कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गण्डकीमा ४१ हजार विद्यार्थीले दिए एसईई, किरियापुत्री पनि सहभागी

कास्की — माध्यमिक शिक्षा परीक्षा (एसईई) मा यस वर्ष गण्डकी प्रदेशबाट ४१ हजार २ सय ३६ विद्यार्थी सहभागी भएका छन् । जसमा नियमिततर्फ ३९ हजार ४२ जना परीक्षार्थी छन् । त्यस्तै, प्राविधिकधारतर्फ १ हजार ३ सय ९० र अन्य ग्रेड वृद्धितर्फका रहेका छन् ।

गण्डकीमा ४१ हजार विद्यार्थीले दिए एसईई, किरियापुत्री पनि सहभागी

शिक्षा विकास निर्देशनालयका निमित्त महानिर्देशक अम्बिकाप्रसाद आचार्यका अनुसार ३ सय १ जना परीक्षार्थी अनुपस्थित भएका थिए । ३ सय १ जना अपांगता भएका परीक्षार्थी थिए भने दुई जना किरियापुत्री रहेको उनले बताए । उनका अनुसार स्याङ्जाको पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रमा दुई क्रियापुत्री परीक्षामा सहभागी थिए ।

फेदीखोला गाउँपालिका ४ घर भई सिद्धार्थ माविमा अध्ययनरत संगम र सौगात क्षत्री (दाजुभाइ) परीक्षामा सहभागी भएका हुन् । उनीहरुका चार दिनअघि बुबाको मृत्यु भएको थियो ।

निर्देशनालयका अनुसार बिहीबारदेखि सुरु भएको यस वर्षको एसईई परीक्षा गण्डकीका ११ वटै जिल्लामा संचालन भएको छ । आचार्यका अनुसार १ हजार ३ सय ३२ विद्यालयलाई २ सय १४ परीक्षा केन्द्र कायम गरी परीक्षा सञ्चालन गरिएको छ । उक्त परीक्षा सञ्चालनका लागि २ सय १४ जना केन्द्राध्यक्ष, ३ सय ७२ जना सहायक केन्द्राध्यक्ष, २ हजार १ सय ४४ जना निरीक्षक, ५ सय १८ जना परीक्षा सहायक, ९ सय २३ कार्यालय सहयोगी र करिब ३ हजार २ सय १० जना सुरक्षाकर्मी खटिएका छन् ।

प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला परीक्षा व्यवस्थापन समिति गठन गरिएको छ । समितिले परीक्षाको आवश्यक व्यवस्था गर्ने निर्देशनालयले जनाएको छ । बिहान ८ बजेदेखि सुरु भएको पहिलो दिन अंग्रेजी विषयको परीक्षा थियो । एसईई चैत २७ गतेसम्म संचालन हुनेछ ।

२४ माघ २०७८ मा राष्ट्रिय परीक्षा बोर्ड नियमावलीमा पहिलो संशोधनले सबै प्रदेशमा एसईई परीक्षालाई थप व्यवस्थित र मर्यादित बनाउन प्रदेशको शिक्षा हेर्ने सचिवको अध्यक्षतामा पाँच सदस्यीय प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति गठन गरेको छ । सोही प्रावधानअनुसार गण्डकी प्रदेशमा पनि सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिवको अध्यक्षतामा समिति गठन भएको छ ।

समितिले परीक्षालाई स्वच्छ, स्वस्थ, मर्यादित र शान्तिपूर्ण एवं भयरहित वातावरण सिर्जना गरी परीक्षा सञ्चालन गर्न सबै जिल्लामा पत्राचार गरेको जनाएको छ ।

प्रकाशित : चैत्र १५, २०८० १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?