२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८७

ट्रक बेचेर बाख्रापालन

ट्रक किन्दा ४८ लाख रुपैयाँ लगानी गरेका सुनील घिमिरेले बेच्दा १९ लाख हात पारे, केही गर्दा पनि नभएपछि पाँच वर्षअघि बाख्रापालनतिर लागे, अहिले भने आफ्नो कामबाट सन्तुष्ट छन् 
मनोज पौडेल

कपिलवस्तु — शिवराज नगरपालिका–१, बनकसबासाका ४३ वर्षीय सुनील घिमिरे अहिले बाख्रा हेरचाहमा व्यस्त छन् । आफूले जानेको सीप र व्यवसायमा नोक्सानी बेहोरेपछि उनी बाख्रापालनमा जुटेका हुन् । बनकसबासामा फार्म नै दर्ता गरेर उनी अहिले बाख्रा पालनलाई व्यावसायिक बनाउँदै छन् ।

ट्रक बेचेर बाख्रापालन

कुनै बेला घिमिरे राम्रा मेकानिक्स थिए । ग्यारेज खोलेर केही समय सेवा दिए । तर उनले सोचेजस्तो भएन । त्यसपछि वैदेशिक रोजगारीका निम्ति साउदी अरब पुगे । त्यहाँ उनले अटो हेल्परको काम गरे । त्यहाँ पनि सोचेजस्तो कमाइ नभएपछि नेपाल फर्केर बोलेरो जिप किनेर चलाएको उनले सुनाए । ‘जिपको कमाइले ब्याज तिर्न पनि पुगेन,’ उनले भने, ‘त्यसपछि त्यो पनि बेचेर बैंक ऋण लिई १० र १२ चक्के पुरानो ट्रक किनें ।’ जुनसुकै काम गरे पनि घाटा सिवाय केही नभएको उनले सुनाए । ट्रक खरिद गर्दा ४८ लाख रुपैयाँ लगानी गरेका उनले बेच्दा १९ लाख हात परेको सुनाए । ‘केही गर्दा पनि नभएपछि पाँच वर्षअघि बाख्रा पालनतिर लागेको हुँ,’ उनले भने, ‘अहिले आफ्नो कामबाट सन्तुष्ट छु, हिम्मत नहारीकन काम गरेपछि एक दिन सफल भइने रहेछ ।’

तीन वटा माउपाठी बाख्रा हुर्किरहेकामा पाँच वर्षअघि ७ वटा थपेर व्यावसायिक बाख्रा पालन सुरु गरेको उनले सुनाए । ‘स्थानीय खरी जातका बाख्रा ल्याएर पाल्न सुरु गरेको थिएँ,’ उनले भने, ‘६ महिनामै दोब्बरभन्दा बढी भए ।’ खरी, बाबरी र बोयर जातका बाख्रा थप्ने क्रमलाई उनले निरन्तरता दिएका छन् । ‘तीन वर्षअघि ३ लाखभन्दा बढीका खसीबोका बेचें,’ उनले भने, त्यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन ।’ अहिले उनी निकै उत्साहित छन् । उनको बाख्रा फार्म हेर्न संघसंस्थाका प्रतिनिधिका साथै गाउँले बरोबर आइरहन्छन् ।

‘सबैले राम्रो गर्नु भयो भन्दै बधाई दिँदै फर्किन्छन्,’ घिमिरेले भने, ‘यस्तो हौसलाले काम गर्ने जाँगर पनि बढ्दो रहेछ ।’ यस वर्ष मात्रै २७ वटा खसीबोका बेचेर ४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको उनले सुनाए । आम्दानी बढेसँगै उनका बाख्रा पनि बढेका छन् । अहिले आफ्नो फार्ममा ६७ वटा बाख्रा रहेको उनले बताए । ‘१६ वटा त बोका मात्रै छन्,’ उनले भने, ‘उन्नत जातका पाठापाठी हुर्काउँदै आम्दानी पनि बढाइरहेको छु ।’ यहाँको हावापानीमा खरी र बाबरी जातका बाख्रा उपयुक्त हुने प्राविधिकहरूको सल्लाहबमोजिम तिनको संख्या बढाइरहेको घिमिरेले जनाए । ‘आम्दानी पनि राम्रो भइरहेछ,’ उनले भने, ‘त्यसैले यिनै जातका बाख्रा बढी पालिरहेको छु ।’

आउने वैशाखमा २५ वटा बाख्रा ब्याउने अवस्थाका छन् । त्यसपछि ५० हाराहारी पाठपाठी थपिनेछन् । ‘राम्रो र स्वादिलो मासु खरीको हुन्छ,’ उनले भने, ‘यहाँ माग पनि यसैको बढी छ । त्यही भएर खरी जातका बाख्रा पनि बढाइरहेको छु ।’ बोयर, जमुनापारी र सिराई जातका बाख्रा पनि उनले पालेका छन् । भारतीय नस्लको सिरोही र जमुनापारी बोका राखेर बाख्रा प्रजनन गराइरहेको घिमिरेले सुनाए । ‘प्रजननका लागि राम्रो नस्लको स्वस्थ बोका चाहिन्छ,’ उनले भने, ‘त्यसो नभए पाठापाठी सप्रिँदैनन् । किचरा हुन्छन् ।’ बाख्रा पालनमा प्रजनन गराउने बोकामा पनि उत्तिकै ध्यान दिनुपर्ने उनको भनाइ छ ।

आफूलाई खसीबोका बेच्न बजारसम्म जानु नपर्ने उनले बताए । ‘घरै आएर ग्राहकले लैजान्छन्,’ घिमिरेले भने, ‘जिउँदो खसीबोका प्रतिकिलो साढे ५ सय र प्रजननका लागि ग्रेडिङ गरेको उन्नत जातको बोका ८ सय रुपैयाँ प्रतिकिलोमा बेच्छु ।’ बाख्रा व्यवसायबाटै आफ्नो ५ जनाको परिवार पालिरहेको उनले सुनाए । दुई छोरीलाई बोर्डिङ स्कुलमा पढाएका छन् । ‘घरखर्च चलेर पनि केही आम्दानी बचत भएको छ,’ सुनीलकी श्रीमती रुमा पौडेलले भनिन्, ‘अब छिट्टै बाख्राकै कमाइबाट घरघडेरी जोड्ने सपना छ ।’

झन्डै साढे ७ लाख रुपैयाँ खर्च गरेर घिमिरेले अहिले डेढ सय बाख्रा पाल्न मिल्ने आधुनिक खोर बनाएका छन् । सबै बाख्राको बिमा गरेका छन् । पीपीआर रोगले एक पटक १० वटा बाख्रा मर्दा निराश भएका घिमिरेले त्यसपछि त्यस रोगविरुद्ध भ्याक्सिन दिन थालेको बताए । ‘कतिखेर कुन रोग लाग्छ, पत्तै हुँदैन । श्रम–पसिना गरेर कमाएको आम्दानी सुरक्षित गर्न अहिले हरेक बाख्राको बिमा गरेको छु,’ उनले भने, ‘घर–परिवार मिलेर बाख्राको स्याहारसुसार गर्दा रमाइलै छ । दुःखअनुसारको आम्दानी मिल्दा झनै खुसी मिल्दो रहेछ ।’

प्रकाशित : चैत्र ६, २०८० ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?