कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पेरिसको शोभा आगलागीले स्वाहा

विश्वप्रसिद्ध नोट्र–डाम गिर्जाघरको भीषण आगो १५ घण्टापछि नियन्त्रणमा, पुनर्निर्माणका लागि करोडौं डलरको प्रतिबद्धता

पेरिस — एजेन्सी विश्व सम्पदा सूचीमा रहेको फ्रान्सको पेरिसस्थित ८ सय ५० वर्ष पुरानो विश्वप्रसिद्ध गिर्जाघर नोट्र–डाममा लागेको आगो १५ घण्टापछि नियन्त्रणमा लिइएको छ । स्थानीय समयअनुसार सोमबार साँझ साढे ६ बजे लागेको आगो मंगलबार बिहान १० बजे नियन्त्रणमा लिइएको हो । 

पेरिसको शोभा आगलागीले स्वाहा

आगलागीबाट गिर्जाघरको शिखर र छाना पूर्ण नष्ट भएका छन् । ढुंगाले बनेको मुख्य संरचना भने सुरक्षित रहेको पेरिसका अग्नि नियन्त्रक प्रमुख जाँ क्लाउड ग्यालेटले बताएका छन् । उनले गिर्जाघरको दुई तिहाइ छत नष्ट भएको बताए । पेरिसका उपमेयर इम्यानुअल ग्रेगरका अनुसार आगलागीका कारण गिर्जाघरमा व्यापक क्षति पुगेको छ । त्यहाँ रहेका बहुमुल्य कलाकृति र अन्य सामग्रीलाई बचाउने प्रयास गरिरहेको उनले बताएका छन् ।


गिर्जाघरको भित्री काष्ठकला जलेर ध्वस्त भएको छ भने महत्त्वपूर्ण सम्पदाको रूपमा रहेको गुलाफी झ्यालको अवस्था भने प्रस्ट भइसकेको छैन । आपत्कालीन समूहले गिर्जाघरमा रहेका केही महत्त्वपूर्ण सम्पदालाई सुरक्षित राख्न सफल झएको छ । येशु क्रिस्टले त्रुसमा चढ्नुअघि लगाएको विश्वास गरिएको काँडा भएको मुकुट (क्राउन अफ थ्रोन्स) सुरक्षित राखिएको छ । सम्पदा तथा मुख्य संरचना जोगाउन करिब ४ सय अग्नि नियन्त्रक रातभर जुटेका थिए ।


पेरिसका महान्यायाधिवक्ताले घटनाको अनुसन्धान सुरु गरिसकेको बताएका छन् । अधिकारीका अनुसार यो घटनालाई सम्भावित आतंकवादी घटनासँग पनि जोडेर अनुसन्धान भइरहेको छ ।


हजारौं पेरिसवासी र पर्यटकहरूले गिर्जाघरनजिकको सडकमा बसेर त्रसित मुद्रामा आगलागीको बितण्डा हेरेका थिए । आगोको लप्काले गिर्जाघरको छाना र शिखर ढाल्दा सडकमा उपस्थित मानिसले ‘हे भगवान्’ भन्दै चिच्याएका थिए ।


‘नोत्रे–दम सबै कालखण्डका भयानक युद्ध र बमबारीबाट जोगिएको थियो । हामीले कहिल्यै यसरी आगोमा जलेर नष्ट होला भन्ने सोचेका थिएनौं । म आज अति दु:खित छु र आफूलाई रित्तो अनुभव गरिरहेको छु,’ आगलागीको दृश्य हेरेका स्टेफानी साइगनुरीले भने । इतिहासकारले पनि भवनमा पुगेको क्षतिले दु:खी भएको बताएका छन् । ‘पेरिस आइफेल टावर हो भने फ्रान्स नोत्रे–दम हो । यसले फ्रान्सको समग्र संस्कृति र इतिहासको प्रतिनिधित्व गर्दछ,’ लेखक एवं धार्मिक इतिहासकार बर्नार्ड लेकोप्टेले भने । नोट्र–डामको पुनर्निर्माणका लागि रकम संकलन अभियान सुरु भएको छ । मंगलबार नै कम्तीमा पनि ३ करोड ३९ लाख डलर सहयोग घोषणा भएको छ । फ्रान्सेली अर्बपति फ्रान्सिस हेन्री पिनाल्टले १ करोड १३ लाख डलर सहयोगको घोषणा गरेका छन् भने अर्का अर्बपति बर्नार्ड आर्नोल्ट र उनको एलभीएमएच समूहले २ करोड २६ लाख डलर सहयोग दिने भएका छन् । ‘आर्नोल्ट परिवार र एलभीएमएच समूह यस राष्ट्रिय शोकको घडीमा ऐक्यबद्धता प्रकट गर्न चाहन्छ र फ्रान्सेली सम्पदा तथा एकताको प्रतीकका रूपमा रहेको यस गिर्जाघरको पुनर्निर्माणमा सहयोगका लागि सहभागी भएको छ,’ उक्त समूहले विज्ञप्तिमा भनेको छ । फ्रेन्च च्यारिटी फाउन्डेसन डु प्याट्रिमोनले गिर्जाघरको पुनर्निर्माणका लागि रकम संकलन गर्न अन्तर्राष्ट्रिय अपिल गरेको छ ।


स्ट्रासवर्गस्थित युरोपेली संसद्मा मंगलबारै बसेको युरोपेली युनियनको बैठकले चर्चको पुनर्निर्माणका लागि सम्पूर्ण युरोपले योगदान दिने निर्णय गरेको छ । युरापेली संसद्का प्रमुख एन्टोनियो ताजानीले सबै ७ सय ५१ सदस्यलाई एक दिनको तलब दिन आहृवान गरेका छन् । यस्तै, भ्याटिकनले पोप फ्रान्सिसले फ्रान्सेली क्याथोलिक्स र पेरिसबासीका लागि प्रार्थना गरेको जनाएको छ । बेलायती महारानी एलिजावेथ द्वितियाले राष्ट्रपति म्याक्रोंलाई पत्र लेख्दै यो अप्ठेरो परिस्थितिमा आफ्नो विचार र प्रार्थना चर्चसँग सम्बन्धित र सम्पूर्ण फ्रान्सेलीसँग रहेको बताएकी छन् । केही समयदेखि गिर्जाघरका ढुंगा चर्कन थालेपछि भत्कन सक्ने आशंकामा जीर्णोद्धार थालिएको थियो । आगलागीको एक कारण पनि जीर्णोद्धार नै भएको आशंका गरिएको छ ।


घटना यसरी भयो

पहिलो पटक स्थानीय समयअनुसार १८.२० बजे नोट्र–डामका सुरक्षा गार्डले आगलागीको पहिलो अलार्म पाएका थिए । तत्काल गिर्जाघर खाली गराएर निरीक्षण गर्दा आगो फेला परेन । दोस्रो पटक १८.४३ बजे अलार्म बज्यो । त्यसपछि आगो देखियो र तत्काल अग्नि नियन्त्रकलाई खबर गरियो । तर आगो तत्काल गिर्जाघरको छतमा पुग्यो र चाँडै फैलियो । आगो मंगलबार बिहान स्थानीय समयअनुसार १० बजे नियन्त्रणमा आएको घोषणा गरियो । आगो निभाउने क्रममा एक अग्नि नियन्त्रक घाइते भएका छन् ।


पुनर्निर्माण गर्ने राष्ट्रपतिको प्रतिबद्धता

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले नोट्र–डाम गिर्जाघर पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । उनले मुलुकको आत्माका रूपमा रहेको ऐतिहासिक गिर्जाघरलाई पुनर्निर्माणको प्रतिबद्धता जनाएका हुन् । ‘सम्पूर्ण देशबासीझैं म आज निकै दु:खी छु, हाम्रो एक हिस्सा जलेको देखेर मलाई निकै गार्‍हो भइरहेको छ,’ उनले भने ।

प्रकाशित : वैशाख ४, २०७६ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?