कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टेलिकमले विश्व परिवेशलाई ध्यान दिएर सेवाको गुणस्तर बढाउनुपर्छ : मन्त्री शर्मा

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमल विश्व परिवेशलाई ध्यान दिएर ग्राहकहरुलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने गरी आफ्नो नीति योजना तथा कार्यक्रमको सञ्चालन गर्नुपर्ने बताएकी छन् ।

टेलिकमले विश्व परिवेशलाई ध्यान दिएर सेवाको गुणस्तर बढाउनुपर्छ : मन्त्री शर्मा

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको २० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नेपाल टेलिकम सरकारको अधिकांश स्वामित्व भएको संस्था भएकाले सरकारको उद्देश्य र कार्यक्रमलाई अवलम्वन गरी सूचना प्रविधीको तीव्र विकास भइरहेको आजको विश्व परिवेशमा ग्राहकहरूलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने गरि आफ्नो नीति योजना तथा कार्यक्रमको सञ्चालन गर्नुपर्ने बताइन् ।

फोरजी सेवाको बिस्तार र यसको उपयोगमा उल्लेखनीय वृद्धि, अप्टिकल फाइबर योजनाहरू यथाशीघ्र सम्पन्न, सेवाको गुणस्तरमा उल्लेखनिय वृद्धिमा जोड दिँदै एफटिटिएच व्यवसायको आक्रामक बिस्तार, आय चुहावटको नियन्त्रण, एसएमएस गेटवे उचित दरमा दिने गरी बिस्तार गर्न आग्रह गर्दै मन्त्री शर्माले पूर्वाधार कम्पनी, आईटी कम्पनी स्थापनाका साथै नमस्ते पे को व्यापारमा बिस्तार गर्ने बारेमा आवश्यक गृहकार्य गर्न पनि टेलिकमलाई आग्रह गरिन् ।

यस बाहेक कम्पनीमा भइराखेका अनुत्पादक खर्च नियन्त्रण गर्न र कम्पनीको हालको अवस्थाअनुसार कम्पनीले आगामी दिनहरूमा लिने पहलहरूमा सुक्ष्म रुपमा अध्ययन गरेर बजारको आजको अवस्था र आगामी दिनहरूमा आईपर्ने कुराहरूलाई ध्यानमा राखी दीर्घकालीन व्यावसायिक योजना तयार गर्न पनि उनले टेलिकमलाई आग्रह गरिन् ।

आफू मन्त्रालयको जिम्मेवारीमा आएको एक वर्ष पूरा भएको र यस अवधिमो कम्पनीबाट गर्नुपर्ने नयाँ कार्यक्रम, सुधारका कार्यहरूमा धेरै पटक छलफल गरेको स्मरण गराउँदै उनले सेवामा गुणस्तर कायम गर्न नेपाल टेलिकमबाट वितरण भएका सम्पूर्ण सेवाहरूको मर्मत सम्भारलाई थप चुस्त र प्रभावकारी बनाउन विहान ७ देखि साँझ ७ बजेसम्मको मर्मत सेवा सञ्चालन गर्ने, टेलिकमका सम्पूर्ण सेवालाई नमूना दूरसञ्चार सेवाको रुपमा विकास गर्नयो वर्ष १९ जिल्लालाई छनौट गरिएको र सबै राजमार्गहरूमा पहूँच र गुणस्तरीय सेवा विस्तारको कार्यक्रम राखिएको जानकारी दिइन् ।

यो वर्ष सस्तो दरमा इन्टरनेटको अन्तर्राष्ट्रिय व्याण्डविथ सेवा खरिद भएको जानकारी दिँदै उनले भनिन्, ‘तर हामी यतिमै सन्तुष्ट हुने अवस्था छैन । हामीले अघि सारेका सेवा प्रवाहमा सुधार र आय वृद्विका कार्य योजनाहरूको प्रगतिको पनि स्मरण र मूल्यांकन गर्ने बेला हो । हासिल हुन नसकेको बाँकी उपलब्धिको कारण पहिल्याई कमीकमजोरीमा सुधार गरी थप कार्ययोजना र उर्जाका साथ एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ ।’

सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिंदै मन्त्री शर्माले सूचना प्रविधिको आधारभूत पूर्वाधार दूरसञ्चार नै भएकाले सरकारको डिजिटल नेपालको अवधारणा कार्यान्वयन गर्न अप्टिकल फाईवर विस्तार गरी सूचना महामार्ग निर्माण गर्ने, मुलुककका सबै क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच र गुणस्तर वृद्धि गर्नेतर्फ कम्पनीका कार्यक्रमहरू परिलक्षित रहेको बताइन् ।

प्रकाशित : माघ २२, २०८० १४:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?