कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

असान्ज : ह्याकर कि पत्रकार ?

नारायण खड्का

अस्ट्रेलिया — सात वर्षसम्म लन्डनको इक्वेडर दूतावासमा राजनीतिक शरण लिएपछि प्रहरीद्वारा तान्दै निकालिएका अस्ट्रेलियाली नागरिक जुलियन असान्जले करिब १ दशकअघिदेखि ‘वेब’ को दुनियाँमा तहल्का मच्चाए ।

असान्ज : ह्याकर कि पत्रकार ?

अहिले पनि उनलाई समर्थन गर्नेहरू सत्य सूचनालाई सर्वसाधारणसमक्ष पुर्‍याउने अभियानकर्ता मान्छन् भने उनको कार्यलाई गलत भन्नेहरू त्यसको विपरीत ह्याकरको संज्ञा दिन्छन् ।


अस्ट्रेलियाको क्युन्सल्यान्ड राज्यको टाउन्सभिलमा ४७ वर्षअघि जन्मिएका असान्ज करिब २५ वर्षअघि नै कम्प्युटरसम्बन्धी आफ्नो ज्ञानलाई प्रयोग गर्दै दर्जनौं ह्याकिङका क्रियाकलापमा संलग्न भएपछि पक्राउ परेका थिए । उनलाई प्रहरीले जरिवाना तिराएर मुक्त गरेको थियो । त्यसपछि उनी त्यस प्रकारका ह्याकिङमा तत्काल सहभागी भएका थिएनन् । उनी गणितीय ज्ञानमा पारङ्गत मानिन्छन् त्यसैले पनि उनले सुलेट ड्रिफस नामकी महिला विज्ञसँग ३ वर्षसम्म अनुसन्धान गर्ने अवसर पाएका थिए । उनी मेलबर्नमा सरेपछि त्यहाँको विज्ञ समाजमा गणित विषयमा पारङ्गत व्यक्तिका रूपमा चिनिन्थे ।


असान्जलाई चिन्ने र उनीसँग काम गरेकाहरू उनलाई अत्यन्तै मिहिनेती, चलाख र कम्प्युटर कोडहरूलाई सहजैसँग छुट्टयाउन सक्ने व्यक्तिका रूपमा चित्रित गर्छन् । उनीसँगै पढेका उनका अस्ट्रेलियाका साथीहरूले समेत उनलाई नराम्रो व्यक्तिका रूपमा चित्रित गर्दैनन् ।


तर सन् २००६ मा उनले स्थापना गरेको ‘विकिलिक्स’ मार्फत भने संसारमा नै तहल्का ल्याउन सफल भए । उनले सन् २००८ देखि आफूले स्थापना गरेको ‘विकिलिक्स’ मार्फत लाखौं अति गोप्य सूचनाहरूलाई सार्वजनिक गरिदिँदै आएका थिए । उनले पटकपटक गरेर विश्वका ठूला तथा साना शक्ति राष्ट्रहरूको अत्यन्तै गोप्य सूचनालाई सर्वसाधारणसामु ल्याइदिएर तरंग सृजना गरिदिए ।


असान्ज पत्रकार हुन् वा होइनन् भन्ने विवादसमेत चल्दै आएको छ । केहीले उनलाई सर्वसाधारणको चासोको सूचना तथा जानकारी सार्वजनिक रूपमा अघि ल्याएको भन्दै पत्रकारको रूपमा चित्रित गर्छन् भने कोही असान्जले ‘विकिलिक्स’ मार्फत दिने गरेको कार्यहरू पत्रकारिताको क्षेत्रभित्र नपर्नेसमेत व्याख्या गर्छन् ।


तर पनि असान्जले आफू जन्मिएको देश मात्र नभएर सन् २००९ मा यूकेको प्रतिष्ठित एम्नेस्टी इन्टरनेसनल मिडिया अर्वाडसमेत जितेका छन् । उनले सिड्नी पिस फाउन्डेसनबाट ‘गोल्ड मेडल फर पिस’ जितेका छन् भने अस्ट्रेलियन जर्नालिस्ट युनियनको मानार्थ सदस्य हुन् । त्यति मात्र नभएर उनले सन् २००८ देखि नै विश्वभरिबाट विभिन्न अवार्ड तथा सम्मान पाइसकेका छन् ।


असान्ज अहिले बेलायतमा ५० हप्ताको जेल सजाय भोगिरहेका छन् । जहाँ उनलाई जमानतको प्रावधान तोडेको आरोप लगाइएको छ । असाञ्जलाई करिब एक दशकअघि स्विडेनमा दुई महिलालाई बलात्कार गरेको आरोपसमेत छ भने अमेरिकाले उनीमाथि जासुससम्बन्धी कानुन तोडेको आरोपमा विभिन्न १७ वटा मुद्दा दायर गरिएका बताइएको छ ।


लन्डनमा रहेका उनलाई अमेरिका सुपुर्दगी गर्नका लागि प्रक्रियासमेत सुरु भइसकेको जनाइएको छ । जसमा बेलायतका गृहसचिवले हस्ताक्षरसमेत गरिसकेको समाचारहरूमा जनाइएको छ । यता उनका वकिलहरू भने उनलाई अमेरिका सुपुर्दगी गर्न नहुने तर्क गरिरहेका छन् । यसको अन्तिम निर्णय भने अदालतले दिने छ ।


असान्जले जब कसैले कल्पनासम्म नगरेको अत्यन्तै गोप्य सूचनाहरूलाई कम्प्युटरको माध्यमबाट सार्वजनिक गरे त्यसलाई त्यति बेलै विभिन्न देशका सरकारी तवरबाट आलोचना गरिएको थियो । असान्ज आफ्नो देशको नागरिक भएका कारण उनलाई अन्य नागरिकसरह सरकारी तवरबाट उपलब्ध हुने सबै सुविधा दिइने अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले बताएका छन् ।


एक नागरिकको हैसियतमा उनलाई कन्सुलर सहयोग पुर्‍याइरहेको भए पनि कुनै बिशेष सहयोग भने नहुने उनको भनाइ छ । असान्ज आफैंले पनि अमेरिकामा सुपुर्दगी नगर्न यस पहिल्यैदेखि आग्रह गर्दै आएका थिए भने उनका वकिलहरूले समेत अमेरिका सुपुर्दगी गर्न नहुने बताइरहेका छन् ।


कम्प्युटरको क्षेत्रमा भएको आफ्नो ज्ञानलाई सही वा गलत जुन किसिमले भए पनि प्रयोग गरेर सूचनाहरू सर्वसाधारणसमक्ष ल्याएका असान्जको अबको भविष्य बेलायतको वेस्टमिनिस्टर अदालतको निर्णयमा भर पर्ने छ । किनकि उनलाई अमेरिका सुपुर्दगी गरिए र उनी दोषी सावित भए उनलाई १ सय ७५ वर्षसम्मको जेल सजाय हुन सक्ने सञ्चारमाध्यमले बताएका छन् ।


सुपुर्दगीबारे फेब्रुअरीमा सुनुवाइ

लन्डन (एएफपी)– विकिलिक्स संस्थापक असान्जलाई वासिङ्टनसमक्ष सुपुर्दगी गर्न मिल्ने वा नमिल्ने विषयमा आगामी वर्ष पूर्ण सुनुवाइ हुने भएको छ । उनीबारेको मुद्दाको सुनुवाइ सन् २०२० को फेब्रुअरीमा हुने छ । अमेरिकाले असान्जलाई सुपुर्दगी गर्न दबाब दिँदै आएको छ भने बेलायतले यसबारे कुनै जवाफ दिएको छैन ।

वासिङ्टनका अनुसार असान्जले सन् २०१० मा अमेरिकी सैनिक तथा कूटनीतिक क्षेत्रका वर्गीकृत फाइल सार्वजनिक गर्नुका साथै अमेरिकाविरुद्ध जासुसी गरेका थिए । अमेरिकाको अफगानिस्तान र इराकमा भएका बम आक्रमणबारे विकिलिक्सले प्राप्त सूचनालाई सार्वजनिक गरेको आरोप वासिङ्टनको छ ।

प्रकाशित : जेष्ठ ३२, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?