कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाकिस्तानी मन्त्रिपरिषद् फेरबदल

एजेन्सी

इस्लामाबाद — पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बिहीबार पहिलोपटक मन्त्रिपरिषद्‌मा व्यापक फेरबदल गरेका छन् । प्रधानमन्त्री भएपछि गठित मन्त्रिपरिषद्‌मा प्रधानमन्त्री खानले पाँच जनालाई मन्त्रिमण्डलमा समावेश गर्नुका साथै चार मन्त्रीको कार्यभार हेरफेर गरेका छन् । 

पाकिस्तानी सञ्चारमन्त्री फवाद चौधरीलाई विज्ञान तथा प्रविधिमन्त्री बनाइएको छ । चौधरीको स्थानमा २०१७ मा पाकिस्तान पिपुल्स पार्टी परित्याग गरी इमरान खानको पाकिस्तान तेहरिक-ए-इन्साफमा प्रवेश गरेका फिर्दोस आशिक अवानलाई ल्याइएको छ ।


२०१० देखि २०१३ सम्म पाकिस्तान पिपुल्स पार्टीका तर्फबाट अर्थमन्त्री डा अब्दुल हाफिज शेखलाई अर्थमन्त्रीको समकक्षको अर्थ सल्लाहकारमा नियुक्त गरिएको छ । यसअघिका अर्थ सल्लाहकार असद उमरले प्रधानमन्त्री खानको प्रस्तावप्रति विमति जनाउँदै राजीनामा गरेका थिए ।


यसैगरी, पूर्वराष्ट्रपति जनरल पर्वेज मुसरफका निकटवर्ती ब्रिगेडियर इजाज अहमद शाहलाई गृहमन्त्री बनाइएको छ । यसअघि उक्त मन्त्रालय प्रधानमन्त्री खानकै मातहतमा राखिएको थियो । गृहराज्य मन्त्री शेहरयार अफ्रिदीलाई प्रदेश तथा फ्रन्टियर मामिलासम्बन्धी राज्यमन्त्री बनाइएको छ । पेट्रोलियम मन्त्री गुलाम सरवार खानलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ । खानले आफूलाई मन्त्रीबाट हटाइए पार्टी परित्याग गर्ने चेतावनी दिएका थिए ।


पछिल्ला केही वर्षदेखि गम्भीर आर्थिक सङट झेल्दै आएको पाकिस्तानले बेइजिङ र रियादबाट १० अर्ब डलर प्राप्त गरेपनि अपेक्षित आर्थिक स्थायित्व आउन सकेको छैन । पाकिस्तानले अन्तरर्राष्ट्रिय मुद्राकोषबाट ८ देखि १० अर्ब डलरको आर्थिक सहायताका लागि प्रयत्न गरिरहेको छ ।

प्रकाशित : वैशाख ६, २०७६ २१:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?