कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

सेमिकन्डक्टर चिप उत्पादनमा वर्चस्व कायम गर्ने भारतको लक्ष्य

पाँच वर्षभित्र चिप उत्पादनमा अग्रणी बन्ने गरी भारतद्वारा १० अर्ब डलरको सहुलियत कार्यक्रम घोषणा 

काठमाडौँ — अटोमोबाइल, कम्प्युटर डिभाइस, मोबाइल फोन, डाटा सेन्टरदेखि चिकित्सा सामग्री र सैन्य हतियारहरूमा समेत प्रयोग हुने उन्नत किसिमका सेमिकन्डक्टर चिप उत्पादन र आपूर्ति शृंखलामा विश्वव्यापी वर्चस्व कायम गर्न देशहरूबीच होडबाजी चलिरहेको छ । केही वर्षयता अमेरिका र चीन चिप–युद्धमै उत्रिएका छन् ।

सोही द्वन्द्वका कारण विश्वका ठूला चिप उत्पादक कम्पनीहरूले बेइजिङबाट अन्य देशमा व्यवसाय विस्तार गर्न चाहिरहेको देखिन्छ । यहीमाझ भारतले पाँच वर्षभित्र चिप उत्पादनमा अग्रणी बन्ने गरी १० अर्ब डलरको सहुलियत कार्यक्रम घोषणा गरेको छ ।

भारतमा कारखाना र प्रोडक्सन इकाइ खोल्ने चिप उत्पादक कम्पनीहरूलाई सरकारले यो सहुलियत दिन लागेको हो । यसमार्फत भारतले सेमिकन्डक्टर चिप उत्पादन र वितरणमा ताइवान, दक्षिण कोरिया र चीनको दबदबालाई चुनौती दिन खोजेको भारतीय सूचना प्रविधि एवं दूरसञ्चारमन्त्री अश्विणी वैष्णवले समाचार संस्था पीटीआईसँगको अन्तर्वार्तामा बताएका छन् । टाइम्स अफ इन्डियाका अनुसार वैष्णवले निकै कुशलतापूर्वक तर्जुमा गरिएका नीतिहरूले विश्वव्यापी चिप उत्पादक कम्पनीहरूलाई भारत आउन लोभ्याइरहेको अभिव्यक्ति दिएका छन् । ‘हाम्रोजस्तो अर्थतन्त्र भएको विकासोन्मुख देशका लागि सेमिकन्डक्टरको वितरण शृंखला देशभित्र हुनु आवश्यक छ,’ मन्त्री वैष्णवले भने, ‘हामीसँग उत्कृष्ट डिजाइन क्षमता छ । तर उत्पादन क्षमता पनि हुन जरुरी छ । किनभने त्यसले नै हाम्रो अर्थतन्त्रमा भ्यालु एड गर्ने हो ।’ सेमिकन्डक्टर परियोजनाले रोजगारी सिर्जनादेखि देशको उद्योग र अर्थतन्त्र क्षेत्रमा अत्यन्तै बृहत् प्रभाव पार्ने भारतको अपेक्षा छ । यसले अटोमोबाइल, विद्युतीय सवारीसाधन र अन्य साधन, रक्षालगायत विभिन्न क्षेत्रमा गुणात्मक सकारात्मक वृद्धि ल्याउने भएकाले देशको औद्योगिक इकोसिस्टममासेमिकन्डक्टरको भ्याल्यु चेन निर्माण गर्न आवश्यक रहेको मन्त्री वैष्णवले बताएका छन् ।

भारतले सन् २०२३ मै माइक्रोन कम्पनीलाई गुजरातमा सेमिकन्डक्टर इकाइ खोल्ने अनुमति दिएको थियो । त्यही बेला ताइवानी कम्पनी पावरचिप सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ करसँग मिलेर भारतको टाटा इलेक्ट्रोनिक्सले ११ अर्ब डलर लगानीमा फ्याब्रिकेसन प्लान्ट खोल्ने तय भएको थियो । हालैका समाचारअनुसार टाटाले सन् २०२६ भित्र भारतको आसाममा पहिलो सेमिकन्डक्टर फ्याब्रिकेसन युनिट स्थापना गरिसक्ने जनाएको छ । टाटाले नै गुजरातको ढोलेरामा पनि कारखाना शिलान्यासको तयारी गरिरहेको लाइभमिन्टसँगको अन्तर्वार्तामा टाटा सन्नसका अध्यक्ष एन. चन्द्रशेकरणले भनेका छन् । टाटाका दुई परियोजनासँगै जापानको रेनेसाज इलेक्ट्रोनिक कोरसँगको साझेदारीमा सीजी पावर र इन्डस्ट्रियल सोलुसन्सले पनि सेमिकन्डक्टर एसेम्ब्ली प्लान्ट सुरु गर्दै छन् ।

प्रकाशित : वैशाख १२, २०८१ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?