कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

कर्णाली साहित्य महोत्सव : पुस्तक, नेतृत्व र समृद्धिबारे बहस

सुर्खेत — कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा पहिलोपल्ट आयोजना गरिएको कर्णाली साहित्य महोत्सवमा किताब, नेतृत्व र समृद्धिबारे बहस भएको छ । महोत्सवको उद्घाटन गर्दै प्रदेश प्रदेश प्रमुख तिलक परियारले कर्णालीको विगत गौरवपूर्ण रहेको बताए ।

कर्णाली साहित्य महोत्सव : पुस्तक, नेतृत्व र समृद्धिबारे बहस

‘कर्णाली कला, साहित्य र संस्कृतिमा मात्र धनी छैन, कुनैबेला यो नेपालको सबैभन्दा शक्तिशाली र आत्मनिर्भर राज्य हो,’ उनले भने, ‘कर्णालीलाई राम्ररी अध्ययन गरेर यसको विकास गर्न सके कर्णाली सबैभन्दा समृद्ध प्रदेश बन्न सक्छ ।’ लेख्ने, पढ्ने र सोच्ने कुरालाई नयाँ तरिकाले विकास गर्नुपर्ने उनको भनाइ छ ।

फ्युचर नेपाल र कर्णाली रिडर्स सोसाइटीले आयोजना गरेको महोत्सवमा जनमत पार्टीका अध्यक्ष एवं सांसद सीके रावतले जुनसुकै क्षेत्रको नेतृत्वले पनि पुस्तक पढ्नैपर्ने बताए । ‘पढ्ने संस्कृतिले परिकल्पनालाई बृहत् बनाउँछ र संसार बुझ्ने मौका दिन्छ, आफूभित्रको विरोधाभासलाई हटाउँछ,’ उनले भने, ‘पुस्तक पढ्दा ओपन माइन्डेड हुनुपर्छ, जसले किताबभित्रको पूरा ज्ञान हासिल गर्न सकिन्छ् ।’ आत्मविश्वास बढाउन र सकारात्मक ऊर्जा प्राप्त गर्न पनि पढ्नुपर्ने उनको भनाइ छ ।

वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले समाजलाई सही बाटोमा ल्याउन नेतृत्व तहले पढ्नैपर्ने बताइन् । ‘स्कुल–कलेजमा पढेपछि बाँकी रहेको कुरा नै आफ्नो ज्ञान हो,’ उनले भनिन्, ‘अघिल्लो पुस्ताको सम्मान र संस्कार बुझाइका लागि पनि किताब पढ्न जरुरी छ ।’ पत्रकार बसन्त बस्नेतले सहजीकरण गरेको ‘पठन र नेतृत्व’ सत्रमा उनले दबाबभन्दा रहर र अनुभूति गरेर पढ्दा धेरै ज्ञान हुने उनको भनाइ छ ।

‘भाषाको भूगोल, साहित्यको सिमाना’ सत्रमा बोल्दै नेपाली भाषामा विद्यावारिधि गरेका माइकल हर्टले साहित्य र भाषाले हृदयलाई जोड्ने बताए । साहित्यको सिमाना भौगोलिक नापनक्साभन्दा बृहत् भएको उनको भनाइ छ । आफूले अध्ययनका क्रममा कर्णाली दुर्गम भएको अनुभव गरे पनि इतिहास, भाषा, साहित्य, कला र संस्कृतिमा अथाह सम्भावना भएको बताए । ‘काठमाडौंमा बसेर कर्णालीलाई बुझ्न सकिँदैन, तर नेपालको साहित्य राजधानीको वरिपरि मात्र सीमित छ,’ उनले भने ।

कर्णाली ब्लुजका लेखक बुद्धिसागरले लेखकले अरूको नजरियाभन्दा फरक तरिकाले कुनै वस्तु तथा विषयलाई देख्ने र त्यही कुरा अरूलाई बुझाउन लेख्ने गरेको बताए । ‘म लेख्दा कल्पनाको एउटा प्लट बनाउँछु, त्यसमा घर बन्छ, कोठा बन्छन्, फूलबारी र वातावरण बनाउँछु, तर ठेगाना पाठकलाई दिँदैन,’ उनले भने, ‘बाँचिरहेको र कल्पना गरेको संसारबीचको तुलना नै साहित्य हो, जीवनको सबैभन्दा ठूलो मिठास लेख्दा नै पाइन्छ ।’

साहित्यकार वसन्ती शाहीले आफ्नो अभिव्यक्ति अरूलाई बुझाउन लेख्ने गरेको बताइन् । यज्ञशले सहजीकरण गरेको ‘किन पढ्ने र किन लेख्ने ?’ सत्रमा बोल्दै कवि रमेश क्षितिजले एउटा फ्रेमभित्र नबसेर आफ्नो मूल्य र मान्यता कायम राख्दै साहित्य सिर्जना गरिने बताए । अर्का लेखक ओम रिजालले आफ्नो कल्पनालाई मूर्तरूप दिन साहित्य सिर्जना गर्ने बताए । साहित्य महोत्सवमा पठन संस्कृतिबारे बहस विमर्श र कर्णालीबारे लेखिएका पुस्तक प्रदर्शनी गरिएको थियो ।

कार्यक्रमका संयोजक नवराज केसीले कर्णालीको भाषा, साहित्य र संस्कृतिको विकासमा महोत्सवले टेवा पुर्‍याएको बताए ।

प्रकाशित : वैशाख १२, २०८१ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?