भारतमा अत्यधिक गर्मी : 'लू’ र इन्सेफ्लाईटिसले २०० भन्दा बढीको मृत्यु 

सुरेशराज न्यौपाने

नयाँदिल्ली — अत्यधिक गर्मीका कारण भारतका बिहार, उत्तरप्रदेश, राजस्थान, दिल्ली, मध्यप्रदेश लगायतमा दैनिक जीवनयापन निकै कष्टकर बनेको छ । उच्च तापक्रमका कारण तातो हावा (लू) चल्नाले मानिसको दैनिकी कष्टकर बन्नुका साथै कैयौंले ज्यान गुमाएका छन् ।

भारतीय सञ्चारमाध्यमहरूले करिब २ महिनामा उच्च गर्मी र तातो हावाकै कारण सयभन्दा बढीको ज्यान गएको दाबी गरेका छन् । त्यसैगरी गर्मीकै कारण फैलिएको मस्तिष्क ज्वरो (इन्सेफ्–लाइटिस) कारण बिहारमा मात्र थप एक सय बालबालिकाको ज्यान गएको छ ।

सरकारी तथ्यांकअनुसार सन् २०१० देखि २०१८ सम्म भारतमा लूका कारण ६ हजारभन्दा बढीको ज्यान गइसकेको छ । सन् २०१५ मा सबभन्दा बढी अर्थात् २ हजारभन्दा बढीको मृत्यु भएको थियो । यस वर्ष दिल्ली, बिहार, उत्तरप्रदेश, राजस्थान, मध्यप्रदेशका अधिकांश भागमा करिब दुई सातासम्म तापक्रम ४५ डिग्रीभन्दा माथि उक्लिएको थियो ।

मौसमविद्हरूले विगतका वर्षको तुलनामा यस वर्ष मनसुन केही पर धकेलिएकाले चर्को गर्मी भएको जनाएका छन् । यस वर्ष राजधानी दिल्लीले नै २१ वर्षयताकै सबैभन्दा चर्को गर्मी व्यहोर्‍यो । अघिल्लो सोमबार दिल्लीको तापक्रम ४८.४ डिग्री थियो । यो २६ जुन १९९८ को अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रमभन्दा ०.४ डिग्रीले कम हो । तर जुन महिनाको तापक्रमलाई हेर्ने हो भने दिल्लीमा हालसम्मकै बढी गर्मी भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएकाछन् । त्यसैगरी, गतहप्ता नै उत्तरप्रदेशको बान्दामा ४९.२ डिग्री, प्रयागराजमा ४८.९ डिग्री मापन गरिएको थियो । साथै राजस्थानको चुरुमा त दुई दिनसम्म ५० डिग्री नाघेको जनाइएको छ ।

गर्मी कुन हदसम्म छ भन्ने कुरा अघिल्लो साता ट्रेनभित्रै यात्रुहरूको ज्यान गएको घटनाले पनि देखाउँछ । अत्यधिक गर्मीकै कारण ट्रेनमा यात्रा गरिरहेका चार जनाको ज्यान गएको थियो । उत्तरप्रदेशको आगराबाट दक्षिण भारतको कोएम्बटोरका लागि छुटेको केरल एक्सप्रेसका चार जानु यात्रुले अत्यधिक गर्मीका कारण ज्यान गुमाएका थिए । वातावनुकूलित कोचमा यात्रा नगरेका कारण ट्रेन उत्तरप्रदेशको झाँसी नजिक पुग्दा असह्य गर्मीका कारण उनीहरूको मृत्यु भएको बताइएको छ । त्यतिबेला झाँसीको तापक्रम ४५ डिग्री सेल्सियस रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका थिए ।

अत्यधिक गर्मीका कारण बिहारले त ठूलो संख्यामा मानवीय क्षति नै व्यहोरेको छ । शनिबार र आइतबार बिहारका अधिकांश भागमा तापक्रम ४५ डिग्री रहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । गर्मीका कारण स्थानीय अस्पतालहरूमा बिरामीको चाप दिनहुँ बढदो छ । पछिल्लो दुई दिनमा मात्र त्यहाँ ७८ जनाको मृत्यु भएको बताइएको छ ।

सोमबार बिहानसम्ममा गर्मीका कारण औरंगावादमा ३३, गयामा ३१, नवाडा १२ र जमुईमा २ जनाको मृत्यु भइसकेको छ । आइतबार मात्रै बिहारका औरगांवाद, गया र नवाडा जिल्लामा १७ जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
उखरमाउलो गर्मीका कारण कतिपय राज्यमा विभिन्न रोगको प्रकोप पनि देखिएको छ ।

उच्च गर्मीका कारण फैलिएको मस्तिष्क ज्वरो (इन्सिफ्लाइटिक्स) का कारण पछिल्लो एक साताभित्रै बिहारको मुजफ्फरपुरमा सयजना भन्दा बढी बालबालिकाको मृत्यु भएको छ । मुजफ्फरपुर लिचीका लागि चिनिएकालेसुरुमा बालबालिकाको मृत्युको कारण खाली पेटमा लिची खाएका कारण भएको आंशका गरिए पनि त्यसको वैज्ञानिक पुष्टि हुन सकेको थिएन ।

तर, पछि लिची नखाएका बालबालिकाको समेत मृत्यु भएपछि भने स्थानीय चिकित्सकले मस्तिष्क ज्वरोको आशंका गरेका थिए । बिरामी परेका करिब ३ सय बालबालिका अस्पतालमा उपचारा गराइएको छ । उच्च ज्वरो आएर अस्पताल पुर्‍याइएका बालबालिकाको उपचारका लागि स्थानीय अस्पतालमा पर्याप्त जनशक्ति र साधन नहुँदा धेरैको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

ठूलो संख्यामा बालबालिकाको ज्यान गएपछि नीतिशकुमार नेतृत्वको बिहार राज्य सरकारले चौतर्फी आलोचनाको सामना गर्नुपरेको छ । बालबालिकाको मृत्यु हुने क्रम नरोकिएपछि केन्द्रिय स्वास्थ्य मन्त्री डा. हर्षवर्द्धन आफै मुजफ्फरपुर पुगेका थिए ।

यसैबीच, गर्मीका कारण ज्यान गुमाएकाको परिवारलाई राज्य सरकारले राहत स्वरूप ४ लाख भारु दिने घोषणा गरेको छ । सअघि सन् २०१४ मा पनि मुजफ्फरनगरमै यस्तै किसिमको रोगले करिब २ सयभन्दा बढी बालबालिकाको ज्यान गएको थियो ।

प्रकाशित : असार ३, २०७६ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्

अस्ट्रेलियामा इच्छामृत्यु अधिकार

नारायण खड्का

अस्ट्रेलिया — निको नहुने रोग लागेर कष्टकर जीवन निर्वाह गरिरहेकाहरूका लागि अस्ट्रेलियाले पहिलो पटक इच्छामृत्युको अधिकार दिएको छ । भिक्टोरिया राज्यले इच्छामृत्युको कानुन पारित गरेसँगै यो बुधबारदेखि कार्यान्वयन आउने छ । 

भिक्टोरिया राज्यले गतवर्ष विधेयक पारित गरेपछि इच्छामृत्युको अधिकार दिइएको हो । नयाँ कानुनअनुसार ‘निको नहुने रोग लागेकाले इच्छामृत्युको अधिकार पाउन सरकारले तोकेको ६८ वटा विभिन्न प्रावधान पूरा’ गर्नुपर्छ ।

कानुनतः प्रावधान पूरा भएका नागरिकले चिकित्सकसमक्ष आफ्नो योग्यताको जाँच गरिदिन आग्रह गर्न सक्छन् । सरकारले ल्याएको इच्छामृत्युको अधिकार प्रयोग गर्न ‘निको नहुने रोग लागेको र जसले सहन नसक्ने पीडा दिएको हुनुपर्ने’ उल्लेख छ । यसैगरी उक्त रोगबाट ६ महिनाभन्दा कम मात्र बाँच्ने सम्भावना हुनुपर्ने बताइएको छ ।

त्यसैगरी, इच्छामृत्यु वरण गर्न दुई चिकित्सकले बिरामीलाई जाँच अनुसन्धान गरेर प्रक्रियामा सहमति जनाउनुपर्नेछ । डाक्टरले सहमति जनाएर औषधि सिफारिस गरेपछि मात्र फार्मेसीबाट इच्छामृत्युवरण गर्न औषधि खरिद गर्न पाइनेछ । कानुनअनुसार इच्छामृत्यु चाहने व्यक्ति भिक्टोरिया राज्यमा एक वर्षदेखि बसोबास गर्दै आएको तथा १८ वर्षमाथिको हुनुपर्ने छ । यसैगरी आफ्नोबारे निर्णय लिने क्षमता भएको समेत हुनुपर्ने जनाइएको छ ।

यसको कार्यान्वयन पक्ष हेर्न तथा निरीक्षण गर्न विज्ञहरूको समूह गठन गरिनुका साथै प्रत्येक मृत्युलाई स्वतन्त्र समूहले समीक्षा गर्ने उल्लेख छ ।

इच्छामृत्युबारेका कानुनी व्यवस्थाबारे जानकारी दिन सरकारले आयोजना गरेको सेमिनारमा हालसम्म २ हजारभन्दा बढी सहभागी भइसकेका छन् । तर पनि चिकित्सकले बुधबारअघि कसैको पनि आवेदन स्वीकार गर्ने छैनन् । समाचारमाध्यमका अनुसार यहाँका ८९ जना चिकित्सकले यससम्बन्धी तालिम लिइसकेका छन् भने सार्वजनिक स्वास्थ्य संस्थामा एकजना तालिमप्राप्त स्वास्थ्यकर्मी इच्छामृत्यु प्रक्रियाको मूल्यांकनका लागि व्यवस्था गरिएको छ ।

स्थानीय सञ्चारमाध्यका अनुसार इच्छामृत्युको कानुनी प्रक्रियाबाट मृत्यु रोज्न सबै प्रावधान पूरा भइसकेपछि स्वास्थ्यसम्बन्धी सामग्री बिरामीको घरमा पुर्‍याइनेछ र परिवारको उपस्थितिमा यसको प्रक्रियाबारेमा जानकारी दिइनेछ । इच्छामृत्यु चाहने बिरामीलाई औषधि रहेको बन्द बाकसको चाबी दिइनेछ र आफूखुसी औषधि खान सक्ने जनाइएको छ । ‘यो वास्तवमा भिक्टोरियामा मात्र नभई समग्र अस्ट्रेलियाको लागि ऐतिहासिक परिवर्तन हो,’ स्वास्थ्यमन्त्री जेनी मिकाकोसले भनिन् ।
उनले सम्मानजनक मृत्यु पनि सम्मानजनक जीवनको पाटो भएकाले समेत यसलाई वैध बनाइएको बताइन् । अस्ट्रेलियाको नर्दन टेरिटोरी राज्यमा २ दशकअघि इच्छामृत्युको अधिकार दिइएको भए पनि यसलाई केही समयपछि नै हटाइएको थियो । यहाँका अन्य राज्यहरू न्यु साउथ वेल्स, पश्चिम अस्ट्रेलिया, क्विन्सल्यान्डलगायत राज्यमा समेत इच्छामृत्युको अधिकारलाई वैध बनाउने विषयमा विवाद चल्दै आएको छ ।

प्रकाशित : असार ३, २०७६ ०८:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्