भारतमा भीषण हावाहुरी कम्तीमा ७८ को मृत्यु

एजेन्सी

नयाँदिल्ली — भारतका विभिन्न राज्यमा आएको भीषण आँधी र चट्याङले बुधबार कम्तीमा ७८ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी राजस्थान र उत्तर प्रदेश प्रभावित भएका छन् ।

स्थानीय सञ्चार माध्यमका अनुसार राजस्थानमा चट्याङले चार बालबालिकासहित ११ को ज्यान गएको छ । भारतको गुजरात र अहमदावाद राजकोट, पटनालगायत अन्य कैयौं जिल्ला आँधीबाट प्रभावित छन् । भारतको मौसम तथा जलवायु विभागले बिहीबार देशका अधिकांश भागमा भारी वर्षा हुने अनुमानगरेको छ ।

भारतका मध्यक्षेक्रमा धूलोसहितको शत्तिशाली हावाहुरी र भारी वर्षाले तरकारी र गहुँ खेतीमा क्षति पुगेको छ । मध्य प्रदेश र राजस्थानका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यत्त गरेका छन् ।

ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहतस्वरूप २ लाख र घाइतेलाई ५० हजार भारु तत्काल दिने घोषणा गरेका छन् ।गत वर्षको वैशाख २० मा पनि यस्तै शक्तिशाली हावाहुरीले राजस्थान र उत्तरप्रदेशमा सय जनाभन्दा बढीले ज्यान गुमाएका थिए ।

प्रकाशित : वैशाख ५, २०७६ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्

बान्नी चौरमा चैतली

वसन्तप्रताप सिंह

बझाङ — छबिस पाथिभेरा गाउँपालिकाको मुम्ला गाउँमा बुधबार बिहान सबै घरका केटाकेटी र वृद्धवृद्धा सुकिला लुगामा ठाँटिएका थिए । परम्परागत पोसाक र गहनामा सजिएका महिला देउडा खेल्न व्यस्त थिए । हातमा काठका घोचा बोकेर गादो (बर्को) भिरेका पुरुषहरू होस्टे र हैंसे गर्दै अजंगको धूपी सल्लाको सिंगै रूख (काँकर) बोकेर मेला स्थलतर्फ बढ्दै थिए । 

काँकर जसै झोडा खेल्ना गाउँमा पुग्यो, मानिसले सिटी र तालीको गडगडाहटका साथ स्वागत गरे । काँकरको तीनतिरबाट मोटो डोरीमा झुन्डिएका मानिसले झन्डै ६० हात लामो रूखलाई तोलेनी खेतमा आधा किमि जति ठाडै हिँडाए ।

काँकर हिँडाएको जोखिमपूर्ण दृश्य सास रोकेर दर्शकले हेरिरहेका बेला एकाएक पुष्पवृष्टि भयो । माथि डाँडाबाट धामीगाउँका स्थानीयले हाहा र हुहु गर्दै त्यस्तै खालको काँकर ल्याइरहँदा तल बसेका दर्शकको ताली र सिटी फेरि गुन्जियो । केहीबेरमा दुवै गाउँका काँकर बिस्ना पुर्‍याइयो ।

दुवै काँकरलाई हातैहातको सहारामा एकसाथ ठड्याएर नाप्ने (काँकर सप्याउने) काम भयो । काँकर सप्याएपछि दुवै टोली एकैसाथ मिसिएर बान्नी मस्टा मन्दिर नजिक पुर्‍याउनै लाग्दा बोहरा गाउँको टोली अर्को काँकर बोकेर त्यहीं आइपुग्यो । बाजागाजासहित आएका ३ गाउँको टोली मिसिँदा बान्नी मस्टा मन्दिर परिसर गुञ्जयमान भयो । सबै मिलेर काँकर मन्दिरमा चढाएपछि देउडाको झक्काझक्की (दोहोरी) सुरु भयो । यो हो, सुदूरपश्चिमको प्रसिद्ध मेला ‘बान्नी चैतली’ को रमाइलो माहोल ।

दुई साताअघि सुरु भएको चैतली मेला हेर्न हजारौं श्रद्धालु तथा दर्शनार्थीले यति बेला छबिस पाथीभेराको बान्नी चौर भरिभराउ भएको छ । जिल्लाभित्र र बाहिरबाट आएका दर्शनार्थी बान्नीको काँकर र बान्नी मस्टाको दर्शन गर्दै देउडामा रमाइरहेका छन् । पश्चिम नेपालकै विशिष्ट परम्परा बोकेको यस मेलामा स्थानीय वेशभूषा र कला संस्कृतिको अवलोकन गर्न विभिन्न जिल्लाका बासिन्दा चैतली पुगेका छन् ।

परापूर्वकालमा महिषासुर दानवले बान्नी मस्टा देवतासँग युद्ध गरी मस्टालाई पासोमा पारेको र उक्त मस्टा दानवको पासोबाट मुक्त गर्नका लागि सुर्मा देवी प्रकट भई महिषासुरको वध गरेको खुसियालीमा बान्नीकी चैतली मेला लाग्ने गरेको जनविश्वास छ । चैत औँसीको दिन सुरु हुने यो मेला चैत शुक्ल पूर्णिमासम्म लाग्ने गर्छ । मेला सुरु भएपछि प्रत्येक रात मन्दिरमा बाजा बजाउने र मस्टाका करियाहरू चोखोनितो भएर व्रत बस्ने गरेको पुजारी देवीराज पण्डितले बताए ।

सुर्मा देवीले भाला प्रहार गरी दानवको वध गरेको प्रतीकका रूपमा चैत औंसीका दिन काटेको काँकर (लिंगो) लाई चैत शुक्ल त्रयोदशीका दिन तोलेनी भन्ने खेतमा हिँडाउने गरिन्छ । झन्डै ३० मिटर लामो काँकरलाई मानिसले समाएर ५ सय मिटर जति हिँडाउने चलन छ । यसरी हिँडाएर ल्याएको काँकरलाई बान्नी मस्टाको मन्दिरमा चढाएपछि राक्षसको टाउकोको भकुन्डो बनाएर सुर्माले खेलेको सम्झनामा तल्लो छबिस र मल्लो छबिसका बासिन्दाबीच भकुन्डो खेल्ने प्रचलन पनि छ ।

३ वटै काँकर बान्नी मस्टा मन्दिरमा नचढाएसम्म कुनै गाउँमा मान्छेको मृत्यु भए पनि लास नउठाउने यहाँको चलन छ । पुजारी पण्डितका अनुसार चैतली मेलाको अवधिमा जिल्ला तथा देशबाहिर रहेका सबै मानिस घर आउनुपर्ने नियम नै छ । काँकर हिँडाएको र भकुन्डो खेलेको हेर्न बझाङ जिल्लालगायत सुदूरपश्चिमका विभिन्न जिल्लाबाट हजारौं मानिस साविक कँडेल गाविसको बान्नी चौर आइपुग्छन् । ‘राक्षसको वध गरिसकेपछि सुर्मा देवीले पेटको छाला निकालेर दमाहा बनाएको र हातका औँलाको नगरा (गजा) बनाई विजय उत्सव मनाएको किंवदन्ती छ,’ पुजारी पण्डितले भने, ‘यही सम्झनामा विभिन्न गाउँका दाइना (दमाहा) जुधाउने गरेको दृश्य यो मेलाको अर्को आकर्षण हो ।’

काठमाडौंका चिन्तन राजभण्डारी पहिलोपटक चैतली मेला देखेर छक्क परे । ‘त्यति ठूलो रूखलाई मान्छेले समातेर हिँडाएको आजसम्म देखेको थिइनँ,’ उनले भने, ‘असाध्यै रमाइलो पनि लाग्यो, डर पनि लाग्यो ।’ बझाङको परम्परागत वेशभूषा पनि अद्वितीय रहेको उनले दाबी गरे ।

पूर्णिमाको दिनसम्म चल्ने यो मेलाको अवसर पारेर गाउँपालिकाले देउडालगायत विभिन्न सांस्कृतिक प्रतियोगिता तथा खेलकुदसमेत गरेको छ । यस्ता कार्यक्रमले खेल क्षेत्रको विकास र स्थानीय संस्कृति प्रवर्द्धनमा पनि सहयोग पुगेको मेला क्षेत्रका वडा अध्यक्ष विकास अयडीले बताए । उनले मेलाको विशिष्टतालाई देश–विदेशमा प्रचारप्रसार गरेर पर्यटनको केन्द्र बनाउन गाउँपालिकाले काम गरिरहेको जनाए ।

चैतली मेलामा देखिएका मानिसको उल्लासपूर्ण सहभागिताले यहाँको संस्कृति प्रवर्द्धन हुने र पर्यटकको आगमन बढ्ने आशा बढेको गाउँपालिका अध्यक्ष अक्कल धामीले बताए । यस वर्ष५० हजारभन्दा बढी दर्शनार्थीले चैतली मेला हेर्ने अनुमान रहेको उनले बताए ।

प्रकाशित : वैशाख ५, २०७६ ०७:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्