कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाडी चलाउँदा मोबाइलको प्रयोग गरे एक हजार डलर जरिवाना

नारायण खड्का

अस्ट्रेलिया — सवारी साधन चलाइरहेको अवस्थामा मोबाइल फोनको प्रयोग गरेको भेटिए अस्ट्रेलियाको एक राज्यमा १ हजार अस्ट्रेलियन डलर (करिब ८० हजार रुपैयाँ) जरिवाना हुने भएको छ । क्वीन्सल्याण्ड राज्यमा केही महिनापछि लागु हुने यो नियम विश्वकै कडा सवारी नियम भएको बताइएको छ । 

गाडी चलाउँदा मोबाइलको प्रयोग गरे एक हजार डलर जरिवाना

क्वीन्सल्याण्डमा गएको २ महिनामा मात्र सवारी साधान चलाउँदा मोबाइलको प्रयोग गरेकै कारण भएका दुर्घटनाहरुमा ४० जनाको मृत्यु भएपछि यो नियमको घोषणा गरिएको हो । राज्यका यातायातमन्त्री मार्क बेलीले यस किसिमको कडा नियम आवश्यक भएकाले यथासक्य लागु गरिने बताएका छन् ।


उनले कडा जरिवाना र दोस्रोपटक सोही आरोपमा समातिए लाइसेन्स खारेज हुने नियमको समेत प्रस्ताव गरेका छन् । यसले गाडी चलाउँदा फोनको प्रयोग गर्ने खतराजनक बानीलाई कम गर्ने विश्वास लिइएका छ । उनको प्रस्तावलाई राज्यकी प्रिमियर एनास्टेसिया पालासेले समेत समर्थन गरेकी छिन् ।


उनले धेरै व्यक्तिहरु सवारी साधान चलाइरहेको बेला बेपरवाह हुनेहरुका कारण दुर्घटनाहरु बढिरहेकाले यस किसिमको नियम आवश्यक भएको बताइन् ।


अस्ट्रेलियाका सबै राज्य तथा टेरिटोरीमा सवारी चलाएको बेला मोबाइलको प्रयोग गर्नेलाई कडा जरिवाना भएपनि यो नयाँ नियम अहिले लागु भइरहेको भन्दा करिब अढाई गुणा बढी हो । यस नियम विपरित कार्य गरेको पाइएमा अंक प्रणालीमा चल्ने अस्ट्रेलियाको लाइसेन्सको अंक समेत गुम्ने गरेको छ । जम्मा १२ अंक मात्र हुने यहाँको लाइसेन्समा सवारी साधन चलाउँदा मोबाइल चलाएको भेटिए ४ अंकसम्म जरिवाना हुने गरेको छ ।


आर्थिक र अंक दुवै जरिवाना हुने यहाँको नियम अनुसार विभिन्न राज्यहरुमा फरक फरक प्रावधान राखिएको छ । नर्दन टेरिटोरीमा सबैभन्दा कम २ सय ५० डलर र सबैभन्दा बढी दक्षिण अस्ट्रेलियामा ५ सय ३४ डलर जरिवाना तोकिएको छ । तर क्वीन्सल्याण्ड राज्यमा अहिले लागु गरिएको ४ सय डलर जरिवानालाई राज्य सरकारले एकैचोटी बढाएर १ हजार डलर बनाएको हो । यसका साथै यही आरोपमा दोस्रोपटक समेत समातिए लाइसेन्स खारेज गरिने भएको छ ।


अस्ट्रेलियामा सडक दुर्घटनामा मृत्यु हुनेहरुको संख्या समेत धेरै रहेको छ । अस्ट्रेलियाको यातायात मन्त्रालयको तथ्यांक अनुसार गएको मे महिनामा मात्र १ सय ११ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । जुन पछिल्लो ५ बर्षको अनुपातभन्दा झण्डै १० प्रतिशतले बढी हो ।


यसैगरि पछिल्लो एक बर्षमा मात्र अस्ट्रेलियामा १ हजार २ सय ४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको सरकारी तथ्यांक छ ।


यहाँका प्रहरी तथा अन्य सरकारी निकायहरुले सवारी सुरक्षा सम्बन्धि विभिन्न जानकारीहरुका साथै चेतावनी दिने गरेका भएपनि सवारी दुर्घटना हुने क्रम बढिरहेकाले अधिकारीहरु कडा नियम लगाउन बाध्य हुनुपरेको जनाइएको छ । ‘सवारी चलाउँदा मोबाइल गाडीको बन्द लकरमा राख्न हामी सबैलाई अनुरोध गर्छौं,’ अधिकारीहरुले भनेका छन् ।


प्रकाशित : असार १५, २०७६ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?