कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केरलामा बाढीको कहर

सुरेशराज न्यौपाने

नयाँदिल्ली — दक्षिण भारतीय राज्य केरलामा दुई दिनयताको भीषण वर्षापछिको बाढीले बितण्डा मच्चाएको छ । बाढीका कारण २८ जनाको ज्यान जानुका साथै ५० जनाभन्दा बढी सम्पर्कविहीन छन् । साथै हजारौं विस्थापित भएका छन् । 

केरलामा बाढीको कहर

शुक्रबारसम्ममा विस्थापितका लागि भनेर करिब ६ सय उद्धार क्याम्पहरू स्थापना गरिएका छन् । जहाँ करिब ५० हजारभन्दा बढी बाढीपीडितलाई राखिएको छ ।


विगत चार दिनदेखि भएको भारी वर्षाका कारण पेरियार र मुवटुपुरा नदीको सतह अत्यधिक बढ्न जाँदा केरलाका उत्तरी जिल्लाहरू कन्नुर, वायनाड, मालप्पुरम, कासरागोड लगायत आधा दर्जन जिल्ला बढी प्रभावित छन् । विशेषगरी बाढीले वायनाड जिल्लामा बढी क्षति भएको छ । त्यस जिल्लामा मात्र बाढीका कारण कम्तीमा ६ जनाको ज्यान गएको स्थानीय प्रशासनले जनाएको छ । त्यसैगरी, वायनाडमै कम्तीमा पनि २० घर पहिरोमा परेको बताइएको छ । वायनाड भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धीको चुनावी क्षेत्र हो ।


बाढी र पहिरोका कारण जनजीवन अस्तव्यस्त भएपछि केरला सरकारले शुक्रबार सार्वजनिक बिदासमेत दिएको थियो । जल तथा मौसम पूर्वानुमान विभागले आगामी चार दिन अत्यधिक वर्षा हुने अनुमान गरेको छ । साथै वायनाडलगायतका सातवटा उत्तरी जिल्लाका मानिसलाई सुरक्षित स्थानमा जानसमेत सचेत गराएको छ । ‘चार दिन लगातार पानी परेको थियो । तर, शुक्रबार मध्याहृनदेखि त वर्षा झन् बढेको छ, जनजीवन पूरै अस्तव्यस्त छ,’ कासरागोठ जिल्लाका एक स्थानीय शिक्षक मधुसूदनले कान्तिपुरलाई बताए ।


स्थानीय सञ्चारमाध्यमका अनुसार मालापपुरम जिल्लाको कवलप्परामा बिहीबार रातिदेखि ५० भन्दा बढी सर्म्पकविहीन छन् । बाढीका कारण रनवेसमेत डुबेका कारण केरलाको कोचिन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारसम्मका लागि बन्द गरिएको छ ।


बाढीपहिरोकै कारण परिस्थिति असहज भएको भन्दै केरलाको अलापुरामा बर्सेनि हुँदै आएको चर्चित नेहरू डुंगा प्रतियोगता पनि हाललाई स्थगन गरिएको छ । यस वर्ष उक्त प्रतियोगिताका लागि भारतका चर्चित क्रिकेटर सचिन तेन्दुल्कर प्रमुख अतिथिका रूपमा निम्त्याइएको थियो ।


बाढीका कारण रेललगायतका सार्वजनिक यातायात अवरुद्ध भएका छन् । विभिन्न रुटका एक दर्जनभन्दा बढी रेल सेवा स्थगित गरिएको छ । केरलाले गतवर्ष पनि बाढीपहिरोका कारण ठूलो क्षति व्यहोरेको थियो । गतवर्ष बाढीपहिरोले ५ सयभन्दा बढीको ज्यान गएको थियो भने सयौं बेपत्ता भएका थिए ।


गत वर्षको बाढी पछिल्लो सय वर्षकै सबैभन्दा विध्वंशकारी बाढी मानिएको थियो । बाढीका कारण करिब ८ लाखभन्दा बढी मानिस विस्थापित भएका थिए ।


त्यसैगरी, अत्यधिक वर्षापछिको बाढीका कारण महाराष्ट्र र अर्को दक्षिण भारतीय राज्य कर्नाटकमा पनि ठूलो जनधनको क्षति भएको छ । शुक्रबारसम्म कर्नाटकमा बाढीले बगाएर ९ जनाको मृत्यु भएको छ भने ४४ हजारभन्दा बढी विस्थापित भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।


कर्नाटकका तटीय क्षेत्रका जिल्ला बाढीले बढी प्रभावित भएका छन् । ऐतिहासिक हिन्दु र जैनमन्दिर रहेको प्रसिद्ध विश्व सम्पदा स्थल पत्तादकाल पनि जलमग्न भएको छ ।

प्रकाशित : श्रावण २५, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?