अर्बपतिले तिरिदिए ४ सय विद्यार्थीको ऋण

एजेन्सी

जर्जिया — अमेरिकाको जर्जियास्थित मोरहाउस कलेजमा ग्र्याजुएसन कार्यक्रम चलिरहेको थियो । सोमबारको कार्यक्रममा सम्बोधनका लागि मञ्चमा उत्रेका अमेरिकी अर्बपति रोबर्ट फ्रेडरिक स्मिथको घोषणाले विद्यार्थी चकित परे । 

स्मिथको भाषणले कलेजका ४ सय विद्यार्थीको खुसीको सीमा रहेन् । केही वर्षअघिसम्म अन्जानजस्तै यी धनाढ्यका लागि घोषणाले भने उनी निकै चर्चित भए । ५६ वर्षीय धनाढ्यले शैक्षिक सत्र २०१९ मा कलेज अध्ययनका लागि लिएको ऋण तिरिदिने घोषणा गरेका हुन् । उनले ऋण लिएका विद्यार्थीको करिब ४ करोड अमेरिकी डलर तिरिदिने घोषणा गरेका हुन् ।

स्मिथले आफ्नो सहयोगी प्रयासले ‘भिस्टाले विविधता र उत्कृष्टतालाई जोड दिन सघाउन पुर्‍याउने’ जनाए । उनले ‘बुबा-आमा, हजुरबुबा-हजुरआमा तथा अफ्रिकी अमेरिकीको संघर्ष, साहस र प्रगतिका कारण आफू यो स्थानसम्म आइपुगेको’ बताए ।
अमेरिकाका अश्वेतमध्येका सबैभन्दा धनी स्मिथको व्यक्तिगत सम्पत्ति करिब ५ अर्ब डलर छ । उनी निजी लगानी कम्पनी ‘भिस्टा इक्विटी पार्टनर्स’ का संस्थापक हुन् । सफ्टवेअर कम्पनीको व्यवसायमा केन्द्रित भिस्टा करिब ४६ अर्ब डलरको कम्पनी हो ।

जर्जियाको डेन्भर कोर्लोयाडोस्थित अफ्रिकी अमेरिकीको बाहुल्य क्षेत्रमा हुर्केका स्थिमथका बुबाआमा विद्यालयका शिक्षक थिए । विद्यालयमै हुँदादेखि एक विज्ञान अनुसन्धान कम्पनीमा कामका गरेका स्मिथले कोर्नेल विश्वविद्यालयमा रासायनिक इन्जिनियरिङ पढेका हुन् ।

त्यसलगत्तै कोलम्बिया विश्वविद्यालयबाट एमबीए गरेका स्मिथले ‘गोल्डम्यान स्याक्स’ मा काम गरे । त्यसताका एपल र माइक्रोसफ्टजस्ता सूचना प्रविधि कम्पनीसँग काम गरेका स्मिथले सन् २००० मा भिस्टा कम्पनी खोलेका हुन् ।

सार्वजनिक जीवन खासै नरुचाउने स्मिथ आफ्नी पत्नीसहति टेक्सासमा बस्छन् । यसअघि उनले मोरहाउसको छात्रवृत्ति एवं संस्था विकासका लागि १५ लाख डलर सहयोग गरेका थिए । त्यसैगरी, उनले सन् २०१६ अश्वेत तथा महिला इन्जिनियरिङ विद्यार्थीको सहयोगका लागि कोर्नेल विश्वविद्यालयलाई ५ करोड अमेरिकी डलर दिएका थिए ।

प्रकाशित : जेष्ठ ८, २०७६ ०८:५६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

बेलायती मेयरमा नेपाली

नवीन पोखरेल

लन्डन — बेलायतमा नेपालीमूलका डा. जगन्नाथ शर्मा मेयर निर्वाचित भएका छन् । शर्मा नर्थ योर्कसायरको कोलबर्न टाउन काउन्सिल मेयरमा निर्वाचित भएका हुन् । 

मे पहिलो साता कन्जरभेटिभ पार्टीबाट काउन्सिलर निर्वाचित उनी सोमबार काउन्सिलरमाझ भएको मतदानमा करिब दुई तिहाइ मतले मेयर निर्वाचित भए । बेलायतमा नेपालीमूलका दोस्रो मेयर उनी यसअघि उक्त काउन्सिलकोउपमेयर थिए ।

यसअघि सन् २०१६ मा पहिलो मेयर बनेका शंकर गैरेले भने स्वान्ली टाउन काउन्सिलबाटै ‘असहयोग र षड्यन्त्र’ भएको भन्दै ६ महिना नपुग्दै राजीनामा दिएका थिए ।

बेलायती रक्षा मन्त्रालयअन्तर्गत क्याट्रिक ग्यारिसनको डिपार्टमेन्ट प्रमुख सुपरिटेन्डेन्ट डा. शर्मा कोर्लबर्न टाउनमा जातीय अल्पसंख्यक (इथ्निक माइनोरिटी) बाट मेयर बन्ने पहिलो मेयर हुन् ।

पर्वत बिहादी रानीपानीका शर्माको कार्यकाल कम्तीमा एक वर्ष हुनेछ । ‘यसलाई मैले अवसर र चुनौतीका रूपमा लिएको छु,’ उनले कान्तिपुरसँग भने, ‘मेयरका रूपमा स्थानीय मुद्दाजस्तै भौतिक पूर्वाधार समस्या समाधान, मेरो क्षेत्रमा उच्च दक्ष व्यक्तिका लागि उपयुक्त जागिर नहुँदा मानिस अन्यत्र सर्ने समस्या निराकरण गर्न सरकारी निकाय, सांसद एवं काउन्सिलरहरूसँग पहल, समुदायबीच समायोजन आदि मेराप्राथमिकता छन् ।’ उनको क्षेत्रमा ६ हजार ५ सय जनसंख्या छ ।

सन् २००१ मा बेलायत आएका शर्मा सन् २००३ देखि बेलायती रक्षा मन्त्रालयको जागिरमा प्रवेश गरेका थिए । स्पोर्टस् मेडिसिनमा विद्यावारिधि गरेका डा. शर्माको विभागीय व्यवस्थापन र सैनिकहरूलाई घाइते हुनबाट बचाउने एवं बिरामी भएकालाई चाँडो निको पार्ने जिम्मेवारी छ । उनका स्वास्थ्यसम्बन्धी कैयौं जर्नल प्रकाशित छन् ।

पछिल्ला वर्ष बेलायतको स्थानीय राजनीतिमा नेपाली प्रवेश हुने क्रम विस्तारै बढ्दै गएको छ । मे पहिलो साता सम्पन्न स्थानीय निर्वाचनमा करिब आधा दर्जन नेपाली काउन्सिलर पदमा निर्वाचित भएका थिए ।

प्रकाशित : जेष्ठ ८, २०७६ ०८:५६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT