन्दै गएका छन् । चुनावी परिणामलाई आधार मान्ने हो भने कम्युनिस्ट पार्टीहरूको जनाधार खस्कँदो छ ।

भारतीय लोकसभा चुनावका लागि पार्टीको घोषणापक्र सार्वजनिक कार्यत्रमा कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरीलगायतका नेता । तस्बिर : एजेन्सी 

जसका कारण केन्द्रदेखि प्रदेशसभासम्म यी पार्टीको उपस्थिति पातलिँदै गएको छ । जनाधार र निर्णायक मत नभएकै कारण अन्य राजनीतिक दलले वाम पार्टीसँगको चुनावी तालमेलप्रति चासो कम देखाएका छन् ।

सन् २००४ को लोकसभा चुनावमा कम्युनिस्ट विचारधारा बोक्ने पार्टीहरूको वाम मोर्चाले भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको यूपीए र भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीएपछि सबैभन्दा बढी सिट जितेर सरकार निर्माणमा निर्णायक शक्ति नै बनेको थियो ।
चुनावमा यूपीएले २१८ र एनडीएले १८१ सिट जितेका थिए । दुवैको बहुमत नपुगेपछि वाम पार्टीको तेस्रो सहयोगमा यूपीएले मनमोहन सिंहको नेतृत्वमा सरकार बनाएको थियो ।

जसअन्तर्गत भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी), भारतीय कम्युनिस्ट पार्टी, क्रान्तिकारी समाजवादी पार्टी र अल इन्डिया फरवार्ड ब्लक थिए । यद्यपि, अमेरिकासँगको आवणिक सम्झौतापछि वाममोर्चाले कार्यकाल पूरा हुनुअघि नै मनमोहन सिंह नेतृत्वको सरकार छाडेको थियो ।

कतिपय राजनीतिक विश्लेषकहरूले वाममोर्चाको उक्त निर्णय नै आत्मघाती भएको टिप्पणी गरेका थिए । हुन पनि त्यसपछि वाममोर्चा कहिले पनि सत्तामा साझेदारी गर्ने हैसियत बनाउन सकेन । त्यसपछि सन् २००९ मा भएको चुनावमा वाममोर्चा मात्र २९ सिटमा खुम्चिएको थियो । अघिल्लो चुनावमा ४३ सिट जितेको भारतीय कम्युनिस्ट फार्टी (मार्क्सवादी) एक्लैले २७ सिट गुमाएको थियो । वामशक्तिहरूको ओरालो लाग्ने त्रम सन् २०१४ मा जारी रह्यो । उक्त चुनावमा वाम पार्टीहरूले ११ सिट मात्र जित्न सफल भए ।

लेखक तथा राजनीतिक विश्लेषक परन्जोय गुहा थकुर्ता वाम पार्टीहरू कमजोर हुँदै जानुमा पश्चिम बंगालको तीन दशकभन्दा बढी समयको शासन र विशेष गरी युवाहरूको आकांक्षा र भारतीय राजनीतिमा महत्त्वपूर्ण मानिने जातीय मुद्दालाई बुझ्न नसक्नुलाई जिम्मेवार ठान्छन् । थकुर्ताले भने, ‘एक त पश्चिम बंगालमा उनीहरूले तीन दशकभन्दा बढी लामो समय शासन गरेका थिए । जहाँ सुरुका केही वर्ष राम्रो भए पनि पछिल्लो खण्डमा भ्रष्टाचार र बेथिति व्यापक थियो,’ उनले थपे, ‘त्यसमाथि उनीहरूले युवाहरूको आकांक्षा र जातीय मुद्दालाई कहिल्यै ध्यान दिएनन् ।’

सन् २०१४ को चुनावमा कंग्रेसले इतिहासकै नमीठो हार व्यहोर्नुमा पनि जातीय मुद्दालाई प्राथमिकतामा नराख्नु जिम्मेवार रहेको थकुर्ताको तर्क छ । तर, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का पोलिटब्युरो सदस्य भारतमाम वामशक्तिहरू कमजोर देखिनुमा हन्नान मौल्लाको पश्चिम बंगालको शासन मात्र नभएर पुँजीवादीहरूले विश्वव्यापी रूपमा गरेको दुष्प्रचार बढी जिम्मेवारी रहेको दाबी छ ।

वाम पार्टीहरूको राजनीतिक र सांगठिनक प्रभाव कमजोर बन्दै गएका कारण राजनीति दलहरूले आगामी लोकसभा चुनावमा वाम दलहरूसँगको साझेदारीप्रति चासो देखाउन छाडेका छन् । हुँदाहुँदा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीएलाई पुनः सत्तामा आउनबाट रोक्न विपक्षीहरूको महागठबन्धनको अगुवाइ गरेको भारतीय राष्ट्र कंग्रेसले समेत वाम पार्टीहरूसँगको साझेदारीप्रति त्यति उत्साही देखिँदैन ।

जब कि कंग्रेसले अन्य क्षेत्रीय पार्टीहरूसँग भने विभिन्न राज्यमा चुनावी गठबन्धन निर्माणको पहल जारी राखेको छ । तमिलनाडु, उडिसाका एकाध सिटलाई छाड्ने हो भने वामशक्ति र अन्य दलहरूबीच अन्य राज्यहरूमा चुनावी तालमेल हुने सम्भावना न्यूनप्रायः छ ।

वामशक्तिहरूको सबैभन्दा ठूलो प्रभाव मानिएको पश्चिम बंगालमा लामो समयको कसरतका बाबजुद पनि यी दुई राजनीतिक शक्तिबीच तालमेलको सिट बाँडफाँडमा सहमति हुन सकेको छैन । जब कि भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरी र भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीबीच विगत लामो समयदेखि पश्चिम बंगालमा चुनावी तालमेलका लागि छलफल हुँदै आएको थियो ।

विशेषगरी रायगंज र मुर्सिदावाद सिटमा सहमति नहुँदा कंग्रेस र बाम पार्टीहरूको बीच चुनावी तालमेल धरापमा परेको बताइएको छ । सहमतिको सम्भावना टर्दै गएपछि कंग्रेसले एकतर्फी रूपमा राज्यको ४२ लोकसभा सिटमध्ये ३६ सिटमा उमेदवार नै घोषणा गरिसकेको छ । हुन त कंग्रेस र वाम पार्टीहरूले अझै पनि आधिकारिक रूपमा चुनावी तालमेल नहुने बताएका छन् ।

बिहार, उत्तर प्रदेश, महाराष्ट्र, केरला, झारखण्डलगायत राम्रै जनाधार भएका राज्यमा पनि अन्य दलहरूले वामपार्टीसगको चुनावी तालमेललाई नकार्दैथालेका छन् । बिहारमा त भारतीय कम्युनिस्ट पार्टी (सीपीआई) ले चर्चित विद्यार्थी नेता कन्हैया कुमारका लागि एक मात्र सिट दाबी गरेकोमा विपक्षी महागठबन्धनले त्यसलाई पनि नकारिदिएको छ । त्यसपछि पनि सीपीआईले बिहारको बेगुसरायबाट कन्हैयालाई उमेदवार भने बनाइछाडेको छ ।

महराष्ट्रमा पनि त्यस्तै अवस्था छ । सीपीएम र सीपीआईको समर्थनमा गत महिना मुम्बईमा अहिलेसम्मकै ठूलो किसान र्‍याली निस्केको थियो । तर, विपक्षी गठबन्धन दल राष्ट्रवादी कंग्रेस पार्टी (एनसीपी) ले वाम दलले दाबी गरेअनुसारको एक सिटसमेत दिन अस्वीकार गरेको छ । एनसीपीको उक्त निर्णयपछि सीपीआई (एम) एक्लै उमेदवारी दिने घोषणा गरिसकको छ । उत्तर प्रदेश र झारखण्डमा पनि त्यस्तो अवस्थाको सामना गर्नुपरेको छ, वाम दलहरूले ।

वामपार्टीका नेताहरू भने चुनावका लागि देशव्यापी तालमेल विगतमा पनि नभएको हुँदा यसपटक नहुनुलाई अन्यथा मान्न नमिल्ने बताउँछन् । मौल्लाले भने, ‘राष्ट्रियस्तरमा कहीँ पनि चुनावी तालमेल भएको छैन । चुनावअघि गठजोड भएको छैन । चुनावपछि सरकार बनाउने बेला सबै पार्टी मिलेर एजेन्डाका आधारमा साझा धारणा बन्ने गरेको छ ।’

राजनीतिक विश्लेषक कुतार्थाले पनि कंग्रेस र वामपन्थी दुवैका लागि सन् २०१४ को नतिजा सबैभन्दा निराशाजनक रहेको हुँदा आगामी चुनावमा गुमाउने सुधारको सम्भावना रहेको बताए ।

प्रकाशित : चैत्र १७, २०७५ ०८:१९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

'आप्रवासी नरोके मेक्सिको सीमा बन्द’

एजेन्सी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका छिर्न खोज्ने आप्रवासी रोक्न थप कदम नचाले मेक्सिकोसँगको सीमा बन्द गर्ने चेतावनी दिएका छन् । राष्ट्रपतिले भनेजस्तै दुई देशबीचको सीमा बन्द गरिए आवतजावत अवरुद्ध हुनुका साथै अर्बौं डलरको व्यापार खर्च बढ्नेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प (बीच) फ्लोरिडा भ्रमणका क्रममा राज्यका गभर्नर रन डेसान्टिस तथा सिनेटर मार्को रुबिनोलगायत नेताहरूसँग । तस्बिर : एपी

मेक्सिको नाका हुँदै अमेरिका छिर्ने आप्रवासीको संख्या बढिरहेका बेला राष्ट्रपति ट्रम्पले पछिल्लो चेतावनी दिएका हुन् ।

मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल ओब्राडोरले सीमा विवादको विषयमा आफू मुठभेडमा नउत्रने प्रतिक्रिया दिएका छन् । मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले आफ्नो देश अमेरिकाको ठूलो छिमेकी भएको र चेतावनीका आधारमा कदम नचाल्ने भन्दै ट्वीट गरेका छन् ।

राष्ट्रपति ट्रम्पले पत्रकारसँग भने, ‘आगामी साता मैले सीमा बन्द गराउँछुजस्तो देखिन्छ र त्यो मेरा लागि उचित हुन्छ ।’ ट्रम्पका अनुसार मेक्सिकोले अमेरिका छिर्न खोज्ने आप्रवासीलाई नगरेको दाबी छ । त्यसपछि ट्रम्पले शृंखलावद्ध ट्वीट गर्दै लागूऔषध तस्करी रोक्न ठूलो रकम खर्चनुको साटो सीमा बन्द उपयुक्त हुने जनाए ।

राष्ट्रपति ओब्राडोरले मेक्सिकोबाट नभई मध्य अमेरिकी देशका कारण आप्रवासी समस्या भएको जनाउँदै ‘आप्रवासीसम्बन्धी विषय मेक्सिकोसँग निर्भर नभएको’ दाबी गरे । उनले भने, ‘मेक्सिकोका जनताले अब अमेरिकामा काम खोज्दैनन् । अधिकांश आप्रवासी मध्य अमेरिकी देशका बासिन्दा हुन् ।’

ट्रम्पका ट्वीटको प्रतिक्रियामा ओब्राडोरले आफ्ना समर्थकहरूमाझ भने, ‘हामी अमेरिकी सरकारसँग झगडा गर्ने पक्षमा नरहेको म स्पष्ट पार्न चाहन्छु । शान्ति र माया ।’ उनले आप्रवासन मानव अधिकार भएको बताए । ‘मध्य अमेरिकी देशका नागरिकसँग कुनै विकल्प नभएकाले उनीहरू बाँच्ने उपाय खोज्छन् ।’

आन्तरिक सुरक्षामन्क्री त्रिस्टन निएल्सनले एल साल्भाडोर, होन्डुरस र ग्वाटेमालामा पछिल्लो समय बढ्दै गएको हिंसापछि विस्थापित आप्रवासी सम्हाल्न सीमा सुरक्षा कर्मचारीलाई हम्मेहम्मे परिरहेको बताएकी छन् ।

मन्त्रालयले मार्चमा पक्राउ पर्ने गैरकानुनी आप्रवासीको संख्या लाखभन्दा बढी हुने अनुमान गरेको छ । मन्त्रालयका अनुसार नियन्त्रणमा लिइएका एक हजारभन्दा बढी बालबालिका आमाबुवाको साथमा छैनन् । नियन्त्रणमा लिइएका ६ हजार ६ सय आप्रवासीको हेरचाहमा समस्या उत्पन्न भएको निएल्सनको भनाइ छ ।

निएल्सनले सीमा बन्द गरिए त्यसको ठूलो आर्थिक असर पर्ने चेतावनी दिइन् । उनका अनुसार पर्यटन र दुई देशबीचको व्यापार निकै प्रभावित हुनेछ । मेक्सिकोको टिजुआनास्थित सीसीई ग्रुपका व्यवासाय प्रमुख कुर्त होनोल्डले खर्बौं डलर बराबरको नोक्सान पुग्ने बताए । अमेरिकी तथ्यांकअनुसार गतवर्ष दुई देशबीचको व्यापार ६ सय १२ अर्ब डलर बराबरको थियो ।

सन् २०१६ को राष्ट्रपतीय चुनावको अभियानका क्रममा ट्रम्पले गैरकानुनी आप्रवासीमाथि कडाइ गर्ने बताएका थिए । मेक्सिकोले सीमाबाट ‘लागूऔषध, अपराध र बलात्कारी’ अमेरिका भित्र्याएको उनको आरोप थियो । यद्यपि, सीमा क्षेत्रमा पर्खाल निर्माण गर्ने राष्ट्रपतिको वाचा कंग्रेसले बजेट दिन अस्वीकार हुन सकेको छैन । आफ्नो मागअनुसार कंग्रेसले बजेट नदिएपछि ट्रम्पले राष्ट्रिय संकट घोषणा गरिसकेका छन् ।

गतसाता अमेरिकी रक्षा मन्त्रालयले सीमा पर्खालका लागि १ अर्ब डलर रकम छुट्ट्याएको जनाइसकेको छ । यद्यपि, उक्त रकम पर्खाल निर्माणका लागि निकै कम हो । ट्रम्पले बिहीबार मिचिगनमा आयोजित र्‍यालीमा भने, ‘सीमा बन्द गर ।’ तर मेक्सिकोका राष्ट्रपति ओब्राडोरले शुक्रबार पत्रकारसँग भनेका छन्, ‘आप्रवासीको लस्कर र यससँग सम्बन्धित विषय राजनीति र अमेरिकी चुनावी अभियानसँग सम्बन्धित छन् । त्यस कारणमा म यसमा फस्दिनँ ।’

प्रकाशित : चैत्र १७, २०७५ ०८:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT