कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मर्यादाक्रम तत्काल सच्याऊ : लोकसेवा

काठमाडौँ — लोकसेवा आयोगले सरकारद्वारा हालै जारी नयाँ मर्यादाक्रमले संवैधानिक निकायहरूको अपमान गरेको भन्दै आपत्ति जनाएको छ ।

मर्यादाक्रम तत्काल सच्याऊ : लोकसेवा

आयोगले बिहीबार विज्ञप्ति जारी गरी विशिष्ट श्रेणीका मुख्यसचिव र प्रधानसेनापतिभन्दा संवैधानिक पदाधिकारीको मर्यादाक्रम दुई तह तल राखिएकामा असन्तुष्टि व्यक्त गर्दै मर्यादाक्रम पहिलाकै जस्तो बनाउन आयोगले सरकारलाई आग्रह गरेको छ ।


‘सरकारले हालै जारी गरेको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रका महानुभावको नयाँ मर्यादाक्रमप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ, खासगरी संवैधानिक पदाधिकारीको मर्यादाक्रम निकै तल राखिँदा संवैधानिक निकायहरूको संस्थागत मर्यादामै ह्रास भएको छ’, आयोगको विज्ञप्तिमा छ ।


आयोगले विज्ञप्तिमा मर्यादाक्रम निर्धारण गर्दा परम्परा, प्रचलित कानुन, पदको भूमिका र गरिमालाई आधार मान्नुपर्नेमा मापदण्डबिना कसैलाई माथिल्लो क्रममा राख्ने अभिष्टले निर्णय भएको उल्लेख गरेको छ । नयाँ मर्यादाक्रमका कारण निजामती सेवा ऐन २०४९ र नेपाल स्वास्थ्य सेवा ऐन २०५३ मा व्यवस्था गरिएको बढुवा समितिका बैठकमा आयोगका सदस्यले भाग लिनसमेत असहज स्थिति सिर्जना भएको आयोगले जनाएको छ ।


बढुवा समितिहरूमा लोकसेवा आयोगका सदस्यले अध्यक्षता गर्ने र मुख्यसचिव सदस्य रहने व्यवस्था छ । यो कानुनी प्रावधानको प्रतिकूल हुने गरी मर्यादाक्रम निर्धारण गरिएकामा आयोगले विशेष आपत्ति जनाएको हो ।


मुख्यसचिव माथिल्लो मर्यादाक्रममा भएपछि त्यस्ता समितिको बैठकमा लोकसेवाका सदस्यले अध्यक्षता गर्न असहज हुने भएको छ । किनकि लोकसेवाका सदस्यभन्दा मुख्यसचिवको मर्यादाक्रम माथि छ । आयोगले संवैधानिक निकायका प्रमुखको लगत्तै सदस्यहरुको मर्यादाक्रम राख्न सरकारलाई सुझाएको छ ।

यो पनि पढौं : प्रजिअभन्दा गाउँपालिका अध्यक्ष मर्यादामा अगाडि

प्रकाशित : माघ ३, २०७५ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?