लज्जास्पद हारपछि भारतीय कांग्रेसमा राहुलमाथि राजीनामा गर्न दबाब

सुरेशराज न्यौपाने

नयाँदिल्ली — लोकसभा निर्वाचनमा लज्जास्पद हार व्यहोरेपछि भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीमाथि नेतृत्व छाड्न चौतर्फी दबाब परेको छ । 

स्रोतका अनुसार शनिबार बिहान दिल्लीको अकबर रोडस्थित पार्टी मुख्यालयमा बस्ने केन्द्रीय कार्यकारिणी समिति (सीडब्लुसी) बैठकले चुनावमा पार्टीको हारको समिक्षासँगै राहुलको नेतृत्वसम्बन्धमा पनि निर्णय लिन सक्ने बताइएको छ।

पार्टी स्रोतका अनुसार गान्धी आफू भने राजीनामा दिने मनस्थितिमा रहेको र त्यसको जानकारी आज बस्ने सीडब्लुसीलाई गराउने बताइएको छ। सीडब्लुसीको पार्टीको सर्वोच्च निकाय हो। गान्धीले दुई वर्षअघि पार्टीको नेतृत्व लिएका थिए।

जबकि पार्टी पंक्तिमा अघिल्लो लोकसभा चुनावमा ४४ सिटमा खुम्चिएको कांग्रेसले यसपटक राहुलको नेतृत्वमा राम्रो गर्ने अपेक्षा थियो। तर, त्यसविपरीत पार्टीले देशभरि नै नराम्रो हार व्यहोरेको छ।

केरल र पञ्जावलाई छाड्ने हो भने बाँकी सबै राज्यहरुमा कांग्रेस भारतीय जनता पार्टी (भाजपा) र ऊ नेतृत्वको राष्ट्रिय लोकतानित्रक गठबन्धन (एनडिए) का सामु निरीह साबित भएको छ। बिहीबार भएको १७ औं लोकसभा चुनावको मतगणनामा भाजपा एक्लैले ३०३ सिट जितेको छ। र, भाजपा नेतृत्वको एनडीएले ३५२ सिट जित्न सफल भएको छ। जबकि बहुमतका लागि २७२ सिट भए मात्र पुग्छ।

पाँचवर्ष अघि संसदमा प्रमुख प्रतिपक्षको हैसियत गुमाएको कांग्रेसले यसपटक पनि त्यही नियति भोगेको छ। ५४३ सदस्यी लोकसभामा प्रमुख प्रतिपक्षको हैसियत हासिल गर्न कम्तीमा पनि ५५ सिट ल्याउनु पर्छ। यो चुनावमा पार्टीको अवस्था खासै सुधार देखिएन। यो चुनावमा पार्टीले ५२ सिट मात्र जित्न सफल भयो।

चुनावमा अध्यक्ष राहुल आफै परम्परागत सिट अमेठीबाट पराजित भएका छन्। उनलाई भाजपाकी स्मृति इरानीले पराजित गरिन्। पाँच वर्षको चुनावमा राहुलले १ लाखभन्दा बढी भोटको अन्तरलाई इरानीलाई पराजित गरेका थिएन। राहुल केरलाको वायनाड लोकसभा सिटबाट भने विजयी भएका छन्। राहुलसँगै पार्टीका दर्जनौं हस्तीहरु पराजित भएका छन्। चुनावमा १८ वटा प्रदेश र केन्द्रशासित राज्यमा त खाता समेत खोल्न सफल भएन।

केही महिनाअघि सम्पन्न विधान सभामा सत्तारुढ भाजपालाई विस्थापित गर्न सफल भएका राज्यहरुमा समेत पार्टी नराम्ररी बढारिएको छ। राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा विधान सभा चुनावमा कांग्रेसले जित हासिल गरेको थियो। तीनवटै राज्यमा पार्टीकै नेतृत्वमा सरकार छ। तर, लोकसभा चुनावमा ती राज्यमा समेत नमिठो हार खेपेको छ। कांग्रेसका तर्फबाट चुनावी मैदानमा उत्रिका विभिन्न राज्यका नौजना पूर्व मुख्यमन्त्रीहरुले हारेका छन्।

पार्टीमा परिवारवादको प्रभाव, कमजोर संगठन र केन्द्रमा तय भएका चुनावी मुद्दालाई मतदातासम्म पुर्याउन नसकेका कारण पार्टीको लज्जास्पद हारको प्रमुख कारण ठानिएको छ। यो हार पछि पार्टीभित्र मात्र होइन, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समेत नेतृत्वसँगै संगठन परिचालनको विधिमै कठोर समिक्षा गर्नुपर्ने माग सुरु भएको छ।

चुनावमा नराम्रो हारपछि पार्टी नेतृत्वका लागि पञ्जावका मुख्यमन्त्री अमरिन्दर सिंहको नाम समेत चर्चामा छ। देशव्यापी मोदी र भाजपा लहरका बाबजुद पञ्जावको १३ सिटमध्ये ८ वटा जित दिलाएको भन्दै सिंहले चौतर्फी वाहवाही कमाएका छन्।

प्रकाशित : जेष्ठ ११, २०७६ ०९:१५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

बेसहाराकी आमा

निर्मला खडायत

धनगढी — जेठको प्रचण्ड गर्मीमा आश्रयस्थलमा सहयोग गर्न आएका सबै अतिथिलाई उनले गुलाफको फूल दिएर स्वागत गरिन् । यता अतिथि स्वागत गर्दै थिइन् । अलि पर मानसिक सन्तुलन गुमाएका ६/७ महिला होहल्ला गर्न थाले । उनी ‘झगडा नगर नानी’ भन्दै सम्झाउँदै उनीहरूको छेउमा पुगिन् ।

धनगढीको बुद्धचोकस्थित दृष्टि फाउन्डेसनमा यहि साता आश्रय लिई बसेका मानसिक सन्तुलन गुमाएका महिलालाई सहयोग गर्न केही स्थानीय पुगेका थिए । उनीहरूलाई स्वागत गर्न आफैं उपस्थित थिइन् फाउन्डेसनकी सञ्चालक कल्पना भट्ट । फाउन्डेसनले २२ मानसिक सन्तुलन गुमाएका महिलालाई आश्रय दिदै आएको छ ।

सडकमा बेवारिसे मानसिक सन्तुलन गुमाएका महिलाहरूलाई आश्रय दिने र समाज सेवा गर्ने बाटोमा अघि बढिन् । उच्च शिक्षा अध्ययनका क्रममा उनी काठमाडौंमा कोसिस भन्ने परोपकारी संस्थाबाट प्रभावित भएकी थिइन् । समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर पूरा गरेर जन्मथलो फर्केलगत्तै विवाह गरौं, पढेलेखेकी छोरीले राम्रो जागिर गरेर माइतीको पनि सहारा बन्लिन् भन्ने परिवारको चाहनालाई बेवास्ता गर्दै सामाजिक क्षेत्रमा होमिइन् ।

धनगढीमा मात्रै हैन, राजमार्ग र अन्य जिल्लाका सार्वजनिक ठाउँमा मानसिक सन्तुलन गुमाएर अलपत्र परेका महिला धेरै थिए । तिनीहरूलाई संरक्षण गर्ने सोच उनको मनमा पलायो । केही साथीहरूलाई पनिआफ्नो योजना सुनाइन् । केहीले जुटौं लागौ भन्ने हौसला दिए ।

नगरभित्रै उनले भाडामा सानो घर खोजिन् । ८ महिलालाई ल्याइन् । त्यसका लागि उनीसँग बेग्लै कुनै आर्थिक स्रोत थिएन । तर पनि मागेर ती बेसहाराहरूको छाक समेत टार्ने सुर गरिन् । बेसहाराहरूले आश्रय पाए । ‘आश्रयस्थल स्थापना गरेको दिन निकै खुसी लाग्यो । आफुले पढेलेखेको सार्थक भएको महसुस भयो,’उनले भनिन् ।

सुरुमा साथीहरूबाट पनि कल्पनाले राम्रै सहयोग पाइन् । तर केही महिनापछि टोलका छिमेकीहरूले अवरोध गरे । मानसिक सन्तुलन बिग्रेका महिलाहरूले हल्ला गर्ने गरेको भन्दै छिमेकीहरूले प्रशासन धाउन लगाए । टोलबाट सार्नका लागि अनेकौ दबाव दिए । केही सीप नलागेपछि बुद्ध मन्दिर नजिक स्थापना गरिएको उक्त आश्रयस्थललाई त्यहाँबाट सारे बुद्धचोक नजिक लिन बाध्य भइन् ।

‘टोल छिमेकको रुखो ब्यवहारले सारै दुखी बनायो,’ उनले भनिन्, ‘समाजमा सबै एकै प्रकारका नहुने र राम्रा नराम्रा सबै यही समाजमा रहने भन्दै चित्त बुझाएँ’ उनले भनिन् । हाल २२ जना उनको आश्रयस्थलमा छन् । आश्रय दिने मात्रै हैन, औषधिमूलो पनि गर्दै आएकी छन् उनी । यसक्रममा १४ जनालाई त निको पारेर घर फर्काउन सफल भएको उनले बताउँदै गर्दा उनको मुहारमा खुसी झल्किएको थियो । सहारा घरमा आश्रय लिएर बस्दै आएकी डोटीकी देवीसराले भनिन् ‘यहाँ बस्न पाएकोमा खुसी छु । मैले माया र हेरचाह राम्रो पाएकी छु ।’

एक जना ब्यक्तिले आश्रयका नाममा सडकका महिलाहरूलाई आश्रय दिन कानुनी रुपमा असहज थियो । त्यही असजिलोको समाधान खोज्दै उनले फाउण्डेसन स्थापना गरेकी हुन् । फाउण्डेसन बनाउनु उनको कानुनी बाध्यता भएपनि ‘दृष्टि’ नाम भने आफ्नै रोजाईमा राखिन् ।

अहिले धनगढीमा कसैकसैले जन्मदिन मनाउँदा, विवाह वर्षगाँठ मनाउदा फाउण्डेसनलाई दाल चामल दिने चलन बसेको छ । यसैबाट उनले यहाँ रहेकाहरूको छाक टार्छिन् । मासिक ६६ हजार खर्च हुने गरेको बताउने कल्पना उक्त स्रोत जुटाउन मुठ्ठी दान संकलन गर्ने गरेको बताउँछिन् ।

‘सरकारी सहयोगी निकाय कोही छैनन्’ उनले भनिन् ‘धेरैजसो समय घरघरमा पुगेर मुठ्ठी दान संकलन गर्छु ।’ दृष्टि फाउण्डेसनले गर्ने गरेको काम र यहाँ रहेका बेसहारा महिलाहरूको वारेमा धेरैलाई जानकारी भएपनि सरकारी निकायबाट कुनै सकयोग प्राप्त नभएकोमा उनले चित्त दुखाइन् ।

‘कुनै महिना त सारै गाह्रो पर्छ’ उनले भनिन् । ‘आउन त ठुला नेतादेखि लिएर, सरकारमा रहेकाहरूसमेत आश्रयस्थल अवलोकन गर्न र यहाँ रहेका महिलाहरूको अवस्था बुझ्न आए । ‘आश्वासनका पोका मात्रै छोडेर फर्किए सधै’ उनले सुनाइन् । असहायहरूकै लागि ब्यक्तिगत सुखसयल त्यागेर बसेकी कल्पना कष्ट खेप्नु परेपनि बेसहाराहरूकी आमा बन्न पाएकोमा प्रसन्न रहेको बताउँछिन् । ‘यीनै चेलिहरूकै लागि म मेरो परिवारबाट अलग बसेकी छु’ उनले भनिन् ।

प्रकाशित : जेष्ठ ११, २०७६ ०८:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT