कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भेनेजुएलाका विपक्षी चार नेतामाथि देशद्रोह आरोप 

एजेन्सी

काराकस — भेनेजुएलाको सर्वोच्च अदालतले संसदको विपक्षी दलका ४ नेतालाई देशद्रोहको आरोपमा मुद्दा चलाएको छ । 

अदालतले एक दिनअघि विपक्षी १० नेतालाई पनि देशद्रोह तथा राज्यविरुद्ध षड्यन्त्र गरेको आरोपमा मुद्दा लगाएको थियो । गतसाता विपक्षी दलका एक विधायकलाई पक्राउ गरिएपछि कैयौंले दूतावासमा शरण लिएका थिए ।

मुद्दा चलाइएका सबै नेताहरू विपक्षी नेता खुवान गुआइडोका समर्थक हुन् । गुआइडोले गत जनवरीमा आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरेयता भेनेजुएलामा राजनीतिक संकट जारी छ ।


गत जनवरीमा गुवाइडोले आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेपछि भेनेजुएलामा जारी राजनीतिक संकट थप चर्केको हो । गुआइडोलाई अमेरिका, बेलायत तथा ल्याटिन अमेरिकाका अधिकांश देशसहित ५० भन्दा बढी राष्ट्रको समर्थन छ । राष्ट्रपति मडुरोको पक्षमा रूस, चीन तथा सैनिक नेतृत्व छ । दुवै नेताले आफूहरू देशको वैधानिक राष्ट्रपति भएको दाबी गर्छन् ।


गुआइडोले आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरेसँगै उनको सम्पत्ति रोक्का गरी देश छाड्न प्रतिबन्ध लगाइएको थियो । तर त्यसको अवज्ञा गर्दै यसअघि उनले ल्याटिन अमेरिकी देशको भ्रमण गरेका थिए । त्यसको केही महिनामा उनी स्वदेश फर्केपछि मडुरोविरुद्धको आन्दोलन चर्काएका हुन् ।


अमेरिका र अन्य पश्चिमा देशले समर्थन जनाएका गुआइडो राष्ट्रिय सभाका प्रमुख हुन् । पूर्वराष्ट्रपति ह्युगो चाभेजको मृत्युपछि राष्ट्रपति बनेका मडुरो दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । तर निर्वाचनमा व्यापक धाँधली गरेको प्रतिपक्षको आरोप तथा प्रदर्शनपछि भेनेजुएलाको अर्थतन्त्र क्रमश: ओरालो लागेको हो । मुद्रास्फीति निकै बढेको छ भने औषधि तथा खाद्यान्नको चरम अभाव छ ।


‘अमेरिकासँग वार्ता हुँदैन’

टोकियो - इरानी विदेशमन्त्री जावेद जरिफले अमेरिका र इरानबीच तत्काल वार्ता हुने कुनै सम्भावना नरहेको जनाएका छन् ।


दुई देशबीच पछिल्लो समय देखिएको तनाव कम गर्न वार्ता हुने सम्भावनाबारेको प्रश्नमा जरिफले उक्त प्रतिक्रिया दिएका हुन् । जरिफलाई उद्धृत गरी जापानी समाचार संस्था क्योडोले तत्काल अमेरिकासँग वार्ता हुने सम्भावना नरहेको जनाएका हुन् ।


टोकियोमा जापानी अधिकारीसँगको भेटपछि बिहीबार सञ्चारकर्मीले के इरान वासिङटनसँगको तनाव कम गर्नेबारे वार्ता गर्न खुला छ भन्ने प्रश्नमा जरिफको संक्षिप्त प्रतिक्रिया थियो, ‘तत्काल वार्ताको सम्भावना छैन ।’

प्रकाशित : जेष्ठ ३, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?