कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनमा विदेशी विद्यार्थी बढे

लक्ष्मी लम्साल

बेइजिङ — नेपालका लागि मात्रै नभएर संसारभरका करिब २ सय देशका लागि चीन अध्ययनको उपयुक्त गन्तव्य बन्दै गएको छ । चीनको शिक्षा मन्त्रालयद्वारा बेइजिङमा सार्वजनिक तथ्यांकअनुसार गत वर्ष १ सय ९६ देशबाट आएका करिब ४ लाख ९२ हजार विद्यार्थी चीनका ३१ प्रान्त तथा क्षेत्रका विश्वविद्यालयमा अध्ययन गरेका थिए ।

चीनमा विदेशी विद्यार्थी बढे

‘चीन अब एसियाको सबैभन्दा आकर्षक शैक्षिक गन्तव्य बनेको छ र भविष्यमा यो क्रम अझै निरन्तर रहने छ,’ मन्त्रालयले भनेको छ । मन्त्रालयका अनुसार विदेशी विद्यार्थीहरूले १ हजार ४ शैक्षिक संस्था, वैज्ञानिक अनुसन्धान संस्था र अन्य शैक्षिक संस्थामा अध्ययन गरेको पनि जनाएको छ । उनीहरू चीनमा प्रविधि, विज्ञान, कला, कृषि, व्यवस्थापनलगायतका विषयमा अध्ययन गर्न रुचि राख्छन् ।

चीनमा सन् १९५० को दशकदेखि विदेशी विद्यार्थी भित्रन थालेका हुन् । पूर्वी युरोपबाट १४ जना विद्यार्थीले छिङ्हा विश्वविद्यालयमा भर्ना लिएका भएपनि हाल १ सय २० देशका साढे ३ हजारभन्दा बढी विदेशी विद्यार्थीहरूको चाप देख्न सकिने चाइना डेलीले लेखेको छ ।


समुद्रपार अध्ययनका लागि चिनियाँ राष्ट्रिय प्रतिष्ठानको प्रबन्ध समितिका महासचिव सङ् च्यानस्वेका अनुसार आधारभूत तथा बहुस्तरीय व्यापक शैक्षिक व्यवस्था तथा उत्कृष्ट शिक्षा संसाधन भित्राएदेखि चीनको शैक्षिक गुणस्तरमा सुधार आएको हो । उनले भने, ‘पछिल्ला केही वर्ष चीनमा पढ्न आउने विदेशी विद्यार्थीको संख्या बर्सेनि १० देखि २० हजारले वृद्धि भइरहेको छ । विद्यार्थीको शैक्षिक गुणस्तर पनि सुध्रिएको छ र विशेषतः विज्ञानमा तीव्र रुचि देखिएको छ ।’


चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) का कारण पनि चीन र विदेशका शिक्षालयबीचको सम्पर्क अझ गाढा बन्दै गएको छ । बीआरआई सम्बन्धित मुलुकबाट चीन भित्रिएका विदेशी विद्यार्थीको संख्यामा निरन्तर वृद्धि भएको छ ।


तथ्यांकअनुसार गत वर्ष बीआरआईसँग सम्बन्धित विषयमा अध्ययन गर्न ६० भन्दा बढी मुलुकबाट आएका विद्यार्थी संख्या २ लाख ६० हजार थियो, जुन कुल विदेशी विद्यार्थी संख्याको करिब ५३ प्रतिशत हो ।


उत्कृष्ट विद्यार्थीहरूको भर्ना, शिक्षा तथा प्रबन्धमा सुधार, सेवा तथा रोजगारीसम्बन्धी नीति प्रणाली स्थापना हुनुका साथै उदीयमान चिनियाँ अर्थतन्त्र र खुलापनतर्फ अग्रसर चीनका कारण पनि विदेशी विद्यार्थीहरू यहाँ झुम्मिएको विश्लेषकहरूको भनाइ छ । चीनका केही सहरले दीक्षित युवाहरूले व्यवसाय खोल्नका लागि उपयुक्त नीति पनि लागू गरेका छन् ।

प्रकाशित : असार १५, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?