१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न आदेश

नयाँ दिल्ली — मदिरा नीति ल्याएर भ्रष्टाचार गरेको आरोपमा प्रवर्तन निर्देशनालय (ईडी)को नियन्त्रणमा रहेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ । यसअघि दिइएको ६ दिनको समय सीमा सकिएपछि ईडीले बिहीबार केजरिवालमाथि अनुसन्धान गर्न थप समय माग गर्दै एवेन्यू कोर्टमा पेस गरेको थियो । ईडीले थप सात दिनको समय मागेकोमा अदालतले चार दिन मात्रै समय थपेको हो । सोमबार अपराह्न १२ बजेभित्र अदालतमा पेस गर्न आदेशमा भनिएको छ । 

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न आदेश

अदालतमा केजरीवालले आफ्नो पक्षबाट स्वयं कुरा राखेका थिए । उनले ईडीको कारबाही आम आदमी पार्टीलाई बदनाम गराउनमात्रै केन्द्रित रहेको जिकिर गरेका थिए । उनले यही मुद्दामा पक्राउ परेका व्यवसायी शरद रेड्डीले भाजपालाई ५५ करोड रुपैयाँ चन्दा दिएको विषय बाहिर आइसकेको भन्दै ईडीले कारबाही थालेपछि भ्रष्टाचार भएको आरोप लगाए । उनले मुख्यमन्त्रीको पदमा रहेका व्यक्तिलाई चार जना अभियुक्तको सामान्य बयानका आधारमा पक्राउ गर्नु उपयुक्त नभएको तर्क राखेका थिए । गत साता ईडीले केजरीवाललाई पक्राउ गरेको थियो । उनी पक्राउ परे पनि मुख्यमन्त्री पदबाट राजीनामा दिएका छैनन् । जेलबाटै सरकार चलाउने भन्दै आएका छन् ।

जेलमा रहेकाले केजरीवाललाई मुख्यमन्त्री पदबाट मुक्त गर्नुपर्ने एउटा निवेदनलाई भने उच्च अदालतले बिहीबार खारेज गरिदिएको छ । उच्च अदालतले त्यस्तो कुनै नियम र कानुन नरहेको भन्दै त्यसमाथि सुनुवाइ नै गर्न चाहेन । अदालतले त्यसमा न्यायीक हस्तक्षेपको कुनै ठाउँ नरहेको भनेको छ ।


प्रकाशित : चैत्र १५, २०८० २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?