२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

४ जेट विमानसहित आए कतारी अमिर

सुरज कुँवर

काठमाडौँ — दुईदिने नेपाल भ्रमणका लागि कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी बिजनेस जेट (भीभीआईपी) सहित चार जहाजका साथ ढाकाबाट मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका छन् ।

४ जेट विमानसहित आए कतारी अमिर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विशिष्ट व्यक्तिका लागि हुने उडानको नियमअनुसार दिउँसो ४ देखि ५ बजेसम्म एक घण्टाका लागि उड्डयनकर्मीहरूका लागि जारी हुने सूचना (नोटिस टू एअरम्यान–नोटाम) लागू गरेको थियो । तर कतारी अमिर सवार एयरबस ए–३४०–५४१ विमान नोटाम लागू हुनु २० मिनेटअघि नै काठमाडौंमा अवतरण भयो ।

अमिर सवार विमानलाई विशेष प्राथमिकतामा राखेर अवतरण गराइएको विमानस्थलका एक अधिकारीले जनाए । अमिर सवार एयरबसको ए–३४० विमान भने दिउँसो ३ः४० मा काठमाडौं विमानस्थलमा अवतरण भएको थियो । चार वटा इन्जिन भएको ४ सय हाराहारी यात्रु क्षमताको उक्त विमानमा अमिरसहित ४० जना हाराहारीका कर्मचारीको समूह थियो । अमिर सवार विमानपछि एयरबसको अर्को ए–३४० बिजनेस जेट विमान ३० मिनेटपछि अवतरण भएको थियो । यो विमान चाहिँ अमिरको विमानमा कुनै प्राविधिक समस्या आइहाले ‘स्ट्यान्ड–बाई’ रहन्छ । ‘स्ट्यान्ड–बाई’ विमान भने बुधबार बिहान अमिर उड्नुअघि नै काठमाडौंबाट दोहा उड्ने तालिका रहेको स्रोतले बतायो । उड्डयन स्रोतका अनुसार, अमिरको भ्रमणमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार चार विमानलाई नेपाल उडानको अनुमति दिएको थियो ।

कतारी अमिरको भ्रमण तयारीका लागि पहिलो विमान गल्फस्ट्रीम जी–६५० ईआर सोमबार साँझ र दोस्रो विमानमा मंगलबार बिहान ११ बजे नै काठमाडौंमा अवतरण भएका थिए । गल्फस्ट्रिम जी–६५० ईआरले अमिरको बिजनेस जेटका लागि अवतरणपछि आवश्यक पर्ने जहाजका यन्त्र र उपकरण ल्याएर आएको थियो । दोस्रो विमानमा भने अमिरका सहयोगी र कर्मचारी थिए ।

चार वटै विमानका लागि काठमाडौंस्थित कतारी दूतावासमार्फत दोहाबाट कतार एयरवेजको सहायक कम्पनी ‘कतार एक्जिक्युटिभ’ ले पहल गरेको थियो । गल्फस्ट्रिम जी–६५० ईआर विमान लामो दूरीको उडानका लागि विश्वभर प्रख्यात छ । विश्वका भीभीआईपी, धनी, उद्यमी, सेलिब्रेटी एक महादेशबाट अर्को महादेशको यात्रा गर्दा गल्फस्ट्रिम जी–६५० ईआर विमान प्रयोग गर्छन् । यो भ्रमणमा चार वटै विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ल्यान्डिङ–पार्किङबापतको शुल्क बुझाउनुपर्नेछैन । तर, अमिरसहित सबै भीभीआईपीको प्रतियात्रु ३३ सय रुपैयाँ ‘एयरपोर्ट सर्भिस चार्ज’ भने लाग्नेछ ।

तीन वटा विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका मुख्य तीन वटा ठूला पार्किङ वेमा राखिएका छन् । सोमबार आएको गल्फस्ट्रिम जी–६५० ईआरलाई पार्किङ उपकरण राखिने स्थानमा राखिएको छ ।

प्रकाशित : वैशाख १२, २०८१ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?