२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८७

इकोनमिक्स ओलम्पियाड क्षमतावान्‌लाई अवसर

अर्थतन्त्र, व्यापार र वित्तीय शिक्षाबारे विद्यालय तहदेखि नै कौतूहल जगाउनुका साथै सचेतना अभिवृद्धि गर्ने उद्देश्यले योङ इकोनमिक्स सोसाइटी–नेपालले ओलम्पियाड आयोजना गर्दै आएको छ 
सजना बराल

काठमाडौँ — नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीका अल्पकालीन र दीर्घकालीन प्रभावबारे सोधिएको प्रश्नमा चितवनको वाल्मीकि शिक्षा सदनका छात्र प्रसिद्ध अधिकारीले निकै सटीक र गहन जवाफ दिए । त्यही जवाफले उनलाई राष्ट्रिय स्तरको इकोनमिक्स ओलम्पियाड २०२४ मा देशभरका सहभागीमध्ये सर्वाधिक अंक ल्याउने स्वर्ण पदक विजेता बनाइदियो ।

इकोनमिक्स ओलम्पियाड क्षमतावान्‌लाई अवसर

अर्थतन्त्र र वित्तीय क्षेत्रका अन्य प्रश्नसँगै सामूहिक गृहकार्यअन्तर्गत व्यवसायसँग जोडिएको समस्या–समाधानका उपायहरूबारे पनि उनको उत्तर र प्रस्तुति चित्तबुझ्दो थियो ।

अर्थशास्त्रको मौखिक परीक्षामा प्रसिद्धले निर्णायकहरूसामु भनेका थिए, ‘तत्कालका लागि वैदेशिक रोजगारीको आर्थिक प्रभाव हाम्रो अर्थतन्त्रका लागि सकारात्मक वा फाइदाजनक नै होला तर दीर्घकालीन रूपमा लाभदायक हुँदैन । अहिले हाम्रो वैदेशिक रकमको सञ्चिति प्रशस्त छ, बैंकमा पुँजी थुप्रिएको छ तर त्यसको उपयोग हुन सकेको छैन । बैंकमा मुभेबल रकम भए पनि माग छैन, उपभोक्ताको क्रयशक्ति घटेको छ, खपत कम छ । पर्याप्त पुँजी हुँदाहुँदै पनि आर्थिक संकट देखिएको छ । भविष्यमा यस्तो अवस्था अझै जटिल बन्न सक्ने भएकाले वैदेशिक रोजगारीमा निर्भर अर्थतन्त्र दीर्घकालमा असफल हुन सक्छन् ।’ प्रसिद्धले समाचार र अर्थशास्त्रका किताब पढेपछि विप्रेषणमा आधारित अर्थतन्त्रबारे यस्तो बुझाइ निर्माण भएको बताए ।

इकोनमिक्स ओलम्पियाडमा प्रसिद्धसँगै युनिग्लोब सेकेन्डरी स्कुलकी दीक्षा खिउजू, रातो बंगला स्कुलका सन्दीप आचार्य, बूढानीलकण्ठ स्कुलका प्रज्ञान शर्मा र युलेन्स स्कुलका प्रभात शाक्यले स्वर्ण पदक जितेका थिए । योसँगै उनीहरू आउँदो जुनमा हङकङमा आयोजना हुने अन्तर्राष्ट्रिय इकोनमिक्स ओलम्पियाड (आईईओ) का लागि योग्य भई हाल बन्द प्रशिक्षणमा छन् । फागुन ५ देखि ७ मा चलेको राष्ट्रिय स्तरको प्रतियोगितामा सातै प्रदेशका ४० स्कुल तथा कलेजका २० वर्षभन्दा कम उमेरका १४ सय ३६ जना विद्यार्थीले आवेदन दिएका थिए । तीमध्ये उत्कृष्ट ८० मा पर्ने विद्यार्थीहरूमाझ काठमाडौंको एपेक्स कलेजमा अन्तिम चरणको तीनदिने प्रतियोगिता आयोजना भएको थियो ।


अर्थतन्त्र, व्यापार र वित्तीय शिक्षाबारे विद्यालय तहदेखि नै कौतूहल जगाउनुका साथै सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो ओलम्पियाड आयोजना गर्दै आएको योङ इकोनमिक्स सोसाइटी–नेपालका अध्यक्ष अर्जुन सापकोटा बताउँछन् । उनका अनुसार प्रतियोगिताका विजेताले अन्तर्राष्ट्रिय पहुँच प्राप्त गर्नुका साथै कतिपय पूर्वविजेताले विश्वका ठुल्ठूला कार्यकम र विश्वविद्यालयमा छात्रवृत्तिसमेत पाएका छन् । यिनै अवसर र एक्स्पोजरका साथै सम्बन्ध विस्तार (नेटवर्किङ) का लागि पनि पछिल्लो समय युवा विद्यार्थीमाझ इकोनमिक ओलम्पियाड लोकप्रिय बनेको अर्जुनको बुझाइ छ । ‘नेपालमा अर्थतन्त्र, व्यापार र वित्त क्षेत्रको ज्ञान एवं सचेतना अझै धेरै बढाउन आवश्यक छ,’ अर्जुन भन्छन्, ‘त्यसकै कमीले गर्दा विकास–निमार्णसम्बन्धी हाम्रा मुद्दाहरू यतिविघ्न गिजोलिएका हुन् ।’

कतिपय देशमा सरकार र विश्वविद्यालयहरूको पहल र अग्रसरतामा इकोनमिक्स ओलम्पियाड हुने गरेका भए पनि नेपालमा विद्यार्थीहरू आफैंले क्षेत्रीय र राष्ट्रिय स्तरको यो प्रतियोगिता आयोजना गर्दै आएका छन् । अर्थशास्त्रका विद्यार्थी अर्जुनले भरत खरललगायत साथीसँग मिलेर सन् २०१९ देखि ओलम्पियाड आयोजना गर्दै आएका छन् । त्यो बेला रुसमा भएको ओलम्पियाडमा ट्रिनिटी इन्टरनेसनल कलेजकी दीपशिखा श्रेष्ठले रजत पदक जितेकी थिइन् । रुसको प्रतियोगितापछि अर्जुनको समूहले राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरे । त्यसमा स्वर्ण पदक जितेकाहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सामेल गराए ।

सीमित स्रोत–साधन र साधारण प्रशिक्षण पाए पनि नेपाली विद्यार्थीहरूले अन्तर्राष्ट्रिय इकोनमिक्स ओलम्पियाडमा हरेक वर्ष विभिन्न पदक जित्दै आएको अर्जुन बताउँछन् । सन् २०२० मा काजखस्तानमा र सन् २०२१ मा लातिभामा भएको प्रतियोगितामा नेपालले दुई–दुई वटा कांस्य पदक जितेको थियो । अन्तर्राष्ट्रिय ओलम्पियाडमा ४८ देखि ५० देशले भाग लिने गरेका छन् । ‘यसपालि स्वर्ण पदक नै जित्ने गरी विद्यार्थीहरूलाई बन्द प्रशिक्षणमार्फत तालिम दिइरहेका छौं,’ अर्जुन भन्छन्, ‘अर्थशास्त्र र वित्तीय साक्षरतामा नेपालको प्रस्तुति राम्रो छ तर व्यवसाय सन्दर्भतर्फको विधामा कमजोर देखिँदै आएका छौं । यसलाई सुधार्नुपर्नेछ ।’ नेपाली विद्यार्थीहरूलाई अर्थ क्षेत्रको ज्ञान र जानकारी अभिवृद्धि गर्न आफूहरूले परिष्कृत पाठ्यक्रमसमेत विकास गरेका अर्जुनले बताए ।

अघिल्लो वर्षको अन्तर्राष्ट्रिय इकोनमिक्स ओलम्पियाडमा सहभागी सेन्ट जेभियर्स कलेजका छात्र अनुभव ढुंगाना अर्थतन्त्रको विषयमा बुझ्न र धारणा विकास गर्न प्रतियोगिता सहयोगी बनेको बताउँछन् । उनका अनुसार कुनै पनि देशको अर्थतन्त्र सुधारको विषयलाई शैक्षिक वा प्राज्ञिक कोणबाट हेरिनुपर्छ । सरकारले देशभरका विद्यार्थीलाई समान रूपले गुणस्तरीय शिक्षाको पहुँच सुनिश्चित गरेमात्रै त्यसले आलोचनात्मक चेत भएका प्रतिस्पर्धी र क्षमतावान् जनशक्ति उत्पादनमा सघाउने उनको बुझाइ छ । ‘हामीलाई पछि पारेकै कमजोर शैक्षिक प्रणालीले हो,’ अनुभव भन्छन्, ‘सरकारी र दूरदराजका विद्यालय र सहरी क्षेत्रका निजी स्कुल/कलेजहरूको शैक्षिक गुणस्तर फरक छ । शिक्षाको यो ग्याप नमेटाएसम्म देशको आर्थिक सुधार सहज छैन ।’

हाल बन्द प्रशिक्षणमा रहेकी युनिग्लोब कलेजी दीक्षा खिउजूचाहिँ व्यवसाय सञ्चालन गर्दा ‘टिम वर्क’ र फरक धारणाको ठूलो महत्त्व हुनेबारे आफूले ओलम्पियाडबाटै सिकेको सुनाउँछिन् । ‘बिजनेस केस एनालिसिस भन्ने क्याटेगरीमा हामीलाई एउटा नयाँ किसिमको चियापत्तीको बजार विश्लेषण गरेर त्यसमा कहिले र कति लगानी गर्ने वा लगानी गर्दै नगर्ने भन्ने टुंगो लगाउनुपर्ने थियो,’ दीक्षा भन्छिन्, ‘हामीले वित्त व्यवस्थापन, बजारीकरण, डिजाइनिङ, ब्रान्डिङलगायत विषयमा काम बाँडफाँट गरेर अध्ययन गरौं । जजहरूले सोध्नुभएको प्रश्नमा सबैले मिलेर जवाफ दिँदा हाम्रो प्रस्तुति प्रभावकारी बन्यो ।’ उनले भविष्यमा व्यवसाय सञ्चालन गर्ने उद्देश्य रहेको बताइन् ।

राष्ट्रिय इकोनमिक्स ओलम्पियाडको अवार्ड वितरण कार्यक्रममा उपस्थित नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले नेपालमा १४ देखि ५९ वर्ष उमेर समूहको काम गर्न सक्ने जनशक्ति उल्लेख्य भएकाले यो जनसांख्यिक लाभलाई देशको संस्थागत विकास प्रक्रियामा लगाउनुपर्ने भनाइ राखेका थिए । त्यस्तै, आयोजक संस्थाका बोर्ड अफ ट्रस्टीसमेत रहेका अर्थशास्त्री विश्व पौडेलले ओलम्पियाड मात्रै नभई कुनै पनि कार्यक्रममा देशका सबै भेगका विद्यार्थीको सहभागितासँगै पुरस्कृत हुनेदेखि आयआर्जनमा समेत समान पहुँच र उपस्थिति हुनुपर्ने धारणा राखे । सहरी क्षेत्र र निजी विद्यालयको मात्रै वर्चस्व नहोस् भनेर क्षेत्रीय स्तरमा पनि इकोनमिक्स ओलम्पियाड आयोजना गर्ने गरेको र यस वर्षदेखि सरकारी विद्यालयका विद्यार्थीलाई निःशुल्क सहभागी गराउन थालिएको अर्जुनले स्पष्ट पारे ।

प्रकाशित : चैत्र ६, २०८० ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?