कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

अमेरिकाले साउदीमा सेना खटायो 

(एजेन्सी)

वासिङटन — इरानसँगको तनाव बढै गएपछि अमेरिकाले साउदी अरबमा सेना खटाउने निर्णय गरेको छ ।

अमेरिकाले साउदीमा सेना खटायो 

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले ‘विद्यमान खतरा’ बाट अमेरिकी स्वार्थको रक्षा गर्न सैनिक पठाउने निर्णय गरिरहेको हो । खाडी क्षेत्रमा पानीजहाज हिंड्ने सामुद्रिक मार्गका कारण इरान(अमेरिका तनाव चुलिएको हो ।

साउदी अरबका राजा मोहम्मद बिन सलमानले आफ्नो देशमा अमेरिकी सेना परिचालन गर्न स्वीकृति दिइसकेको जनाइएको छ । ‘क्षेत्रीय सुरक्षा र स्थायित्वका लागि अमेरिकी सेना परिचालन गर्न दिइएको हो,’ साउदी सरकारी स्रोत उल्लेख गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले भनेका छन् ।


यसअघि अमेरिकाले सन् १९९१ मा साउदी अरबमा आफ्ना सेना परिचालन गरेको थियो । इराकले कुवेतमा आक्रमण गरेपछि पठाइएका अमेरिकी सेना सन् २००३ पछि फर्केका थिए ।


बीबीसीका अनुसार अमेरिकाले आफ्ना ५ सय सैनिक प्रिन्स सुल्तान बेसमा राख्नेछ । त्यसका साथै उसले प्याट्रिअट एअर डिफेन्स मिसाइल व्यवस्था तथा एफ(२२ लडाकु विमानहरू पनि पठाउने जनाइएको छ ।

सन् २०१५ मा इरानसँग भएको बहुपक्षीय परमाणु सम्झौताबाट अमेरिका एकपक्षीय रूपमा अलग भएको बताएपछि दुई देशबीच तनाव बढेको हो । गत मार्चमा सम्झौताको औचित्य सकिएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणापछि अमेरिकाले इरानविरुद्ध पुनः प्रतिबन्ध लगाउँदै आएको छ ।


गत महिना इरानले ‘स्ट्रेट अफ होर्मुजको सामुद्रिक मार्गमा एक अमेरिकी ड्रोन खसालेको थियो । इरानले आफ्नो सीमाक्षेत्र पार गरेकाले ड्रोन खसालेको बताएको थियो तर अमेरिकाले उक्त ड्रोन अन्तर्राष्ट्रिय जलक्षेत्रमा भएको दाबी गरेको थियो ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकी सेनाको पानीजहाज नजिकै आएको एक इरानी ड्रोनलाई खसालेको दाबी गरेका थिए तर इरानले आफ्नो ड्रोन सकुशल रहेको दाबी गरेको छ ।


अमेरिकाले आइतबारदेखि इरानी सेनाको नियन्त्रणमा रहेको पनामाको एक ट्यांकर र चालक दलका १२ सदस्य मुक्त गर्न इरानलाई आहवान गर्दै आएको छ । इरानले उक्त तेलवाहक ट्यांकर तस्करीमा संलग्न भएको आशंकामा इरानी रेभोलुसनरी गार्ड कर्प्सले नियन्त्रणमा लिइएको बताएको थियो ।


गत मे र जुन महिनामा ओमानको खाडीमा दुइटा तेल ट्यांकरमा गरिएको आक्रमणमा इरान संलग्न रहेको आरोप अमेरिकाको छ तर इरानले त्यसको खण्डन गर्दै आएको छ ।


प्रकाशित : श्रावण ५, २०७६ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?