कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकताको १७ महिनामै फुट्यो विवेकशील साझा

संयोजक थापाद्वारा आयोगमा नयाँ दल दर्ताको निवेदन 

काठमाडौँ — एकीकरण भएको १७ महिनामै विवकशील साझा पार्टी फुटेको छ । संयोजक उज्ज्वल थापा पक्षले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा शुक्रबार निवेदन दिएसँगै उक्त पार्टी विभाजन भएको हो । संयोजक थापाले १६ केन्द्रीय सदस्यसहित आयोगमा निवेदन दिएका छन् ।

एकताको १७ महिनामै फुट्यो विवेकशील साझा

विवेकशीलका नेता पुकार बमले आफूहरु नयाँ पार्टी दर्ताको लागि कानुनी प्रक्रियामा गएको पुस्टि गरे । उनले भने, 'जति ढिलो गर्‍यो त्यतिनै हाम्रो राजनीतिक स्वच्छतामा आँच आउने हुँदा बाध्य भएर यो कदम चालेका हौं ।'

असन्तुष्ट पक्षले नेतृत्वले विधानविपरीत काम गरेको, कोटको खल्तीबाट नामहरु ल्याएर केन्द्रीय सदस्य भर्ती गरेको, अपारदर्शी एवं अलोकतान्त्रिक तरिकाले विभागहरु विघटनहरु गर्ने, परम्परागत राजनीतिक दलहरुकै अनुशरण गर्दै विभिन्न भातृ संगठन गठन गर्नेतर्फ अघि बढ्ने क्रियाकलाप गरेको आरोप लगाएका छन् ।

थापा समूहमा रन्जु न्यौपाने (दर्शना), साधना राई, सुबुना बस्नेत, अजिता राई, अनुसा थापा, मिलन पाण्डे, जीवन श्रेष्ठ, गोविन्द नारायण तिमिल्सिना, रमेश पौड्याल, शशीविक्रम कार्की, ज्ञानेन्द्र निरौला, पुकार बम, विराजभक्त श्रेष्ठ, आशुतोष तिवारी, अर्जुन सिंह ठकुरी छन् ।


यो पनि पढौं : विवेकशील साझाभित्र खटपट

विवेकशील साझा पार्टी घोषणा, मिश्र र थापा सहसंयोजक

तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच २०७४ साउन ११ गते एकीकरणको घोषणा भएको थियो । एकता घोषणा हुँदै गर्दा मिश्रले वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि आफूहरुले पार्टी एकता गराएको दाबी गरेका थिए ।

विज्ञप्तिको पूर्णपाठ-

विवेकशील साझा पार्टीका नेतृत्व, सदस्य, शुभचिन्तक एवं समस्त विवेकशील नागरिकहरुमा अपिल


मिति : २०७५/०९/२७


नेपालमा नविन तथा सुसंस्कृत राजनीतिको आवश्यता छ र सम्भावना पनि छ भन्ने विश्वासकास साथ वि.सं. २०६९ सालदेखि विवेकशील नेपाली अभियान अघि बढेको व्यहोरा यहाँहरु सबैमा विदितै छ। संबिधान सभाको दोश्रो निर्वाचन, महाविनाशकारी भुकम्प र त्यसपछीको उद्दार एवं राहत अभियान, लुटतन्त्रविरोधी सडक अभियान, डा. गोविन्द केसीसङ्गको शिक्षा र स्वास्थ्यमा राज्यको दायित्व बढाउने अभियान हुँदै तात्कालिन विवेकशील नेपाली दलले २०७४ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरको मेयर पदमा उमेद्वारी दिएर अघि बढ्योl उक्त निर्वाचनमा विवेकशील नेपाली दल र २०७३ मा खुलेको साझा पार्टीले हासिल गरेको नतिजाले वैकल्पिक पार्टीहरुलाई नेपालको राजनीतिक परिदृश्यमा अलग स्थान बनाउने सम्भावना रहेको स्पष्ट संदेश दियो। त्यसैको फलस्वरुप, समान उदेश्यको लागि भिन्दाभिन्दै दलको साटो एकै भएर जानुपर्ने निस्कर्षमा विवेकशील नेपाली दल र साझा पार्टी आइपुगे। वि.सं. २०७४ श्रावण ११ गते विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरणको सम्झौता भई विवेकशील साझा पार्टी गठन भयो। एकीकृत पार्टीले संघीय एवं प्रादेशिक निर्वाचनमा भाग लियो र उल्लेखनीय नतिजा पनि हासिल गर्यो। तर विगत १७ महिनाको दौरानमा पार्टीमा वैकल्पिक राजनीतिको बुझाइ र व्यवहारमा ठुलो भिन्नता रहेको प्रष्टै देखियोl मूल्यमान्यता आधारित राजनीति र पार्टी मात्र नभएर परिपाटी बिकास गर्ने अभियानमा यो यात्राले नतिजा दिन नसक्ने स्थिति सामुन्ने आयो। अत: अहिले कै ढंगले अघि बढ्दा निर्णय प्रक्रिया अपारदर्शी हुने, पार्टीमा सहभागितामुलक अभ्यास कमजोर हुने र सानो कोटरीले निर्णय गर्ने प्रविर्तीले प्रश्रय पाउने भयो l


यस पृष्ठभूमिमा सुसंस्कृत र सहभागितामुलक राजनीतिलाई केन्द्रबिन्दू बनाएर अघि नबढ्दा राजनीतिमा ताजा विकल्प खोजिरहेका युवा पुस्ता एवं जागरुक नागरिकको आशामा तुसारापात हुने निश्चित छ। नेतृत्वले विधान विपरित कामहरु गरिरहने, कोटको खल्तीबाट नामहरु ल्याएर केन्द्रिय सदस्य भर्ति गर्न खोज्ने, अपारदर्शी एवं अलोकतान्त्रिक तरिकाले विभागहरु बिघटनहरु गर्ने, परम्परागत राजनीतिक दलहरुकै अनुशरण गर्दै बिभिन्न भातृ संगठन गठन गर्ने तर्फ अघि बढ्ने जस्ता क्रियाकलापले समयकालमा ह्रास हुदैँ गएको हाम्रो आशा पनि पुरै निराशामा बदलिएको अवस्था अहिले हो। अत: यो जटिल परिवेशमा हाम्रै कालमा सुसंस्कृत राजनीतिका माध्यमबाट समतामुलक संवृद्धि हासिल गर्ने उदेश्यमा विचलित नभई अघि बढ्न अहिले अपरिहार्य भएकाले हामी विवेकशील साझा पार्टीका देहाय अनुसारका १६ जना केन्द्रीय समितिका सदस्यहरु आज २०७५/०९/२७ मा निर्वाचन आयोगमा गई बैधानिक तवरले नयाँ दल गठनको कानुनी प्रक्रिया शुरु गर्नको लागि निवेदन दिएका छौं।


सुसंस्कृत राजनीतिलाई संस्थागत गर्न हामी अझै डटेर लाग्ने प्रतिवद्दता व्यक्त गर्दछौं र सो कार्यमा विवेकशील साझा पार्टीका नेता एवं सदस्यहरु, शुभचिन्तकहरु एवं आम सचेत नागरिकहरुलाई आम-नागरिकहरुबाट साथ र सहयोगको अपेक्षा गर्दछौं।


मुल्यमान्यतामा अडिग रही जन अपेक्षाको संवोधन गर्ने सवालमा ईच्छुक सबै पक्षसँग विगतमा झैँ भविष्यमा पनि संवाद एवं सहकार्य गर्न हामी सधैँ खुला रहनेछौँ। साथै डा केसीले भरखर आम नेपालीको स्वास्थ्य र शिक्षाको लागि गर्नु भएको सत्याग्रहमा हामीले एकबद्ध जनाउदैँ यस अभियानमा शसक्त तरिकाले लाग्ने प्रतिवद्धता जनाउनेछौँ। नागरिकको सेवामा सहकार्यको उदाहरण तपाईँ-हामी यहिँबाटै शुरु गरौँ।


धन्यवाद।

नमस्ते।

नेपालको जय होस् !

प्रकाशित : पुस २७, २०७५ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?