कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बस बममा ठोकिदा ३४ को मृत्यु

रासस/एएफपी

हेरात, अफगानिस्तान — अफगानिस्तानको फरास प्रान्तस्थित राजमार्गमा राखिएको बममा बस ठोक्किँदा ३४ जनाको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् । मृत्यु भएकाहरुमा बसका यात्रुहरु रहेका छन् ।  राष्ट्रसंघले मंगलबार मात्र अफगानिस्तानमा द्वन्द्वको चपेटामा परेर सर्वसाधारण बढी मारिएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

फराह प्रान्तका प्रवक्ता मुहिबुल्लाह मुहिबले कन्दाहार–हेराज राष्ट्रिय राजमार्गमा गुडिरहेको बस दुर्घटनामा परेको जनाए ।


राष्ट्रसंघले सार्वजनिक गरेको पछिल्लो विवरणमा यो वर्षको ६ महिना अवधिमा सर्वसाधारणको हत्याको संख्यामा २७ प्रतिशतले कमी आएको भए पनि सर्वसाधारणको मृत्यु बढी भएको उल्लेख छ । उक्त अवधिमा एक हजार ३ सय ६६ जना सर्वसाधारणको मृत्यु र दुई हजार ४ सय ४६ जना घाइते भए । तीमध्ये एक तिहाइ बालबालिका छन् । राष्ट्रसंघका अनुसार तालिवानका कारणभन्दा पनि सरकारी फौज र अमेरिकी नेतृत्वको फौजको कारबाहीमा बढी नागरिकको ज्यान गएको छ ।


राष्ट्रसंघले हिंसा रोक्न भइरहेका प्रयास निकै अपर्याप्त रहेको ठहर गरेको छ । आगामी सेप्टेम्बर २८ मा राष्ट्रपतिको निर्वाचन हुने घोषणा गरिएका कारण पनि देशभर हिंसा अझ बढ्ने अनुमान गर्न थालिएको छ । चुनावमा अफगानिस्तानका प्रमुख विद्रोही शक्ति तालिवान समूह र इस्लामिक स्टेटको पूर्णविमति छ ।


औपचारिक चुनावी अभियान प्रारम्भ हुनुअघि आइतबार काबुलमा भएको एक आक्रमणमा कम्तीमा २० जनाको मृत्यु हुनुका साथै ५० भन्दा बढी घाइते भएका थिए । तालिवान समूहका आत्मघाती आक्रमणकारीले राष्ट्रपतिका सम्भावित उम्मेदवार अमरुल्लाह सालेहको काबुल कार्यालयमा आक्रमण गरेका थिए ।


राष्ट्रपतिको चुनाव हुनुअघि नै तालिवान समूहसँग शान्तिसम्झौता गर्ने तयारी अमेरिकाको छ, तर कतारमा महिनौंदेखि जारी अमेरिका र तालिवानबीचको वार्ता अझै निष्कर्षमा पुग्न सकेको छैन ।

प्रकाशित : श्रावण १५, २०७६ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?