कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नवनिर्वाचित सांसदहरुलाई मोदीको टिप्स

भिआईपी संस्कृति, स्वार्थी समूहबाट टाढा रहन र निर्वाचन क्षेत्रको मात्र नभएर पुरै देशको बारेमा सोच्न आग्रह  
सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै सम्पन्न लोकसभा निर्वाचनमा विजयी सांसदहरुलाई आफ्नो क्षेत्रको मात्र नभएर पुरै मुलुकका बारेमा सोच्न, भिआईपी संस्कृति र स्वार्थ समूहबाट टाढा रहन लगायतका आधा दर्जन ‘टिप्स’ दिएका छन् ।

नवनिर्वाचित सांसदहरुलाई मोदीको टिप्स

शनिबार साँझ संसदभवनमा आयोजित भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्क्रिक गठबन्धन (एनडिए) को संयुत्त संसदीय बैठकमा मोदीले नवनिर्वाचित सांसदहरुलाई त्यस्तो टिप्स दिएका हुन् ।


बैठकमा बोल्दै मोदीले सांसदहरुलाई सञ्चारमाध्यमसँगको सम्बन्ध, स्वार्थ समूहको नियत, व्यक्तिगत आचरणजस्ता विषयमा विशेष सचेत रहन आग्रह गरे । यी विषयमा ध्यान नदिँदा जतिसुकै राम्रो काम गरे पनि त्यसको कुनै अर्थ नरहने उनको भनाई थियो ।


मोदीले मिडियाको आकर्षणमा नपर्न सांसदहरुलाइ विशेष सतर्क गराएका छन् । उनले ‘छापास’ (पत्रपत्रिका) र ‘दिखास’ (टिभि) बाट बच्न सुझाव दिए । देशलाई अनुहार देखाउन पाइन्छ भन्ने लालसामा नपर्न पनि उनले आग्रह गरे । त्यसले नसोचेको संकट निम्त्याउन सक्ने तर्फ पनि सचेत बन्न मोदीको आग्रह थियो । पत्रकारितामा ‘अफ द रेकर्ड’ भन्ने नहुने भन्दै सञ्चारकर्मीको मिठा प्रश्नहरुको भ्रममा नपर्न पनि उनको सुझाव थियो ।


‘दुनियामा अफ द रेकर्ड भन्ने कहिँ हुँदैन, कसको खल्तीमा कुन किसिमको उपकरण हुन्छ थाहा हुँदैन, पछि त्यसैले अप्ठ्यारो पार्छ,’ मोदीले भने । साथै सञ्चारमाध्यमहरुमा प्रतिक्रिया दिँदा पनि तत्काल हतार नगर्न पनि उनको भनाई थियो । त्यसो नगर्दा आफूले भनेको कुराको अनर्थ लाग्ने जोखिमतर्फ पनि सचेत रहनुपर्ने उनले आग्रह थिए । त्यसो नगर्दा जतिसुकै राम्रो काम गरे पनि एउटा मात्र सानो समाचार (घटना) ले पुरै मेहनत खेर जानसक्ने तर्फ पनि विचार पुर्‍याउनु पर्नेमा मोदीको जोड थियो । त्यसका लागि सञ्चारमाध्यमलाई गुनासो गर्नुभन्दा पनि आफ्नो व्यवहार, आचार, बोली बदल्नुपर्ने मोदीको सुझाव थियो ।


त्यसैगरी उनले आफू सांसद भए भन्दैमा रत्तीभर घमण्ड नपाल्न सुझाव दिए । अंहकारले आफ्ना वरिपरिका मानिसहरुलाई टाढा पुर्‍याउने उनको भनाई थियो । त्यसैले आफूभित्रको ‘कार्यकर्ता’ लाई जिवित राख्नुपर्नेमा उनको जोड थियो । ‘अनि हामीहरुलाई एउटा सिमित घेरामा बस्ने बानी पर्दै जान्छ, त्यसैले यसबाट बच्नुपर्छ,’ मोदीले भने ।


मोदीले मान, सम्मानको लोभमा पर्दा आफू पंगु बनिने तर्फ पनि सांसदहरुलाई सचेत गराए । सांसद भन्नासाथ दिल्लीमा एउटा स्वार्थी समूह अनावश्यक सेवा सुविधा उपलब्ध गराउन हरपल तयार रहने हुँदा त्यसबाट टाढा रहन पनि उनले सुझाव दिए । ‘शुरुमा त सबै ठिकै लाग्छ, एक दुई वर्षपछि माक्र थाहा हुन्छ, ती व्यत्तिहरु खेलाडीहरु रहेछन्, त्यतिबेलासम्म आफ्नो बर्वादी भइसकेको समेत थाहा हुँदैन, त्यसैले ठूलोसेवा दिन्छु भनेर आउने सेवाभावीबाट मुक्त रहनुस्,’ मोदीले भने ।


त्यस्ता व्यक्तिहरुसँग एक पटक परिचय भएर नजिक आएपछि त्यस्ता पात्रहरुलाई चाहेर पनि टाढा राख्न नसकिने मोदीले बताए । ‘दिल्लीमा त्यस्तो व्यवस्था छ, जसले एक से एकलाई बर्बाद पार्छ त्यसबाट बच्नुस्,’ उनले भने । उनले आफ्नो निर्वाचन क्षेत्रका इमान्दार कार्यकर्ता जोसँग दशपन्ध्र वर्षको संगत छ उनीहरुलाई मात्र आफ्नो नजिक राख्न समेत सुझाव दिए ।


त्यसैगरी भिआईपी संस्कारमा लिप्त हुनबाट बच्न पनि सचेत गराए । ‘एअरपोर्टमा जाँच गर्‍यो भने सांसदलाई पनि गर्ने भन्ने लाग्न सक्छ । किन नगर्ने ? लाइनमा उभिँदा के हुन्छ ?’ मोदीले भने, ‘युग फेरिइसकेको छ । जनता जनार्दन सचेत भइसकेका छन्, त्यसैले हामीहरुले मात्र देखाउनका लागि नभएर आफैंलाई भित्रैबाट बदल्नुपर्छ ।’ गाडीमा रातोबक्ती राख्ने मोहबाट मुत्त रहन पनि मोदीलाई सांसदहरुलाई सुझाव दिए ।


उनले एउटा क्षेत्रबाट निर्वाचित भए पनि सांसद भएकाले पुरै भारतको चिन्ता गर्न समेत आग्रह गरे । आफूलाई क्षेत्र र समुदायमात्र सिमित नगरी राष्ट्रिय सोचबाट विकसित गर्न पनि मोदीको सुझाव थियो । ‘तपाईंहरु कानुन निर्माता हो । यी कुराहरुलाई विचार पुर्‍याउने भने हो गल्ती कमभन्दा कम हुनेछ,’ मोदीको भनाई थियो ।


प्रकाशित : जेष्ठ १२, २०७६ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?