कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बोर्नियो इन्डोनेसियाको राजधानी प्रस्ताव

एपी

जकार्ता — इन्डोनेसियामा मुलुकको नयाँ राजधानीका लागि शुक्रबार प्रस्ताव गरिएको छ । राष्ट्रपति जोको विडोडोले जकार्ताबाट राजधानी अन्यत्र सार्न प्रस्ताव गरेका हुन् ।

इन्डोनेसियाको ७४औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा सांसद र सरकारी उच्च अधिकारीलाई सम्बोधन गर्दै उनले भने, ‘मैले गरेको प्रस्तावमा समर्थन जनाउन आम जनतासँग आग्रह गर्छु ।’ उनले हालको राजधानी जकार्तामा जनघनत्व अत्यधिक बढेको, अव्यवस्था रहेको तथा फोहोर भएका कारण नयाँ राजधानीका लागि प्रस्ताव गरेको बताए ।


राष्ट्रपति विडोडोले कुनै पनि मुलुकका लागि राजधानी सहर राष्ट्रिय पहिचानको प्रतीक मात्र होइन, मुलुककै प्रगतिको सूचक पनि हुने गरेकाले जार्काताको विल्कप खोज्न आफ्नो सम्बोधनमार्फत आग्रह गरेका हुन् । ‘मुलुकको राजधानी अब बोर्नियो द्वीपमा सारौं । यसमा आम इन्डोनेसियाली जनताको समर्थन र आशीर्वाद चाहन्छु,’ उनले भने, ‘बोर्नियोमा राजधानी सार्ने कार्यले समानता र आर्थिक न्याय पनि प्रदर्शित हुन्छ । यो अग्रगमनमा रहेको इन्डोनेसियाको दूरदृष्टि पनि हो ।’


बोर्नियो द्वीपमा नयाँ राजधानी सहर बसाउनेबारे धेरै वर्षअघिदेखि योजना सारिएका छन् । राष्ट्रपति विडोडोले गत अप्रिलमा जकार्ताबाट जाभा द्वीपमा स्थानान्तरण गर्ने गरी एक योजनालाई स्वीकृत गरेका थिए । उनले बोर्नियो द्वीपको कुन स्थानमा नयाँ राजधानी सहर राख्ने भन्नेबारे खुलाएका छैनन् ।


एसियाकै ठूलो सहर मानिने जकार्ता पछिल्ला वर्षमा चौतर्फी अव्यवस्थाबाट गुज्रिरहेको छ । बाढीले हरेक वर्ष जलमग्न हुने जकार्ताको भूमिगत पानी अत्यन्त प्रदूषित छ भने नदी प्रणाली फोहोरको डंगुरमा परिणत भएको छ । जकार्ताको अव्यवस्थाका कारण उत्पन्न समस्याले अर्थतन्त्रमा करिब ६ अर्ब अमेरिकी डलर नोक्सान भइरहेको छ ।


‘हामी अलग्गै राजधानी होस् भन्ने चाहन्छौं र जकार्तालाई व्यवसाय तथा आर्थिक केन्द्रका रूपमा स्थापित गर्न पनि चाहेका छौं,’ उनले भने, ‘हामी जाभामा सबै रकम केन्द्रित नहोस् भन्ने चाहन्छौं । मुलुकको स्रोतसाधन अन्यत्र पनि विस्तार होस् भन्ने हाम्रो योजना हो ।’ यसैबीच, विकास योजना मन्त्री बामबाङ ब्रोजोनेगोरोले नयाँ राजधानीका लागि करिब ३० हजारदेखि ४० हजार हेक्टर जमिन आवश्यक पर्ने बताए ।

प्रकाशित : श्रावण ३२, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?