अस्ट्रेलियाली आमनिर्वाचन : मरिसन पुनः प्रधानमन्त्री बन्ने 

एजेन्सी

क्यानबेरा — अस्ट्रेलियाको प्रधानमन्त्रीमा स्कट मरिसन पुनः निर्वाचित हुने भएका छन् । उनको नेतृत्वको गठबन्धनले सरकार बनाउनका लागि आवश्यक बहुमत ल्याउने करिब निश्चित भएकाले उनी पुनः प्रधानमन्त्री हुने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

निर्वाचनमा विजयी भएपछि समर्थकमाझ बोल्दै अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसन, साथमा श्रीमती र छोरीहरू । तस्बिर : एपी

निर्वाचन आयोगका अनुसार ७६ प्रतिशत मतगणना सकिँदा मरिसन नेतृत्वको गठबन्धन ७५ सिट विजयी भइसकेको छ । मतपरिणाम सार्वजनिक भएलगत्तै बोल्दै मरिसनले 'आफूले सधैं आश्चर्यमा विश्वास गर्ने' प्रतिक्रिया दिए । विजयी भाषणका क्रममा मरिसनले मतदातालाई धन्यवाद दिंदै आफूले जनताको अपेक्षाअनुसार अघि बढ्ने बताए ।

चुनावी सर्वेक्षणहरूले ५ वर्षमा पहिलो पटक लेबर पार्टीले विजयी हुने देखाएका थिए । तर निर्वाचनमा पराजित भएसँगै विपक्षी दल लेबरका नेता बिल सर्टनले राजीनामा दिइसकेका छन् ।

अन्तिम मतपरिणाम सार्वजननिक नभइसके पनि मरिसन नेतृत्वको लिबरल-नेसनल गठबन्धनले सरकार बनाउने पक्का भइसकेको छ । सरकार गठनका लागि आवश्यक बहुमतका लागि ७६ सिट आवश्यक पर्छ । गठबन्धनले बहुमत पुर्‍याउन केही स्वतन्त्र सांसदको समर्थन जुटाउने जनाइएको छ ।

परिणामअनुसार विपक्षी लेबर पार्टी ६५ सिटमा विजयी भएको छ । अस्टे्रलियामा १ सय ५० प्रतिनिधिसभा सदस्य र माथिल्लो सदन सिनेटका ७६ सिटका लागि चुनाव भएको हो ।

अस्टे्रलियामा बालिगमध्ये ९० प्रतिशतले मतदान गरेका थिए । अनिवार्य भोटिङको व्यवस्था भएकाले कुनै खास कारणबिना मतदानमा सरिक नहुनेलाई जरिवान गर्ने गरिन्छ । प्रत्येक ३/३ वर्षमा आम निर्वाचन हुने गर्छ । तर, पार्टीभित्रको आन्तरिक शक्तिसंघर्षका कारण सन् २००७ यता कुनै पनि प्रधानमन्त्री पूरा कार्यकाल पदमा रहेका छैनन् । ९ महिनाअघि माल्कोल्म टर्नबुलाई विस्थापित गर्दै प्रधानमन्त्री बनेका मरिसनले आफ्नो दल लिबरल र नेसनल पार्टीबीच चुनावी गठबन्धन गरेका हुन् ।

प्रकाशित : जेष्ठ ६, २०७६ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कलामा दबिएका आवाज

सुशीला तामा‌ङ

काठमाडौँ — 'शब्दले भन्दा चित्रले धेरै प्रभाव पार्छ । जति चित्रकलामा विचार र भावना अभिव्यक्त हुन्छ, ती सबै शब्दमा व्यक्त गर्न सकिँदैन,' कलालाई मनको विचार प्रस्फुटन गर्ने माध्यमका रूपमा प्रस्ट्याउँदै थिए ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार ।

राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा जारी नवौं राष्ट्रिय ललितकला प्रर्दशनी अवलोकन गर्दे कलाप्रेमी । तस्विर : बिजु महर्जन/कान्तिपुर

नेपाल आर्ट काउन्सिलमा बिहीबारदेखि जारी 'नवौँ राष्ट्रिय ललितकला प्रदर्शनी' ले यतिबेला कलाप्रेमीको मन तानिरहेको छ । देशैभरिका कलाकारका कृतिमा कतै समाज, कतै धर्म, कतै प्रकृति बोलेको छ भने कतै वर्तमान परिस्थिति बोलिरहेको भान हुन्छ । प्रदर्शनीमा राखिएका महिला कलाकारहरूको 'विमेन्स फ्रिडम', 'प्युरिफिकेसन बाथ' शीर्षकका क्यानभासले महिला विचार र भावना अभिव्यक्त गरेका छन् । कलाकार भावना गोल्डीले उतारेको क्यानभासमा विवाहपछि महिलाले भोग्नुपर्ने चुनौतीलाई दर्साइएको छ ।

वैवाहिक जीवनको शुभारम्भसँगै महिलाले स्वतन्त्रता, अवसर, शिक्षा, समानता, सम्मान, परिचय लगायतका सबै कुराका लागि गर्नुपर्ने संघर्ष कलामा पोखिएको छ । त्यसैगरी महिलाले रजस्वला भएपछि तनमन शुद्धिका लागि तीजको भोलिपल्ट पञ्चमीको दिन दतिवन पानीले नुहाउने परम्परालाई कलाकार जस्मिन राजभण्डारीले कलाकात्मक र सुन्दर ढंगले प्रस्तुत गरेकी छन् ।

आँखाले देखेका र आफूले भोगेका सबै कुराको प्रतिकार गरेर चुनौती दिन सकिँदैन । त्यही मनभित्र रहेका कुण्ठित भाव प्रायः कलाका माध्यमबाट प्रस्फुटन हुने नेपाल कला परिषद्की लोककला विभागीय प्रमुख प्राज्ञ मिथिलादेवी यादव बताउँछिन् । उनी भन्छिन्, 'मेरो कलामा पनि तराईमा व्याप्त रुढीवादी परम्परा र त्यसमा पिल्सिएका नारीहरू नै प्रतिविम्बित छन् ।'

उनको एक क्यानभासमा माछा मार्ने जालभित्र माछा र नवविवाहित महिला संवाद गरिरहेको देखिन्छ । यसबारे यादव भन्छिन्, 'जालमा परेको माछा र विवाहित महिलाको अवस्था उस्तै उस्तै हो । दुवै अरूकै इसारामा चल्नुपर्छ । माछालाई मानिसले समातेर ल्याएपछि इच्छाअनुसार खान्छ । महिलालाई पनि एउटा पुरुषले विवाह गरेर आफ्नो घरमा ल्याएपछि बन्धनमा राख्छ ।स्वतन्त्र हुन दिंदैन । पतिको अनुमतिमा चल्नुपर्छ ।'

प्रदर्शनीमा राखिएका परम्परागत, समकालीन र आधुनिक शैलीका प्रत्येक कलामा विविध विचार प्रस्तुत भएका छन् । कलाकै शैलीमा कार्टुन माध्यमबाट भए पनि कलाकारले मेलम्चीको पानीदेखि लिएर संघीयता, ओली सरकारको पानीजहाज, सडक, साक्षर नेपाल, सुखी जनता समृद्ध नेपालजस्ता पक्षलाई व्यंग्य गरेका छन् । व्यवहारमा देखाउन नसक्ने पक्ष कलामा अभिव्यक्त हुँदा कलाकारमा एक किसिमकोसन्तुष्टि आउने विभागीय प्रमुख यादव बताउँछिन् ।

कलाकृतिले मानिसलाई मोहित पार्नुका साथै उत्तेजना पैदा गर्न सक्ने सामथ्र्य राख्ने उपकुलपति चित्रकार बताउँछन् । उनी भन्छन्, 'कलामा समाजको छाया, विचार र भाव झल्केको हुन्छ । देशको चिनारी कलाले बोकेको हुन्छ ।' देशको कठिन परिस्थितिमा पनि कलामा जति विकास र समृद्ध छ त्यसको तुलनामा कलालाई हेर्ने राज्यको नजरमा भने विकास हुन नसकेकोमा उनी दुःख व्यक्त गर्छिन् ।

प्रदर्शनीमा रहेका परम्परागत शैलीका पौभा, थाङका चित्रले पनि मन लोभ्याउँछ । परम्परागत शैलीका कलामा नयाँ पुस्ताको आधुनिकताको मिश्रण उत्कृष्ट रहेको प्रदर्शनी अवलोकनका लागि आएकास्याङ्जा वालिङका ७९ वर्षीय देवीप्रसाद वनवसीले बताए । नयाँ पुस्ताले आधुनिकता ल्याए पनि परम्परामा टेकेर हिंडेकोमा भने उनलेखुसी माने ।

यात्रुहरू माइक्रो बसमा झुन्डिएको क्यानभासले अहिले आम मानिसले सार्वजनिक सवारी साधनमा भोगेको पीडालाई कलाकार सुरेश बस्नेतले सशक्त रूपमा उतारेका छन् । प्रदर्शनीमा यथास्थितिवाद झल्काउने र अमूर्त शैलीका सबैजसो क्यानभास, मूर्तिकला, चित्रमा सामाजिक, सांस्कृतिक, राजनीतिक, प्राकृतिक भाव व्यक्त भएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको प्रदर्शनीमा देशभरका कलाकारको ५ सय १५ वटा कलाकृति राखिएका छन् । प्रदर्शनी जेठ २२ सम्म जारी रहनेछ ।

प्रकाशित : जेष्ठ ६, २०७६ ०८:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT