कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कश्मीरबारे ट्रम्पको टिप्पणीले तात्यो भारतीय राजनीति 

मोदी सरकारलाई घेर्ने रणनीतिमा विपक्षी
सुरेशराज न्यौपाने

(नयाँदिल्ली) — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको विवादास्पद भूमि कश्मीरबारे गरेको टिप्पणीलाई लिएर विपक्षी दलहरूले मोदी सरकारको चर्को आलोचना गरेका छन् । 

कश्मीरबारे ट्रम्पको टिप्पणीले तात्यो भारतीय राजनीति 

ट्रम्पले अमेरिकाको भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीर विवाद समाधानका लागि मध्यस्थता गरिदिन आग्रह गरेको बताएपछि भारतीय राजनीतिको तापक्रम एकाएक बढेको हो ।


ट्रम्पले सोमबार खानसँगको संयुक्त पत्रकार सम्मेलनमा दुई साताअघि जापानको ओसाकामा भएको भेटमा मोदीले कश्मीर मुद्दामा मध्यस्थता गरिदिन आग्रह गरेको खुलासा गरेका थिए । ओसाकामा जी २० शिखर सम्मेलनका बेला मोदी र ट्रम्पबीच भेटवार्ता भएको थियो ।

सम्मेलनका बेला मोदीसँगको भेटमा कश्मीर मुद्दामा छलफल भएको ट्रम्पले बताएका हुन् । ‘दुई साताअघि मोदीसँगको भेटमा कश्मीरबारे कुराकानी भयो । मोदीले सोध्नुभयो, ‘के तपाईं मध्यस्थता गर्न चाहनुहुन्छ ?’ मैले सोधें, ‘कहाँ ?’ उहाँले भन्नुभयो, ‘कश्मीर ।’ ‘दुवै देशले चाहन्छन् भने म सहयोग गर्न तयार छु,’ ट्रम्पले पत्रकार सम्मेलनमा भनेका थिए ।


भारतीय विदेश मन्त्रालयले भने मोदीले त्यस्तो आग्रह नगरेको जनाएको छ । ट्रम्पको भनाइ सार्वजनिक भएलगत्तै सोमबार राति भारतीय विदेश मन्त्रालयले त्यसको खण्डन गरेको हो । मन्त्रालयका प्रवक्ता रविश कुमारले ट्वीट गर्दै ‘सञ्चारमाध्यममा सार्वजनिक भएजस्तो प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पलाई कश्मीर मुद्दामा मध्यस्थता गर्न आग्रह नगरेको’ बताए । ‘भारत पाकिस्तानसँगका सबै विवादित मुद्दा द्विपक्षीय स्तरबाट छलफल हुनुपर्छ भन्नेमा दृढ छ । पाकिस्तानसँग वार्ता गर्न सीमापार आतंकवाद अन्त्य पहिलो सर्त हो । भारत र पाकिस्तानबीचका सबै मुद्दहरू सिमला सम्झौता र लाहोर घोषणाका आधारमा समाधान हुनुपर्छ,’ कुमारले ट्वीटरमा लेखेका छन् ।


कश्मीर विवादका कारण भारत र पाकिस्तानबीच विगत सात दशकदेखि तनावपूर्ण सम्बन्ध छ । दुई देशबीच ३ पटक युद्ध भइसकेको छ । लाहोर घोषणापत्र र सिमला सम्झौताले कश्मीर विवाद भारत र पाकिस्तानबीचको आपसी विवाद ठहर गर्दै कुनै पनि मध्यस्थता स्वीकार गर्दैनन् ।


बंगलादेश स्वतन्त्रतासँगै १९७२ को जुलाई २ मा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी र पाकिस्तानी राष्ट्रपति जुल्फिकर अलि भुट्टोबीच हिमाचल प्रदेशको सिमलामा शान्ति सन्धिमा हस्ताक्षर भएको थियो । सन्धिले कश्मीर मुद्दालाई द्विपक्षीय मुद्दाका रूपमा स्थापित गरेको हो । त्यसैगरी सन् १९९९ मा पाकिस्तानको लाहोरमा भएको तत्कालीन भारतीय प्रधानमन्त्री अटलविहारी बाजपेयी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफबीचको वार्तापछि जारी घोषणापत्रमा पनि सिमला सम्झौता कार्यान्वयनको प्रतिबद्धता जनाइएको थियो ।


ट्रम्पको भनाइका कारण भारतीय राजनीतिमा तनाव बढदै गएपछि अमेरिकाले कश्मीर मुद्दा भारत र पाकिस्तानबीचको द्विपक्षीय विषय भएको भन्दै त्यसलाई मत्थर पार्ने प्रयास गरेको छ । दक्षिण एसियाली मामिलाका अमेरिकी उपविदेशमन्त्री एलिस वेल्सले ट्वीटमार्फत् ‘कश्मीर दुवै मुलुकको आपसी मुद्दा समाधानका लागि भारत र पाकिस्तानबीच हुने वार्ता ट्रम्प प्रशासनले स्वागत गर्ने र आवश्यक सहयोग गर्न तयार रहेको’ उल्लेख गरेका छन् ।


तर, ट्रम्पको अभिव्यक्तिलाई लिएर विपक्षीहरू भने मोदी सरकारलाई घेर्ने रणनीतिमा देखिएका छन् । उनीहरुले ट्रम्पको भनाइका कारण उत्पन्न भ्रम चिर्न सरकारसमक्ष मागसमेत गरेका छन् । भारतीय विदेशमन्त्री एस जयशंकरले संसदमा त्यस्तो कुनै अनुरोध नगरेको प्रस्ट पारे पनि यसबारे प्रधानमन्त्री मोदीले नै जवाफ दिनुपर्ने विपक्षीको माग छ । उनीहरूले मोदीको जवाफ माग्दै मंगलबार लोकसभा र राज्यसभाको कार्यवाही बहिष्कार गरे । विपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धीले ट्वीट गर्दै मोदीले ट्रम्पको टिप्पणीबारे देशलाई जानकारी गराउनुपर्ने माग गरेका छन् । ‘ट्रम्पको भनाइ सही भए मोदीले राष्ट्रघात गरेको’ राहुलको भनाइ छ ।

प्रकाशित : श्रावण ७, २०७६ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?