कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तिब्बती नेता भन्छन्– चिनियाँ रेल काठमाडौं पुर्‍याउँछौँ

लक्ष्मी लम्साल

बेइजिङ — तिब्बतले काठमाडौंसम्म रेल लैजाने विषयमा आफ्नो प्रतिबद्धता जनाएको छ । ल्हासामा शुक्रबार आयोजित तिब्बत विकास मञ्चमा सहभागी विभिन्न देशका प्रतिनिधिले नेपालसँग रेलवे कनेक्टिभिटी भए पूरै एसियासँगको सम्पर्क सहज हुने बताएपछि तिब्बती नेताले रेल कनेक्टिभिटीका लागि आफूहरू तयार रहेको प्रतिक्रिया दिएका हुन् । 

‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) र तिब्बतको खुलापन तथा विकास’ भन्ने नाराका साथ चीनको दक्षिण–पश्चिमस्थित तिब्बत स्वशासित क्षेत्रको ल्हासामा आयोजित सम्मेलनका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङले शुभकामना सन्देश पठाएका थिए ।


सन्देशमा सीले यो वर्ष नयाँ चीन स्थापनाको ७० औं र तिब्बतमा प्रजातान्त्रिक सुधारको ६० औं वार्षिकोत्सव मनाइएको भन्दै तिब्बतको परिवर्तनको प्रशंसासमेत गरेका छन् । ‘छिङ्हाइ–तिब्बत पठार भूमिमा पर्ने तिब्बत–चीनको सीमाक्षेत्रमा पर्ने महत्त्वपूर्ण जातीय क्षेत्र हो भने पर्यावरण, विशेष सांस्कृतिक संरक्षक र विश्व पर्यटनको गन्तव्य पनि हो,’ उनले सन्देशमा भनेका छन् ।


‘राष्ट्रपति सीको चाहनाबमोजिम २०२२ सम्म तिब्बती रेलमार्ग सिगात्सेसम्म पुर्‍याइन्छ,’ तिब्बती नेताहरूले भने, ‘त्यहाँबाट काठमाडौंसम्म लैजान तिब्बत प्रतिबद्ध छ ।’ चिनियाँ राज्यपरिषद्, प्रेस कार्यालय र तिब्बत स्वायत्त प्रदेश सरकारले गरेको कार्यक्रममा तिब्बत सरकार प्रमुख छी चालाले तिब्बत विकास मञ्चले तिब्बत र विश्वबीच सहकार्य तथा आदानप्रदानको अवसर दिलाएको बताए ।


इतिहासकालदेखि तिब्बत रेसममार्गमा सहभागी रहेको र दक्षिण एसियाली मुलुकसँग सहकार्य गर्दै अघि बढ्ने उनले बताए । ‘तिब्बतको विकास हुनु नै दक्षिण एसियाली मुलुकको समृद्धिमा सहयोग पुग्नु हो,’ उनले भने, ‘सहयोगका सीमाक्षेत्र विस्तार गर्दै तिब्बतले नेपालसँगको सहकार्यलाई उच्च प्राथमिकतामा राखेको छ ।’


मञ्चले दक्षिण एसिया प्रवेशद्वारका रूपमा रहेको नेपालमा रेललगायत पूर्वाधार निर्माणमा जोड दिएको अन्तर्राष्ट्रिय सम्बन्ध तथा चीन मामिला जानकार डा. रूपक सापकोटाले बताए । समग्रमा तिब्बतले खुलापन र बीआरआईलाई छिमेकी मुलुकसँगको कनेक्टिभिटीका लागि रेल परियोजना अगाडि बढाउनैपर्ने बुझेको छ । ‘तिब्बत सरकार प्रमुखले पनि केरुङ आर्थिक क्षेत्र, रेल परियोजना, नाका खुला, सडकमार्गको स्तरोन्नति, पूर्वाधार विकासमा गति लिने बताएबाट रेलमार्गमाथि सघन बहस र सहकार्यको मोडलमा चीन अझ सक्रिय हुने देखिन्छ,’ उनले भने ।


दक्षिण एसियाका भारत, बंगलादेश, पाकिस्तान, नेपालका अतिरिक्त लात्भिया, फ्रान्स, मेक्सिको, लक्जेम्बर्गका प्रतिनिधि, टिबेटोलजी रिसर्च सेन्टरका वैज्ञानिक, विश्लेषक, सरकारी अधिकारी र पत्रकार गरी ३७ देशबाट पुगेका झन्डै १६० सहभागीले विभिन्न सत्रमा बहस गरे । बीआरआईमा तिब्बतको भूमिका र तिब्बती संस्कृति र तिब्बतको खुलापनबारे बहस गरेका सहभागीले तिब्बतको बाह्य विश्वसँगको सम्पर्कका लागि नेपाल मात्रै भरपर्दो विकल्प हुने निष्कर्ष निकाले ।

प्रकाशित : जेष्ठ ३२, २०७६ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?