हुवावेको बिक्री घट्यो 

अमेरिकाले कालोसूचीमा राखेपछि अप्ठ्यारोमा परेको कम्पनीले आगामी दुई वर्ष मोबाइल उत्पादन घटाउने 
एएफपी

बेइजिङ — चिनियाँ दूरसञ्चार कम्पनी हुवावेका संस्थापकले पछिल्लो समय अमेरिकाले प्रतिबन्ध लगाउने चेतावनी दिएसँगै आफ्नो कम्पनीका मोबाइल बिक्री घटेको जनाएका छन् । रेन जेङ्फीका अनुसार एक महिनाको अवधिमा चीनबाहिर हुवावे मोबाइल बिक्री ४० प्रतिशतले घटेको हो ।

हुवावे मुख्यालयमा बोल्दै रेनले अगामी दुई वर्ष कम्पनीले करिब ३० खर्ब डलर बराबरको उत्पादन कटौती गर्ने जनाए । उनले भने, ‘हो, हुवावेको बिक्री ४० प्रतिशतले गिरेको हो ।’

रेनका अनुसार चिनियाँ बजारमा भने मोबाइलको बिक्री यथावत् नै छ । हुवावेले सन् २०१८ मा २० करोड ६० लाख मोबाइल बिक्री गरेको थियो । जसमध्ये आधा चीनमा र आधा अन्तर्राष्ट्रि बजारमा बिक्री भएका थिए । गतमहिना अमेरिकाले हुवावेलाई कालोसूचीमा राखेको थियो । उक्त निर्णयसँगै हुवावेले अमेरिकामा व्यापार तथा सहकार्यका लागि अनुमति लिनुपर्ने हुन्छ । उक्त कदम अमेरिकी बजारमा चिनियाँ कम्पनीको व्यापार विस्तार रोक्ने रणनीतिका रूपमा समेत लिइएको छ ।

हुवावेको फाइभ–जीलगायत प्रविधि अमेरिका र चीनबीच जारी व्यापार विवादको प्रमुख जड हो । अमेरिकाले चीनमाथि बौद्धिक सम्पत्ति तथा प्रविधि चोरी गरेको आरोप लगाउँदै आएको छ । त्यसका साथै अमेरिकाले हुवावेको ‘फाइभ–जी’ प्रविधि कुनै पनि राष्ट्रका लागि सुरक्षाका हिसाबले जोखिमपूर्ण भएको दाबी गर्दै निकटस्थ राष्ट्रलाई जडान नगर्न आग्रह गर्दै आएको छ ।

त्यसका साथै हुवावेले चिनियाँ सरकारका लागि जासुसी गर्ने अमेरिकी दाबी छ । हुवावेकी प्रमुख वित्तीय अधिकृत तथा उपाध्यक्ष मेङ वाङ्झुलाई अमेरिकाको आग्रहमा क्यानडाले पक्राउ गरेपछि दुई देशबीच ब्यापर युद्ध चर्केको हो । मेङ हुवावे संस्थापक रेनकी छोरी हुन् ।

अमेरिकाले कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेसँगै हुवावेले आगामी दिनमा निर्माण गर्ने मोबाइलमा गुगल एप्सहरू हुने छैनन् । ती एप्सहरूमा गुगल प्लेस्टोर, गुगल सर्च, गुगल म्याप, गुगल क्रोम, युट्युब, जी–मेललगायत छन् । अन्तर्राष्ट्रिय बजारमा हुवावेका मोबाइल सेटको बिक्री घट्नुमा यो प्रमुख कारण ठानिएको छ ।

यसअघि गुगलले ‘अमेरिकी सरकारको निर्देशनअनुसार हुवावे सेटमा गुगल एप्स समावेश नगर्ने निर्णय गरेको’ बताएको थियो । विश्वको सबैभन्दा ठूलो दूरसञ्चार उपकरण निर्माण कम्पनी हुवावेले भने ‘विश्वव्यापी ग्राहकका लागि सुरक्षित र भरपर्दो सफ्टवेयर बनाउने’ जनाइसकेको छ । मोबाइल फोन निर्माणका आधारमा भने हुवावे विश्वको दोस्रो ठूलो कम्पनी हो । हुवावे संस्थापक रेनले अमेरिकाले ‘आफ्नो कम्पनीको फाइभ–जी सेवालाई कसैले चुनौती दिन नसक्ने’ दाबी गर्छन् ।

हुवावेलाई चीन र अमेरिकाबीचको जारी व्यापार युद्धको मुख्य कारक मानिएको छ । दुई देशबीचको तनाव थप चर्कर्दै गएपछि हुवावेले ‘अनुसन्धान तथा विकास विभागमा कार्यरत अमेरिकी नागरिकलाई जागिरबाट हटाएको’ थियो । त्यसका साथै हुवावेले अमेरिकी कम्पनीसँग कुनै प्रकारको बैठक नगर्नसमेत कर्मचारीलाई निर्देशन दिइसकेको छ ।

प्रकाशित : असार २, २०७६ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्

जुम्लाको गुठीचौर जग्गा प्रकरण : ३ सरकारी कर्मचारी सहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा

कान्तिपुर संवाददाता

काठमाडौँ — जुम्लाको गुठीचौरस्थित भेडाबाख्रा फार्मको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ सरकारी कर्मचारी सहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

अख्तियारले अनुसन्धान गर्दा करिब ३ लाख वर्गमिटर(५९० रोपनी जग्गा) व्यक्तिको नाममा दर्ता गरेको खुलेको हो। सरकारी जग्गा दुरुपयोग गरेको आरोपमा अख्तियारले मालपोत कार्यालय जुम्लाका तत्कालीन प्रमुख गोविन्द प्रसाद न्यौपाने लगायत विरुद्ध मुद्दा दायर गरेको हो। उनीहरूले गुठीचौरको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको खुलेको हो।

जुम्ला मालपोत कार्यालयका कर्मचारीले नापी र भेडा बाख्रा फार्मका कर्मचारीसँग मिलेमतो गरी जग्गा व्यक्तिका नाममा दर्ता गरेका थिए। सरकारी जग्गा गलत नियतले हदबन्दीभन्दा बढी दर्ता गर्नुका साथै जग्गा बिक्री वितरण समेत गरेको अख्तियारको दाबी छ। निर्णय हुँदा न्यौपाने निमित्त कार्यालय प्रमुख(नासु) थिए।

अख्तियार स्रोतका अनुसार जुम्लाको गुठीचौर गाविस वडा नम्बर ६–द को कित्ता नम्बर ३ को उक्त जग्गा फिल्डबुकमा भेडा तथा बाख्रा कार्यक्रमको नाममा दर्ता छ। द्वन्दकालमा जलेर नष्ट भएको सक्कल फाइललाई स्थानीय हरिहर न्यौपानेको निवेदनबाट फेरी खोलेर ‘मिलेमतो’मा दर्ता गरिएको थियो। अख्तियारले भेडा तथा बाख्रा अनुसन्धान कार्यक्रमका प्रमुख प्राविधिक कर्मचारी यमुनाकुमार श्रेष्ठमाथि पनि मिलेमतोको आरोप लगाएको छ। यी तीनै जनालाई अख्तियारले ४५ लाख रुपैयाँका दरले बिगो माग दाबी गरेको छ।

गुठीचौरको जग्गा हरिहर न्यौपाने सहित १५ जनाको नाममा हक हस्तान्तरण भएको थियो। उनीमाथि अख्तियारले दुई लाख २५ हजार रुपैयाँ बिगो कायम गरेको छ। साथै अख्तियारले जग्गा नामसारी गरी लिने मुनिशचन्द्र न्यौपाने, मायालाल न्यौपाने, विष्णु न्यौपाने, विष्णु ऋषि न्यौपाने, विष्णुलाल न्यौपाने, पार्वती न्यौपाने, नवऋषि न्यौपाने, धन प्रसाद न्यौपाने, देवेन्द्र प्रसाद उपाध्याय, जानकीदत्त देवकोटा, गोमा न्यौपाने, केशवराज न्यौपाने, कविदत्त न्यौपानेलाई पनि मुद्दा दायर गरेको छ। यी सबैमाथि ३० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म बिगो मागदाबी छ।

मालपोत कार्यालयका प्रमुख न्यौपानेले त्यो जग्गा श्रीमती, छोरी र नातागोताको नाममा पास गराएको खुलेको हो। उनले हाल अवकाश पाइसकेका छन्। उनले २०६६ सालमा गुठीचौरको जग्गा दर्ता गराएका थिए। उक्त फार्मको करिब ३५ सय रोपनी जग्गा नापी भएको मध्ये करिब एक हजार रोपनीको फिल्डबुक बनेको छ। त्यसमध्येको जग्गा न्यौपानेले व्यक्तिका नाममा हत्याएका हुन्।

प्रकाशित : असार २, २०७६ १९:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्