२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८१

बाँकेका सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्दको घोषणा

रूपा गहतराज

नेपालगन्ज — विभिन्न मागसहित आन्दोलन गरिरहेका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूले आइतबारदेखि बाँकेका सम्पूर्ण सामुदायिक विद्यालयहरू अनिश्चितकालका लागि बन्दको घोषणा गरेका छन् ।

बाँकेका सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्दको घोषणा

विद्यालय कर्माचरी परिषद् बाँकेले पूर्वघोषित कार्यक्रम अनुसार असार ३ गते आइतबारदेखि बाँकेका सम्पूर्ण सामुदायिक विद्यालयहरु बन्द गर्न लागेको भन्दै शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई पत्र समेत बुझाइसकेको छ । परिषद्ले शिक्षा विकास तथा समन्वय इकाइ बाँके, ८ वटै स्थानीय तह, सबै सामुदायिक विद्यालय र विभिन्न पेशागत शिक्षकका संगठनलाई समेत उक्त पत्र बोधार्थ पठाएको छ ।

नेपाल विद्यालय कर्मचारी परिषद्का बाँके अध्यक्ष कृष्ण कुँवरले सरकारले विद्यालय कर्मचारीका कुरा सुनावाइ नगरेपछि बाध्य भएर विद्यालय बन्द गर्न परेको बताए । ‘विद्यालय बन्द गराउने हाम्रो रहर हैन, बाध्यता हो,’ उनले भने, ‘विद्यालय कर्मचारीका मागहरु सरकारले सुन्नै नचाहेपछि बाध्य भएर विद्यालय बन्दका कार्यक्रम राखेका हौं ।’

विगतमा पटक पटक सरकारसँग भएका सम्झौताहरू कार्यान्वयन हुनुपर्ने भन्दै माग गर्दै आइरहेका विद्यालय कर्मचारीहरू (लेखापाल र कार्यालय सहयोगी) ले हालै गरिएको आन्दोलनको आन्दोलनप्रति सरकारले बेवास्ता गर्दै माग सम्बोधनका विषयमा चासो नदेखाएपछि देशभरका सामुदायिक विद्यालयहरू बन्दको घोषणा गरेका हुन् ।

विद्यालय कर्मचारीहरूले तत्कालै पूर्ण सेवा सुविधाको ग्यारेन्टी गर्नुपर्ने, विद्यालय कर्मचारीहरूलाई दरबन्दीमा समायोजन गरी एक पटकका लागि प्रक्रिया पु¥याएर स्थायी प्रक्रियामा लगिनुपर्ने, संघीय शिक्षा ऐन जारी हुँदाका बखतसम्म अविच्छिन्न सेवामा कार्यरत विद्यालय कर्मचारीहरूलाई एक पटकका लागि उमेर हद नलाग्ने प्रबन्ध गर्नुपर्ने, लगायत विभिन्न समयमा गरिएका सहमति, सम्झौता तथा पटक पटक सर्वोच्च अदालतबाट दिइएको निर्देशन कार्यान्वयनमा ल्याउनुपर्ने लगायतका मागहरू राख्दै आएका छन् ।

तर यता कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले सामुदायिक विद्यालय बन्द गरेमा कारबाही गरिने बताएका छन् ।

नगर प्रमुख आचार्यले फेसबुक स्टाटस लेख्दै विद्यालय बन्द गरेको पाइएमा सेवा सुविधा रोक्का गर्नुको साथै गयल कट्टी गरी कारबाही समेत गरिने उल्लेख छ ।

प्रकाशित : असार ३, २०८० ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?