कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोबाइलमा एआई फिचर राख्ने होड

एजेन्सी

काठमाडौँ — प्रविधि कम्पनीहरूमाझ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा बढिरहेको प्रतिस्पर्धाबीच आईफोन निर्माता एप्पल इंकले पनि चुपचाप रूपमा विभिन्न रणनीतिक कदम चालिरहेको पाइएको छ । कम्पनीले सन् २०१७ देखि नै एआईमा काम गरिरहेका स्टार्टअप भकाभक खरिद गरी आफू मातहत ल्याएको खुलासा गरेको छ ।

मोबाइलमा एआई फिचर राख्ने होड

एप्पलले ६ वर्षमा कम्तीमा २१ वटा टेक–स्टार्टअप कम्पनी ‘एक्वायर’ गरिसकेको द भर्जले जनाएको छ ।

आफ्नो नियमित त्रैमासिक वित्तीय सम्मेलनमा बिहीबार एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले आफूहरू जेनेरेटिभ एआई सफ्टवेयर विकासमा लागिपरेको बताए । त्यस्ता फिचर यो वर्षको अन्त्यसम्ममा प्रयोगकर्ताका डिभाइसहरूमा उपलब्ध हुने उनको भनाइ छ । यसअघि ब्लुमबर्गका प्रविधि पत्रकार मार्क गुरम्यानले आईओएस १८ मा उल्लेख्य परिवर्तन देखिने जनाएका थिए । यसलाई उनले अपरेटिङ सिस्टमको ‘इतिहासमै ठूलो अपडेट’ हुने आकलन गरेका छन् ।

एप्पलले आईफोन, आईप्याड र म्याकमा समेत एआई समाहित गरी प्रयोगकर्ताका लागि नयाँ अपडेट उपलब्ध गराउने अपेक्षा गरिएको छ । मोर्गन स्टान्लीका विश्लेषकहरूको अनुमानअनुसार एप्पलले आफ्नो भर्चुअल एसिस्टेन्ट ‘सिरी’ लाई थप सशक्त बनाउँदै आईओएस १८ मा जेनेरेटिभ एआई फिचर समावेश गर्नेछ । लार्ज ल्याङवेज मोडलको नयाँ ‘सिरी’ले मोबाइल फोनको एआई क्षमता अहिलेको भन्दा निकै प्रभावशाली बनाउने अनुमान गरिएको छ ।

‘एआई जस्ता भविष्यलाई आकार दिने प्रविधिहरूमा हामी लगानी बढाउँदै जानेछौं,’ एप्पल प्रमुख कुकले भनेका छन्, ‘एआईमा हामी उल्लेख्य लगानी र पहल बढारहेका छौं, यसबारे आउँदा दिनमा विस्तृतमा जानकारी दिनेछौं ।’

पछिल्ला महिनामा गुगल र सामसङले पनि फोटो सम्पादनदेखि बोलेरै टाइप हुने, लेखिएका शब्दहरूको रङ फेर्न मिल्ने, भ्वाइस, टचलगायत सुविधा एकसाथ उपलब्ध हुने एआई फिचरमा काम गरिरहेका छन् ।

मोबाइल फोनमा विकसित एआई समाहित गरी हेल्थ मोनिटरिङ र भाषा अनुवादको सुविधासहित ह्याकिङ जस्ता साइबर थ्रेटविरुद्ध सुरक्षा दिने, गेमिङ, फिल्म, शिक्षालगायत विषयमा अग्मेन्टेड रियालिटी (एआर) अर्थात् डिजिटल सूचनाहरू वास्तविक पृष्ठभूमिमा देखाउने प्रविधिको अनुभव उपलब्ध गराउन डिभाइस निर्माताहरूबीच होडबाजी चलिरहेको छ । सिरी र इमेज रिकग्निसनलाई थप परिष्कृत बनाउन एप्पलले एआईमा काम गरिरहेको छ भने गुगलले गुगल एसिस्टेन्ट र अन–डिभाइस ट्रान्सलेसन फिचर सुधार गरिरहेको छ ।

शक्तिशाली प्रोसेसिङ चिप्ससहित हार्डवेयर इन्नोभेसनमा लागिपरेको सामसङले आफ्नो बिक्सबी एआई एसिस्टेन्ट फिचरलाई विभिन्न डिभाइस र सेवाहरूमा राख्दै आएको छ । हुवावेले एआईको रिसर्च एन्ड डिभलप्मेन्टमा उल्लेख्य लगानी बढाएको समाचार संस्थाहरूले जनाएका छन् । कम्प्युटर भिजन र स्वचालित सवारी (सेल्फ–ड्राइभिङ कार) जस्ता क्षेत्रमा हुवावेको प्रमुख ध्यान देखिन्छ । एआईको फिचरहरूले प्रयोगकर्तालाई सहजता दिने भए पनि योसँगै गोपनीयता उल्लंघन र समावेशिताको विषय पनि जोडिएर आउने भएकाले एआईलाई लिएर सरकारहरू शंकालु पनि बनिरहेका छन् ।

प्रकाशित : माघ २२, २०८० ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?